झापा, १४ भदौ । मेचीनगरको त्रिफला राष्ट्रिय पुस्तकालयले देशभरकै उत्कृष्ट पुस्तकालयको सम्मान पाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानित गरिने जनाएको छ ।
मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाका अनुसार १३ औं पुस्तकालय दिवसको उपलक्ष्यमा उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।
कोभिड १९ को विषम अवस्थाका कारण परिस्थिति सहज भएपछि समारोहको आयोजना गरी सम्मान पत्र हस्तान्तरण गरिने निरौलाले बताए ।
मेचीनगर १० खयरडाँगीका पुस्तकालयप्रेमी प्रेमप्रकाश फलाहारीको पहलमा २०५३ सालमा धुलावारीमा त्रिफला पुस्तकालयको स्थापना भएको थियो ।
उनकै अध्यक्षतामा गठित सञ्चालक समितिले पुस्तकालयको नेतृत्व गर्दै आएको छ भने हाल पुस्तकालयको भब्य तीन तले सुविधायुक्त भवन छ ।
पुस्तकालयका संस्थापक फलाहारी नुन र अन्न खाँदैनन् भने खाली पैताला हिँड्छन् । सन्त चरित्रका उनकै लगातारको पहलमा पुस्तकालले प्रगति गर्दै आएको छ ।
उनले गाउँ गाउँ हिँडेर पुस्तकहरु संकलन गरे । भारत र नेपालका विभिन्न जिल्लामा उनले त्रिफलाको ख्याति पुर्याएका छन् ।