मेचीनगर, २९ जेठ । दुवै मिर्गौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन–चारआली फुटबल क्लबले शनिबार नगद सहयोग हस्तान्तरण गरेको हो ।
लिम्बूको घरनजिकै रहेको भद्रपुर–१ स्थित हिमाली माविको खेलमैदानमा क्लबले नगद एक लाख २५ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष आशिष बनले जानकारी दिए ।
क्लबको संयोजनमा खेलप्रेमी तथा भेट्रान्स फुटबल खेलाडीबाट संकलन गरिएको सो रकम लिम्बूकी पत्नी माली लिम्बू र भाइ यामकुमार लिम्बूलाई हस्तान्तरण गरिएको थियो । लिम्बूको हाल काठमाडौँस्थित किष्ट अस्पतालमा उपचार भइरहेको उनकी पत्नी मालीले बताइन् ।
क्लबले खेलाडी तथा पूर्व खेलाडीहरुलाई सामाजिक तथा आर्थिक सहयोग गर्दै आएको छ । लिम्बूको जीवनरक्षाका लागि यामकुमारको संयोजकत्वमा सहयोग समिति निर्माण गरिएको छ । स्थानीय केके एफसी युनाइटेड क्लब आर्थिक सहयोग संकलनमा जुटिरहेको छ ।