देवीमायालाई बैशाखमै नयाँ घर

  प्रकाशित मिति
२० चैत्र २०७५, बुधबार २२:२४


।। अर्जुन कार्की ।।

धुलाबारी । केहि दिन अघि समाजसेवी विजय डालमियाले सामाजिक सञ्जाल (फेसबुक)मा एउटा फोटो पोस्ट गरे । त्यो फोटोको मास्तिर उनले स्टाटस लेखे–‘देवीमाया मेचेको घर निर्माण धमाधम हुँदै ।’

करेन्टबाट हात गुमाएकी सहाराविहीन मेचेलाई उक्त फोटो यो पङ्तिकारले उनको डेरामै पुगेर देखाइदियो ।

मलाई हेर्दै सोधिन्–‘तपाई पहिला पनि समाचारका लागि आउनु भएको थियो होइन ?’

मैले ‘हो’ भने ।

मेरो मोवाइलमा उनका लागि बन्दै गरेको घरको फोटो थियो । उनले आफ्नो घरको फोटो नियालेर हेरिन् र मुस्कुराइन् ।

यसअघि भेट्न जाँदा प्रायः उदासिन मुद्रामा देख्ने गरेकोमा यसपटक उनलाई प्रफुल्ल देख्न पाउँदा मन हर्षित भयो ।

मैले उनलाई कहिले सर्ने नयाँ घरमा भनेर सोधे । ‘घर बन्दैछ अरे भनेर सुनेको छु’, देवीमायाले भनिन्–‘तर हेर्न जान भ्याएको छुइन । तपाइँकै मोवाइलमा अहिले हेरेपछि त्यहाँ जान मन लागेको छ ।’

संसारमा आफ्नो लागि भगवान पनि छैनन् होला भन्ने अवस्थामा पुगेकी उनलाई सामाजिक सहयोग जुटाएर घर बनाइदिने सल्लाह हुँदै गर्दाँ समेत सुरुमा उनले पत्याउन सकेकी थिइनन् । तर अब घर निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यही बैशाख १ गते उनलाई नयाँ घरमा भित्राउने तयारी भइरहेको छ ।

अचानक उनको जीवनमा आएको यो खुशीले उनी भावुक हुनु स्वाभाविक हो । मोवाइलको फोटो हेर्दै एकाएक भावुक बनेकी उनले निर्माणाधीन घर हेर्न जान नभ्याउनुको कारण बताउँदै भनिन्–‘सानो नानीलाई छोड्नै मिल्दैन । ठुलो नानीलाई विहान खाना खुवाएर स्कुल लिएर जानु पर्छ । यी दुई जनालाई हेरचाह गर्दागर्दै फुर्सद मिल्दैन ।’

समाजले ठुलो गुन लगाएको बताउने उनले घर निर्माण समितिका संयोजक विजय डालमियाले नानीहरुका लागि दुध लगायत खानेकुराहरु दिनहुँ उपलब्ध गराइहेको बताइन् ।

उनले यहाँको समाज र मिडियाले गरेको सहयोग शव्दमा बयान गर्न नसक्ने बताइन् । उनले आफुलाई घर निर्माणमा अभियान चलाउने विश्वप्रकाश शर्मा, टिकाराम मङ्ग्राती, मुक्ति पौडेल, कविता शर्मा लगायतको नामै भनेर कहिल्यै विर्सन नसक्ने बताइन् ।

‘मलाई उहाँहरुले ठुलो गुन लगाउनु भएको छ,’ उनले भनिन्–‘उहाँहरुले नै तपाईलाई हामी आगामी वैशाख १ गते नयाँ घरमा सार्छौ भन्नु भएको छ ।’
उनीहरुकै सहयोगले स्वदेश तथा विदेशबाट पनि आर्थिक सहयोगहरु जुटेको सुनेर धेरै खुशी लागेको बताइन् ।

आफै करेन्ट लागेर अपाङ्ग, त्यसमाथि पति कृष्ण घिमिरेको निधन भएको तीन दिनपछि नानी जन्माएको, ठुलो नानी डेरामै हुर्काइरहेकी मेचेलाई आर्थिक सङ्कटले च्यापेको थियो ।

२५ दिनकी सुत्केरी हुँदा मेची नगरपालिका कार्यालय इटाभट्टामा सहयोगका लागि निवेदन लिएर भौतारिरहेका बेला संयोगवश पत्रकार मुक्ति पौडेल र विमर्श उप्रेतीसँग नगरपालिका कार्यालय परिसरमा उनको भेट भएको थियो । पत्रकारसँग भेट भएको भोलिपल्ट जन–संसद् र विवेचना पत्रिकामा समाचार छापिएपछि मेचेलाई सबैले सहयोग गर्न थालेका थिए ।

त्यसपछि यहाँका नेता, समाजसेवी र सञ्चारकर्मीहरुले सहयोग गरेका थिए । मेचीनगर–१० स्थित धुलाबारीकी उनी सुकुमबासी हुन् । उनको घर थिएन । उनीसँग घर बनाउन न पैसा थियो, न त जग्गा । कमाउने पतिले यो संसारबाट विदा लिइसकेका थिए ।

मेचेले धुलाबारी कै एक व्यापारीको घरमा घरेलु कामदारका रुपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लागेर दाहिने हात गुमाएकी थिइन् ।

१० महिनादेखि धुलाबारीको सुकुमबासी टोलमा मासिक एक हजार रुपैयाँ तिरेर डेराको घरमा बस्दै आएकी उनी परिवार पाल्न गाउँले र छिमेकीबाटै सहयोग जुटाइरहेकी छन् ।

दुई सन्तानकी आमा ३२ वर्षीया उनका तीन वर्षकी छोरी सोमिया मेचे धुलाबारी कै इस्ट होराइजन स्कुल जान थालेकी छन् ।

उनका अनुसार नर्सरीमा पढ्दै गरेकी सोमियालाई विहान खान खुवाएर स्कुल पुर्याउने गरेकी छन् भने टिफिनमा स्कुलले नै नास्ता दिने गरेको बताइन् ।

छुट्टिमा फेरि छिमेकीलाई सानो नानी छाडेर ठुलीलाई लिन जाने गरेको मेचेले सुनाइन् । आफ्नो दुध नआएपछि सानो नानीलाई गाईको दुध खुवाउने गरेको बताइन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले उनको दुावस्था देखेर घर बनाउन मेचीनगर–९ स्थित कमल चोकको ७ धुर जग्गा खरिद गरिदिएका थिए ।

सोही जग्गामा आगामी वैशाख १ गते मेचेलाई घर हस्तातरण गर्ने गरी घर निर्माण कार्य तिव्र गतिमा भइरहेको छ ।

देवीमाया मेचे अभियान समिति संयोजक डालमियाले ८० प्रतिशत घर निर्माण कार्य पुरा भइसकेको बताए ।

करिव ६ देखि ७ लाखसम्म खर्च हुने गरी घर निर्माण कार्य भइरहेको उनले बताए ।

उनका अनुसार घोषणा गरेका केही शुभेच्छुकहरुले रकम दिन बाँकी रहेको छ । अभियानलाई स्वदेश तथा विदेशबाट सहयोग जुटेको छ ।

अभियान समितिका सदस्य सचिव टिकाराम मङ्ग्रातीले करिव ५ लाख रुपैयाँ समितिमा जम्मा भएको बताए ।

२०७६ बैशाख १ गते देवीमाया मेचेलाई नयाँ घरमा सारिने उनले जानकारी दिए ।

सात धुर जग्गामा बन्दै गरेको देवीमायाको घरमा कम्पाउन्ड वाल, दुई वटा कोठा, एउटा किचन छ । किचन, टोइलेट र बाथरुममा टायल्स लगाइने समितिले जनाएको छ ।

घरको छानोमा ट्रस्ट लगाउने काम भइरहेको छ । विजुली र पानीको व्यवस्थासँगै घरमा आवश्यक सामाग्रीसमेत उपलब्ध गराएर मेचे परिवारलाई घर हस्तान्तरण गरिने समितिका सदस्य शुसिल आचार्यले जानकारी दिए ।

शनिबार दिउँसो नेता विश्वप्रकाश शर्मा, संयोजक विजय डालमिया, सुनिता शर्मा, सुशिल आचार्य, नारायण गिरी लगायतले निर्माणाधिन घरको अवलोकन गरेका थिए ।

अभियान समितिमा कविता शर्मा, सङ्गीता थापा, ऋषि तिम्सिना, पुनीत वंशल, बालकृष्ण ढुङ्गाना, ज्ञानेन्द्र निरौला लगायत छन् ।
(लोकतन्त्र पोस्ट दैनिक)
………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: