दुर्घटना न्यूनीकरण गर्न महाअभियान

  प्रकाशित मिति
२ आश्विन २०७३, आईतवार १४:२६


14355120_335980230072107_1955393735328118457_n

बिर्तामोड, २ असोज । पहिलोपटक झापाका नागरिक अगुवाहरुले आइतबार सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गरेका छन् ।
महाअभियान अन्तर्गत असोज २ गतेलाई यसै बर्षबाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन थालिएको छ । पछिल्लो समय सवारी दुर्घटना र त्यसका कारण हुने मानिसको मृत्युदर अप्रत्याशित रुपमा बढेपछि नागरिक अगुवाहरु असोज २ लाई देशव्यापी रुपमा दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउने लक्ष्यका साथ महाअभियानमा जुटेका हुन् ।

महाअभियान मूल आयोजक समितिका संयोजक गोपालकुमार बस्नेतको अध्यक्षतामा बिर्तामोडको पश्चिम बिसौनीमा भएको मूल समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महाअभियान अन्तर्गत दुर्घटनारहीत राष्ट्रिय दिवसको शुभारम्भ गरे । उनले यात्रु वसका चालकलाई खादा र अविर पहि¥याएर सम्मान गर्दै ‘आजसम्म राम्रोसँग सवारी चलाएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रोसँग सवाारी चलाउन आग्रह’ सहित हौसला प्रदान गरे । प्रमुख अतिथि रहेका प्रजिअ भुजेलले नागरिकको तहबाट पहिलोपटक फरक ढंगको उक्त महाअभियानको प्रशंसा गर्दै यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।

महाअभियानका संयोजक बस्नेतले सवारीसाधनका चालकलाई जिम्मेवार बनाउँदै अझ राम्रोसँग सवारी साधन चलाउनका लागि महाअभियान अन्तर्गत प्रेरित गरिएको बताए ।

सबै चालक, यातायात मजदुर र व्यवसायीले विश्वकर्मा बाबालाई आस्थाको केन्द्र मान्ने भएकोले असोज १ गते विश्वकर्मा बाबाको पूजाको भोलिपल्टै २ गतेको दिनलाई दुर्घटनारहीत राष्ट्रिय दिवसको रुपमा मनाइएको समितिका सह–संयोजक मदन गोपाला सुब्बाले बताए । ‘विश्वकर्मा बाबाको आस्थासँग चालकहरुलाई नजिक गराएर यस्तो अभियान चलाउँदा अझ प्रभावकारी हुने हाम्रो ठहर छ’– सह–संयोजक सुब्बाले भने ।

चालकहरुलाई अहिलेसम्म राम्रोसँग सवारी साधन चलाएकोमा धन्यवाद र प्रशंसासहित आगामी दिनमा अझ होशियारी अपनाउन र अरुलाई पनि होशियारी साथ सवारी साधन चलाउनका लागि प्रेरित गराउनु अभियानको मूल लक्ष्य रहेको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष समेत रहेका महाअभियानका सह–संयोजक सुब्बाको भनाइ छ ।
महाअभियान अन्तर्गत ५ सय सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहि¥यार सम्मान गर्दै अझ जिम्मेवार बन्न आग्रह गरिएको, सवारीसाधनमा चेतनामूलक स्टीकर टाँसिएको र पर्चा वितरण गरिएको महाअभियानका महासचिव एकराज गिरीले जानकारी दिए ।

महाअभियान उद्घाटन समारोहमा उपस्थित मेचीका प्रहरी प्रमुख एसएसपी केदार रिजाल, झापाका प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार श्रीप्रसाद मैनाली, मेचीका अध्यक्ष राजेन्द्र रिजाल, बिर्तामोडका डीएसपी खड्गबहादुर खत्री, झापाका ट्राफिक प्रहरी प्रमुख डुण्डीराज गिरी, लोकबन्धु कन्दङ्वा, टंक कटुवाल लगायतले सामाजिक संघ–संस्था र नागरिक अगुवाको पहलमा भएको अभियान अनुकरणीय भएको बताए ।

नेपालमा प्रत्येक बर्ष २ हजार बढी र प्रत्येक दिन ५ जनाको मृत्युको कारण सडक दुर्घटना देखिएको छ । नेपालमा हरेक दिन दुर्घटनाकै कारण ३३ जना मानिस घाइते हुने गरेको तथ्यांक छ । झापाकै सन्दर्भमा मात्र एक बर्षमा ७० जना भन्दा बढी मानिसको मृत्यु र दुई सय १५ भन्दा बढी सडक दुर्घटनाकै कारण घाइते हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: