दुर्घटना बढेपछि टाइम कार्ड लागू गर्ने तयारी

  प्रकाशित मिति
४ पुष २०७६, शुक्रबार १२:१५


अर्जुन कार्की

झापा । झापाको पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको गति नियन्त्रणका लागि टाइम कार्ड लागु गर्ने तयारी भएको छ ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधानको चापले अत्यधिक गतिका कारण जिल्लामा दिनहुँ दुर्घटना बढ्दै गएपछि दुर्घटना न्युनीकरणका लागि टाइम कार्ड लागु गर्ने भएको हो ।

सार्वजनिक सानाठुला बसका चालकहरुले बढी यात्रु ओसार्ने निहुँमा आपसी प्रतिष्पर्धा र अत्यधिक गतिका कारण जिल्लाका विभिन्न स्थानमा दुर्घटना बढ्दै गएपछि सार्वजनिक यातायातमा टाइम कार्डको व्यवस्था गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाका विभिन्न सडक तथा राजमार्गहरुमा दैनिक रुपमा सवारी साधनको भीड बढ्न थालेको छ । साँघुरो सडकमा बसहरुको सङ्ख्या दिनदिनै थपिँदैछ । विभिन्न कम्पनीको नाममा निस्किएका राता, हरिया बसहरुले सडकका पैदल यात्री, मोटरसाइकल, कारजिप, सिटी रिक्सा, साइकललाई सोरपटार गरेर लान थालेको छ ।

छिटो पुग्ने, यात्रु धेरै उठाउने प्रतिष्पर्धामा राता, हरिया गाडीहरुले पूर्वपश्चिम राजमार्गलाई मृत्यु मार्गमा परिणत गर्न थालेका छन् । ‘बसहरुमा प्रतिष्पर्धा अत्यधिक बढ्न थाल्यो,’ झापा जिल्ला सितोरियो कराते सङ्घका अध्यक्ष मिलनराज प्रसाईले भने, ‘मानिसभन्दा गाडी बढी हुन थालेको छ । साँघुरो सडक, गाडीको चाप, सानातिना गाडीलाई उछिनेर जानुपर्ने कारण यी अहिले निस्केका राता, हरिया बस तथा टिपरहरुलाई टाइम कार्डको व्यवस्था नगरेसम्म दुर्घटना राकिनेवाला छैन ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्ता बस तथा टिपरहरुलाई टाइम कार्डको चाँडो व्यवस्था गर्नुपर्ने अध्यक्ष प्रसाईको भनाई छ ।

राजमार्ग क्षेत्रमा दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले प्रहरीको सक्रियतामा सुरुङ्गादेखि केरखा सडक खण्डसम्म बसलाई टाइम कार्ड लागु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले जानकारी दिए । सुरुङ्गादेखि केरखा सडक खण्डसम्म बसले समयमा पुग्ने गरी टाइम कार्डको व्यवस्था गरिने भएको हो ।

सुरुङ्गाबाट टाइम कार्ड लिएका बसहरुले केरखा प्रहरी चौकीमा पुगेको समय टाइम लेखाउनु पर्नेछ । यही तोकिएको समयभन्दा छिटो नै बस पुगेमा नियम अनुसारको कारवाहीमा पर्ने छन् । उनका अनुसार टाइम कार्डले तीव्र गतिलाई रोक्ने, दुर्घटनामा कमी ल्याउने, यात्रुहरुलाई सडकमा सहज रुपमा यात्रा गर्न सजिलो बनाउने, अस्वस्थ प्रतिष्पर्धा हटाउने, बस व्यवसायलाई मर्यादित र व्यस्थित बनाउने योजना छ ।

‘उचित स्थान नभएकोले निकट भविष्यमा सुरुङ्गादेखि केरखा सडक खण्डसम्म टाइम कार्ड लागु गर्ने योजना छ,’ ट्राफिक प्रहरी निरीक्षक अधिकारीले भने, ‘मेनपावर बढी चाहिने भएकाले स्थानीय सरकारसँगको सहकार्यमा चाँडै टाइम कार्ड लागु गरिनेछ ।’

उनका अनुसार नियम कानुन त सबैले मान्नै पर्छ, यो राजमार्गमा सवारी कुदाउने चालकहरुको हेल्चेक्र्याइँ बढी नै छ । तर, यात्रुहरुले पनि बस कुन तरिकाले कुदाइरहेको विचार गर्नुपर्छ । यदि चालकले यात्रु ओसार्ने थोरै लोभले मानिसको ज्यान जानसक्छ । त्यसैले यात्रुले चालक, सहचालकहरुलाई बेलैमा सचेत गराउने दायित्व पनि नागरिकको पनि हो ।

नियम–कानुनले समाजलाई अनुशासनमा बाँधेर राख्छ । कुनै पनि समाज कति सभ्य छ भन्ने कुरा त्यो समाजले कानुनको पालना कति गरेको छ भन्ने कुराले पनि निर्धारण गर्दछ । झापामा अधिकांश यातायात व्यवसायी तथा चालकले बरु जरिवाना तिर्छन् । तर, सडक अनुशासन कायम गर्न पुरै बेवास्ता गरेको देखिन्छ ।

नियम उलङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले ५ सयदेखि २ हजार जरिवाना तिराउँदै आएको छ । अझ अहिलेको कानुनले सवारी नियम उल्लङ्घन गरे ५ हजार रुपैयाँसम्म प्रकृति हेरेर कारवाही गर्न सक्छ । कारवाहीको यो सङ्ख्या हेर्दा जरिवाना तिर्ने तर नियम पालना नगर्ने प्रवृत्ति हावी भएको छ ।

हेल्मेट नलगाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, हुटमा यात्रु चढाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, रोक्ने, लाइसेन्स र ब्लुबुक नबोक्ने चालकमाथि कारवाही गर्दा ट्राफिक प्रहरीलाई राजस्व उठाउने निकायको सूचीमा आउन थालेको आरोप पनि लाग्ने गरेको छ । ट्राफिक प्रहरीको ध्यान राजस्व उठाउनु भन्दा दुर्घटना न्युनीकरणमा जोड दिनुपर्छ ।

काँकरभिट्टामा मुख्य कार्यालय रहेको पूर्वी मेची बस व्यवसायी प्रालिमा १ हजार एकसय बसहरु दर्ता छन् । काँकरभिट्टादेखि लामा तथा छोटा दुरीका बसहरु पश्चिमका विभिन्न भागमा पुग्ने गर्छन् । प्रालिका दुर्घटना फाँटका अनुसार गतवर्ष २ सय ५८ वटा बसहरु विभिन्न स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो । यसवर्ष साउनदेखि यो पाँच महिनामा ३४ वटा बसहरु दुर्घटनामा ४ जनाको ज्यान गएको दुर्घटना फाँटले जनाएको छ ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्या झापाका अनुसार गत आर्थिक वर्ष अर्थात २०७५÷७६ मा झापामा भएका सवारी दुर्घटनामा ८५ जनाको ज्यान गएको छ । जिल्लामा भएका २ सय ३९ सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउने मध्ये पुरुष ७३, महिला ९ र ३ जना बालबालिका छन् । ती घटनामा २ सय ४ जना गम्भीर घाइते भएका छन् ।

यसवर्ष अर्थात २०७६÷०७७ को साउनदेखि मङ्सिर महिनामा ९३ जना दुर्घटनामा परेका छन् । जसमा २९ जनाको ज्यान गएको कार्यालयले जनाएको छ । जसमा २० पुुरुष, ७ जना महिला र २ जना बालबालिका छन् । जिल्लामा भएका १ सय ११ सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: