टाघनडुब्बा । राजा, नेता, पहाड, नदीनाला आदिको नामबाट विद्यालयको नाम राखिनु सामान्य भइसकेको छ । तर नेपालमा एउटा मात्र विद्यालय छ, जसको नाम जुडो खेलबाट राखिएको छ । खेलप्रेमीहरुले गौरव गर्नलायक त्यो विद्यालय झापा गाउँपालिकामा रहेको छ ।
खेलको नामबाट झापामा स्थापना भएको नेपालको एक मात्र ‘जुडो आधारभूत विद्यालय’ राज्यको आँखाबाट भने ओझेलमा परेको छ । विद्यालयले राज्यबाट पर्याप्त सहयोग पाउन सकेको छैन ।
पूर्वपश्चिम राजमार्गको कनकाई खण्डबाट २५ किलोमिटर दक्षिण झापा गाउँपालिका–२ स्थित दुर्गम गाउँमा रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ ।
जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना भएको त्यस विद्यालयमा बाल कक्षादेखि कक्षा ४ सम्म पढाई हुँदै आएको छ ।
आदिवासी जनजाति समुदायका १ सय ९ जना विद्यार्थीले अध्ययन गर्दै आएको सो विद्यालयमा हाल एक जना शिक्षकको मात्र दरबन्दी छ । विद्यार्थी धेरै भए पछि निजी स्रोतबाट एक जना शिक्षक थपिएको विद्यालयका संस्थापक खड्काले जानकारी दिए ।
आदिवासी समुदायको बाहुल्य बसोवास रहेको क्षेत्रमा रहेको सो विद्यालयमा सन्थाल समुदायका ५६ जना, जनजातिका ४० र अन्य १३ जना गरी १ सय ९ जना विद्यार्थी छन् ।
विद्यालयले ८ कठ्ठा ऐलानी जग्गा ओगटेको छ भने एक जना कर्मचारी रहेका छन् । टिनको छाप्रोमा विद्यार्थी पढाउँदै आएको सो विद्यालयमा स्थानीयबासीको श्रमदान र तत्कालीन जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा ४ कोठाका दुई वटा पक्की भवन निर्माण भएका छन् ।
कार्यालयका लागि बनाउँदै गरेको कोठा भने आर्थिक अभावमा अलपत्रै छ ।
शिक्षक अभावले गर्दा धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिदै आएको विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेशले बताए ।
कक्षा १ र २ लाई एउटा ठाउँमा र कक्षा ३ र ४ लाई अर्को एकै ठाउँमा राखेर एउटै शिक्षकले पढाउनु परेको प्रधानाध्यापक गणेशले जानकारी दिनु भयो । यस्तो बाध्यताबाट विद्यार्थीको पढाईमा असर परेको छ ।
नेपालमा खेल क्षेत्रको नामबाट स्थापना गरिएको एक मात्र विद्यालयलाई सरकारले नमूना बनाउन पहल गर्नुपर्नेमा आवश्यक शिक्षकको दरबन्दी समेत नदिँदा दुःख लागेको विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य रामबहादुर खड्का बताउँछन् ।
झापामा जुडो खेलको विस्तार त्यही गाउँबाट भएको झापा जिल्ला जुडो सङ्घका अध्यक्ष डा. पृथ्वीविक्रम राईको भनाई छ ।
उनका अनुसार विद्यालयका संस्थापक गङ्गा खड्काले झापामा पहिलोपल्ट जुडो खेल खेलेका थिए । हाल खड्का परिवारमा ३ जना जुडोका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक छन् ।
प्रअ गणेशले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापासँग थप शिक्षक दरबन्दीको लागि माग गरिए पनि सुनुवाई नभएको गुनासो गरे ।
जुडो खेलको नामबाट स्कूलको नामाकरण गर्नुका पछाडि त्यहाँ जुडो खेललाई विषय बनाएर विद्यार्थीलाई पढाउने र सिकाउने उद्देश्य भएको संस्थापक समेत रहेका नेपाल राष्ट्रिय जुडो सङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षक गङ्गा खड्का बताउँछन् ।
तर आर्थिक स्रोतको अभावमा विद्यालयमा जुडो विषय पढाउन सकिएको छैन । स्थानीय वडा नं. २ को सहयोगमा विद्यालयको मैदानमा स्थानीयसँगै विद्यार्थीलाई नियमित रुपमा जुडो सिकाउने गरिएको छ ।
झापा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेत्र खड्काले जुडो खेलको पढाईलाई अघि बढाउनका लागि पहल गर्ने बताए ।
गाउँपालिकाले यस बर्ष वडामा जुडो प्रशिक्षणका लागि भनेर १ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
झापा जिल्ला जुडो सङ्घका अध्यक्ष डा. पृथ्वीविक्रम राई यस विद्यालयमा जुडो सम्बन्धी कक्षा सञ्चालन गर्न सके मात्र विद्यालयको नामले सार्थकता पाउने बताउँछन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)