खानेपानी योजनाले ल्यायो खुसी

  प्रकाशित मिति
११ आश्विन २०७३, मंगलवार ११:५२


tenki
चारआली । झापा दुवागढी–४ का मोहन अधिकारीे घरै अगाडिबाट खानेपानीको पाइप लाइन विस्तार भएपछि शुद्ध पानी खान पाइन्छ भन्ने कुरामा ढुक्क छन् । कलबाट तानेको आइरनसहितको पानी खाँदै आएका उनलाई अबको केही महिनाभित्रमा शुद्ध पानी पिउन पाउने आशामा आफै पनि यसको विस्तार गर्नका लागि अगुवाइ गरिरहेका छन् ।

यसो त धाइजन–६ की कमला विष्टको पनि खुसीको सीमा मोहनको भन्दा कम छैन । उनले पनि ढिलै गरेर भए पनि शुद्ध पानीको व्यवस्था हुन लागेकोमा ढुक्क छिन् । ‘अब त पानी खान पाइन्छ भन्नेमा ढुक्क छु’ विष्टले भनिन्, ‘खानेपानी संस्थाको स्थापना भएको ८ वर्षपछि घर अगाडि पाइपलाइन विस्तार हुन थालेपछि घरमा धारा आउने भएपछि खुसी छु ।’

चारआली साना तथा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ८ वर्षपछि घर–घरमा पाइपलाइन विस्तार गर्न थालेपछि मोहन र कमला मात्र होइन, दुवागढी र धाइजनका २५ सय ६५ घरधुरीको खुसी उतित्कै बढेको छ ।

नेपाल सरकारको १४ करोड र उपभोक्ताको ५ करोड ५१ लाख गरी २० करोड ५१ लाखको लागतमा निर्माण भइरहेको खानेपानी संस्थाले आफ्नो कामलाई तिव्रताका साथ अघि बढाएपछि आम उपभोक्ता यतिबेला उत्साहित भएका छन् ।
सन् २०१५ जुन ८ तारिखका दिन नेपाल सरकारसँग सम्झौता भएर १८ महिनाको अवधिमा काम सक्ने जिम्मा लिएको तान्जिङ कनकाई जेभी काठमाडौँले समयसीमाभित्र काम सम्पन्न गर्न नसके पनि यही गतिमा काम गर्ने हो भने अबको १० महिनमा सबै घरमा धारा जडान गर्न सकिने संस्थाका अध्यक्ष लालबहादुर थेवेले बताए । ‘अबको १० महिनाभित्रमा पानी खुवाउँछौँ,’ अध्यक्ष थेवेले लोकतन्त्र पोष्टसँग भने, ‘भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन तथा विभिन्न बन्द हड्तालका कारण सामान ल्याउन नसक्दा समयमा काम गर्न नसकिए पनि अहिले सबै सामानहरू उपलब्ध भएर धमाधम काम भइरहेको छ । अहिलेसम्म ५० प्रतिसत काम सम्पन्न भइसकेको छ । अझै समयसीमा सकिन ३ महिना बाँकी छ, अरु ७ महिना थप गरेर उपभोक्ताले पानी पिउन पाउने छन् ।’

संस्थाले धाइजनको वडा नम्वर–१ देखि ६ सम्म र दुवागढीको–४, ५ र ६ नम्वर वडालाई लक्षित गरी पाइपलाइन विस्तार गरिरहेको छ । यस क्षेत्रमा ७२ किलोमिटर पाइपलाइन विस्तार गरिने थेवेले बताए । जसमध्ये अहिलेसम्म २० किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । अन्य क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । निरन्तरको वर्षका कारण पाइपलाइन विस्तारमा केही समस्या भएको उनले बताए । तथापि दसैँ अघि २५ किलोमिटर पाइप विस्तार गर्ने लक्ष्य संस्थाले लिएको छ । दुवागढी तथा धाइजन गाविसका अन्य वडाहरूमा पनि व्रmमश खानेपानी सेवा विस्तार गर्दै लैजाने योजना छ ।

