काँकरभिट्टा, १ फागुन । सरस्वती पूजा सकेर स्कूलबाट घर फर्कदै गर्दा आज झापाको काँकडभिट्टामा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर–११ का १० बर्षीय सन्तोष शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
शिवाकोटी मेचीनगर–११ मै रहेको लोफोफोरस बोर्डिङ स्कूलमा कक्षा ३ मा अध्ययनरत् थिए ।
स्कूलमा भएको सरस्वती पूजा सकेर घर फर्कदै गर्दा काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको ना५ख १८९१ नम्बरको यात्रुवाहक बसले काँकडभिट्टास्थित पूर्व पश्चिम राजमार्ग मै ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।