भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोइरालाले १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीको नेतृत्व परिवर्तन हुने बताए ।
प्रेस यूनियन झापा शाखाले सोमबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताए ।
पार्टीका पूर्व जिल्ला सदस्य हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरीकोमा समवेदना व्यक्त गर्न झापा आएका महामन्त्री कोइरालाले पत्रकार भेटघाटमा भने, ‘नेपाली कांग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन । हाम्रो हार भनेको हामी बीचकै तिक्ता र फुटका कारणले भएको हो ।’
उनले पार्टी नेता शेरबहादुर देउवाले गुटलाई समातेर पार्टीको. सभापति भएको आरोप लगाए । गुटभन्दा माथि उठेर सबैलाई समेटर लैजान सक्ने क्षमता पार्टी सभापतिमा नभएको टिप्पणी गरे ।
उनले राष्ट्र र पार्टीका लागि देउवतासँग नयाँ सपना नभएको बताउँदै १४ औ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेताहरुसँग छलफल भइरहेको बताए ।
महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली कांग्रेसका लाखौं सफल कार्यकर्ता भएको र उनीहरुलाई सही ढंगले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएको बताए ।
उनले नेपाली कांग्रेस आन्तरिक समस्यामा भएको कारणले दुई तिहाईको सरकारले गरेको संविधान विरोधी कार्य र भ्रष्टचारको बारेमा दहे प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए । ‘वर्तमान सरकारले नौलो काम केही सकेन’, उनले भने, ‘विकासको ठूलो छल्याङ मार्नुपथ्र्यो सरकारले तर पानी जहाज र रेलका कुरा गरेर सपना मात्र बाँडिरहेको छ ।’
कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको र मुलकलाई कम्यूनिजम बनाउन लागेको आरोप लगाए ।