संस्था २०६५ सालमा अध्यक्ष कुमार भट्टराईको नेतृत्वमा जिल्ला विकास समितिमा संस्था दर्ता भएको थियो । सो क्षेत्रमा शुद्ध खानेपानी खुवाउने उद्देश्यका साथ स्थापना भएको संस्थाले एसियाली विकास बैङ्कमार्फत् खानेपानीको बजेट पार्न निकै ठूलो कसरत गर्नु परेको थियो । जव एडीवीमार्फत् आएको बजेटलाई नेपाल सरकारले स्वीकृत ग¥यो, त्यसपछि कामलाई दु्रत गतिमा अघि बढाइएको हो । त्यसअघि २०६२÷६३ मा शरद सिवाकोटीको अध्यक्षतामा संस्थाको तदर्थ समिति निर्माण भई यहाँको सम्भाव्यताको अवलोकन तथा अध्ययन गरी डिटेल इन्जिनियरिङ डिजाइन समेत भएको थियो ।

खानेपानी योजना अन्तरगत २ वटा बोरिङ, एउटा ओभरहेड ट्याङ्की, कार्यालय भवन, सभाहल, सार्वजनिक शौचालय, जेनेरेटर हल, गार्ड हावस बनाउने सम्झौता भएको छ । जसमा धाइजन–६ मा निर्माण भएको बोरिङ १ सय ५० मिटर गहिराइको हुनेछ । जसबाट नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको पानी फिल्टर गरी त्यसलाई आवश्यक पर्ने ट्रिटमेनका साथै प्रशोधन गरेर मात्र उपभोक्ताको धारामा पठाइन्छ । ४ लाख ५० हजार पानी अट्ने क्षमता भएको ओभरहेड ट्याङ्की जसले अबको २० वर्षसम्मका उपभोक्ताको पानीको मागलाई थेग्नेछ ।

साथै, संस्थाको नाममा रहेको ८ कठ्ठा १३ धुर जग्गामा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ३ सय जना मानिस अट्ने क्षमता भएको सामुदायिक हलको समेत निर्माण गरिनेछ । उक्त सामुदायिक हलका लागि उपभोक्ताले संस्थामार्फत् खानेपानी विभाग समक्ष प्रस्ताव गरेको छ । धाइजन–६ का समाजसेवी इन्द्रबहादुर विष्टले दिएको ५ कठ्ठा र संस्थाले खरिद गरेको ३ कठ्ठा १३ धुर जग्गामा संस्थाको भवन, सामुदायिक हल, बोरिङ, जेनेरेटर अपरेटर भवन र ओभरहेड ट्याङ्की, गार्ड हावसको निर्माण भइरहेको हो । योजना अन्तरगत ४५ लाखको लागतमा चारआली चोकमा सार्वजनिक शौचालय समेत निर्माण गर्नका लागि सम्झौता भएको सचिव मधुसुधन निरौलाले बताए । उनका अनुसार शौचालय भवन, छत ढलाइको काम समेत सम्पन्न भएको छ ।

खानेपानी संस्थाले अतिविपन्न वर्गका लागि प्रतिफलमा आधारित कार्यव्रmम अन्तरगत शौचालय निर्माण गरिदिने भएको छ । जसका लागि हरेक परिवारलाई १० हजार रकम बराबरको शौचालय निर्माण गरिनेछ । संस्थाले शौचालय निर्माण गर्न नसक्ने अतिविपन्न परिवारको तथ्याङ्क सङ्कलन गरी आर्थिक अवस्था कमजोर भएको प्रमाणित भएपछि उक्त रकम दिने निर्णय गरेको छ । जसका लागि पहिलो चरणमा १ सय ४६ घरधुरीको पहिचान गरिएको कोषाध्यक्ष कृष्णप्रसाद भुजेलले बताए ।

यसो त यस खानेपानी संस्थाले नेपाल सरकारसँग नमूनाका रुपमा दिसाजन्य लेदोका लागि त्रिपक्षीय सम्झौता भएको छ । योजनाका लागि अनुमानित ७ करोड बजेट विनियोजन भएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि संस्थाले दुवागढी–८ मा २ विगाह १० कठ्ठा जग्गाको व्यवस्थापन गरेको छ । यसको सेवा क्षेत्र धाइजन, दुवागढी, वुधवारे र विर्तामोड नगरपालिका रहने छ । नेपालमै पहिलो पटक नमूनाका रुपमा रहेको यो अभियानले यस क्षेत्रको लेदो व्यवस्थापनमा ठूलो राहत मिल्ने संस्थाका अध्यक्ष थेवेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: