मेचीनगर । नेपालसँगको व्यापारमा सम्भाव्यता पहिल्याउन बङ्गलादेशको एउटा व्यापारिक प्रतिनिधिमण्डलले पूर्वी नाका मेचीनगरको भ्रमण गरेको छ ।
२०५४ सालमा काँकरभिट्टा–फुलवारी–बङ्गलाबन्ध नाका खुला गरिए पनि यति लामो अवधिसम्म नेपाल र बङ्गलादेशले यसबाट सन्तोषजनक व्यापार सञ्चालन गर्न सकेका छैनन् ।
दुई देशका विचमा किन व्यापार बढ्न सकेन र यस पारवहन मार्गको सञ्चालनमा के कस्ता अवरोध छन् भन्ने विषयमा बङ्गलादेशी टोलीले नेपाली सरोकारवालाहरूसँग गम्भीर छलफल गरेको छ ।
बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व एक्सपोर्ट–इम्पोर्ट एसोसिएसन अफ पञ्चगढका अध्यक्ष मेहदी हुसेन खानले गरेका थिए ।
शनिवार साँझ धुलावारी आइपुगेको टोलीले आइतवार विहान मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा बङ्गलादेशसँगको व्यापारमा सरोकार राख्ने सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष पङ्कज नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख भीम अधिकारी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख यादवप्रसाद शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, नेपाल बङ्गलादेश चेम्वर अफ ट्रेडर्स समितिका संस्थापक अध्यक्ष पन्नालाल जैन, झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल अलैँची व्यवसायी महासङ्घका सचिव इन्द्र विन्दल, नेपाल कुचो व्यवसायी सङ्घका कृष्ण कनालले नेपाल र बङ्गलादेशविचको व्यापारका सम्भावना र चुनौतीका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
वक्ताहरूले भारतीय अवरोध र झन्झटका कारण यो पारवहन मार्ग गतिशील बन्न नसकेको गुनासो गरेका थिए । उनीहरूले नेपालबाट कृषि, जडिबुटी र खनिजजन्य उत्पादनलाई बङ्गलादेशमा निर्यात गर्न सकिने सम्भावना औल्याएका थिए ।
हाल बङ्गलादेशसँगको व्यापारमा नेपालले निर्यातको तुलनामा आयात धेरै गरिरहेको छ । नेपाली सरोकारवालाले निर्यात बढ्न नसकेकोमा पनि चिन्ता प्रकट गरेका छन् ।
आर्थिक वर्ष २०७२÷७३ मा बङ्लादेशबाट ३ अर्ब ५० करोड ६३ लाख ७७ हजार १ सय ८२ रुपैयाँको सामान आयात गरेको छ भने १ अर्ब २६ करोड २७ लाख ४६ हजार ५८ रुपैयाँको मात्र सामान निर्यात गरेको छ । यस अघिका वर्षमा पनि नेपालले लगातार घाटाको व्यापार गर्दै आएको छ ।
मेची उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले स्वागत मन्तब्यसहित व्यापार अभिवृद्धिको अवधारणा राखेका थिए ।
पाहुना टोलीलाई नेपाली टोपी र अविर लगाएर सो अवसरमा सम्मान गरिएको थियो ।
बङ्गलादेशी टोलीलाई आइतवारै नेपाल बङ्गलादेश चेम्वर अफ टे«डर्स समितिले रामघाट भवनमा एक कार्यक्रमविच भव्य स्वागत गर्यो ।
समितिका महासचिव प्रह्लादमणि ओलीको सभापतित्वमा भएको सो कार्यक्रममा समितिका संस्थापक अध्यक्ष पन्नालाल जैन र प्रमुख अतिति बङ्गलादेशी टोलीका प्रमुख मेहदी हुसेन खानले मन्तब्य प्रस्तुत गरेका थिए ।
पाहुना टोलीलाई सयपत्रीका माला पहिर्याएर सो अवसरमा सम्मान गरिएको थियो ।