सिङ्गै गाविस छिचोल्दै पीच सडक

  प्रकाशित मिति
२९ श्रावण २०७३, शनिबार ०९:०६


duha 1झापा । वर्षौदेखि विकासको दृष्टिले उपेक्षित अवस्थामा रहेका दुहागढीबासी आफ्नो गाउँलाई जोड्ने मूल सडकमा फराकिलो कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।

उत्तरतिर पूर्वपश्चिम राजमार्ग र दक्षिणमा सदरमुकामले छोए पनि दुहागढी गाउँ विकास समिति जिल्लाको अविकसित क्षेत्रकै रुपमा चिनिन्थ्यो । तर सरकारले राजमार्गको धाइजनमोडदेखि दुहागढी गाविस र श्रीकृष्ण प्रणामी मन्दिर हुँदै भद्रपुर जोड्ने मूल सडकमा बहुवर्षीय परियोजना अन्तर्गत फराकिलो कालोपत्रे निर्माण थालेको छ ।

सरकारले १३ किलोमिटरको यस सडकलाई कालोपत्रे गर्न दुई फरक प्रक्रियाबाट करीव १२ करोड बजेट विनियोजन गरेको छ । सम्भवतः दुहागढीमा विकास परियोजनाका लागि राज्यले छुट्याएको यो सर्वाधिक बजेट हो ।

sudhir
सांसद् सुधीरकुमार शिवाकोटी

पहिलो प्रक्रिया अन्तर्गत झापा क्षेत्र नं. २ का निर्वाचित सांसद् सुधीरकुमार शिवाकोटीको छनौटमा ५ करोड रुपैयाँको सडक कालोपत्रे कार्य सुरु भइसकेको छ ।

काम सुरु भइसकेको यस परियोजनामार्फत धाइजनमोडदेखि दुहागढीको वडा नं. ८ सम्म सडक कालोपत्रे बन्ने गरी ठेक्का लागिसकेको छ ।
बहुवर्षीय परियोजना भएकाले आगामी आर्थिक वर्षमा समेत गरी बढीमा ५ करोड रुपैयाँ यसै प्रक्रियाबाट सडकमा सरकारले खर्च गर्ने निश्चित छ ।

दोस्रो प्रक्रिया भनेको पूर्वप्रधानमन्त्री केपी ओलीको चासो र निर्देशनमा सरकारले राष्ट्रिय योजना अन्तर्गत सोही ‘धाइजनमोड दुहागढी गाविस भवन कृष्ण प्रणामी मन्दिर पुहातुबाडी भद्रपुर’ शिर्षकमा ७ करोड ३४ लाखको परियोजना स्वीकृत गरेको छ ।

सडकको कालोपत्रे गर्ने उद्देश्यका साथ स्वीकृत भएको यस परियोजना समेत बहुवर्षे ठेक्कामार्फत निर्माण गरिने भएको छ ।
भद्रपुर–१२ निवासी शान्तिप्रसाद सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको पहुँच र सम्पर्कका कारण विशेष पहल गरेर ७ करोड ३४ लाख रुपैयाँको थप बजेट सो सडकमा स्वीकृत गराएका हुन् ।

सापकोटा जनान्दोलन २०६२÷०६३ को सहिद तथा घाइते अपाङ्ग सरोकार समितिका केन्द्रीय अध्यक्ष, श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुर–१२ का अध्यक्ष र मदन आश्रित वाचनालय भद्रपुरका अध्यक्ष हुन् ।

shanti
शान्तिप्रसाद सापकोटा

दमकस्थित डिभिजन सडक कार्यालयका डीई राजेन्द्र साहले ‘धाइजनमोड दुहागढी गाविस भवन कृष्ण प्रणामी मन्दिर पुहातुबाडी भद्रपुर’का लागि सांसद सुधीरकुमार शिवाकोटी र प्रधानमन्त्री कार्यालयमार्फत भएको पहलमा दुई फरक च्यानलबाट परियोजना स्वीकृत भएको जानकारी दिएका छन् ।

‘सडक एउटै हो, तर बहुवर्षे ठेक्काबाट निर्माण हुने गरी ७ करोड ३४ लाख लागतको थप परियोजना पनि स्वीकृत भएर आएको छ’, सडक डिभिजनका डीई साहले लोकतन्त्र पोस्टसँग भने–‘एउटै सडक भएकाले बजेट ओभरल्यापिङ हुन दिदैनौँ ।’
सांसद शिवाकोटीको छनौटबाट आएको बजेटको काम सकिए पछि थप बजेटको काम सुरु हुने साहले बताए । सो सडकको कालोपत्रे कार्य सडक विभाग आफैले गर्ने छ ।

चुनावका बेला मतदाताको घरदैलो हिँड्दा स्थानीयबासीले धेरै आग्रह गरेका कारण आफुले विशेष विकास परियोजनाका लागि ‘धाइजनमोड दुहागढी गाविस भवन कृष्ण प्रणामी मन्दिर पुहातुबाडी भद्रपुर’ सडक नै रोजेको झापा क्षेत्र नं. २ का सांसद् सुधीर शिवाकोटी बताउँछन् ।

आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा सरकारले ‘वर्षभरि यातायातको सुविधा अभाव भएका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक सडक वहुवर्षीय ठेक्का कार्यान्वयन गर्ने गरी निर्माण गरिने’ भन्ने घोषणा गरे पछि मुलुकका २ सय ४० वटै निर्वाचन क्षेत्रका निर्वाचित सांसदको छनौटमा ५ करोडसम्मका ग्रामीण सडक कालोपत्रे गर्ने परियोजना लागू भएका हुन् ।

हाल निर्माणाधीन सो सडकको आफुले नियमित अनुगमन गर्दै आएको र त्यसबाट स्थानीय विकासमा ठूलो योगदान पुगेकोमा आफु सन्तुष्ट रहेको सांसद् शिवाकोटीले बताए ।

सांसद्मार्फत छुट्टिएको बजेटले सो सडकको कालोपत्रेलाई भद्रपुरसम्म जोड्न बजेट अपुग हुने भएकाले आफुले व्यक्तिगत रुपमै तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराएर थप बजेट पार्न सफल भएको विकासप्रेमी शान्ति सापकोटा बताउँछन् ।

प्रधानमन्त्रीको तोक आदेशमा परियोजना स्वीकृत गराए पनि बजेटको व्यवस्था मिलाउन विभिन्न मन्त्रालय, विभाग र फाँटमा महिनौँसम्म धाउनु परेको जनाउँदै सापकोटाले आफु कुनै ठूलो पदमा नरहे पनि स्वेच्छाले स्थानीय विकासका लागि समर्पित भएको बताए ।

स्थानीय विकास निर्माणमा सरोकार राख्दै आएका सापकोटाले श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरको सामुदायिक भवन, झापा कारागार छेउमा निर्माणाधीन मदन आश्रित स्मृति वाचनालय भवन, तत्कालीन चन्द्रगढी–९ मा लक्ष्मीचोकबाट मेथीबारी अस्मिता चिया बगान हुँदै ज्यामिरगढीसम्मको सडक कालोपत्रे, नौतमधाम कागेश्वरी पर्यटकीय क्षेत्र विकास लगायतका दर्जनौँ परियोजनामा राज्यबाट बजेट स्वीकृत गराउन सफल पहलकदमी गरिसकेका छन् ।

(२०७३ साउन २९ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: