देशको नामबाट चलेको नेपाल सम्बत आज सुरु

  प्रकाशित मिति
१ मंसिर २०७७, सोमबार १०:००


झापा, १ मङ्सिर । नेपाल सम्वतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ ।
नेपाल सम्वतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय सम्वत हो ।

यस सम्वतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस सम्वतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक सम्वत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले नेपाल सम्वत मौलिक छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

नेपाल सम्वतको नयाँ वर्ष ११४१ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: