‘देश समृद्ध बनाउन लडाइँको मैदानमा छु’

  प्रकाशित मिति
४ फाल्गुन २०७६, आईतवार २०:४७


दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशीविदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् ।

झापाको दमक–चिसापानी (रवि) कालोपत्रे सडकको आइतवार शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्धत भएको बताए ।

त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र त्यो सरकारलाई सह्य नहुने उल्लेख गरे ।

आफू देश समृद्ध बनाउन लडाइँको मैदानमा भएको बताउँदै उनले भने, ‘सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।’

सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्य अनुसार पूरा हुने जिकिर गरे ।

प्रम ओलीले अहिले देशले काँचुली फेर्दै गएको र विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नु पर्ने खाँचो रहेको औँल्याए ।

देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उनले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन गएको बताए ।

देशमा सडक बालबालिका, सडकमा मागी हिँड्ने बृद्धवृद्धा मुक्त देश बनाउन काम सुरु भएकाले त्यसले साकार रुप लिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रम ओलीले सरकारी तथा सार्वजनिक सम्पति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताए ।

जग्गाविहीन सुकुम्बासीलाई सरकारले घर बनाइदिने भन्दै उनले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम सुरु भइसकेको जानकारी दिए ।

दमक–३ स्थित बेलडाँगीमा आयोजित शिलान्यास समारोहमा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अब देशले विकासको फड्को मार्दै गएकाले सरकारको लक्ष्य सुखी नेपाली, समृद्ध नेपालले सार्थकता पाउने बताए ।

शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले समेत बोलेका थिए ।

प्रम ओलीले सडक डिभिजन अन्तर्गत निर्माण भएका दुईवटा योजनाको उद्घाटन, एउटा सडक शिलान्याससहित दमक नगरपालिकाद्वारा निर्मित नमुना बस्तीको साँचो समुदायलाई हस्तान्तरण गरेका थिए ।

मन्त्रालयका सचिव कार्कीका अनुसार २०४७ सालदेखि सुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रेको काम अघि अघि बढेको छ ।

पहिलो चरणमा ६.२९ किलोमिटर कालोपत्रे गर्न २२ करोड ५९ लाख ६४ हजार ६ सय २७ लागत रहेको छ ।

त्यसको जिम्मा महालक्ष्मी र किरातेश्वर जेभीले गत २०७५ असार २९ मा सम्झौता भएको र २०७७ पुस २८ गते सम्पन्न हुने जनाइएको छ ।

यस्तै, १५.२६ किलोमिटर दोस्रो खण्ड कालोपत्रेका लागि ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागत रहेको र त्यसको जिम्मा लुम्बिनी र गडपती जेभीले पाएको छ ।

त्यस्तै ११.३० किलोमिटर तेस्रो खण्डको सडकको ५९ करोड १५ लाख ३५ हजार ८३४ रुपैयाँमा बनिने सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादबले जानकारी दिए ।

आइतबार नै प्रम ओलीले दमक नगरपालिकाद्वारा निर्माण भएको दमक–१ स्थित एकीकृत नमुना बस्तीको साँचो स्थानीय मोहन राईलाईलाई हस्तान्तरण गरेका थिए ।

सो नमुनावस्ती दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिव ४ करोड लगानीमा २३ वटा घर निर्माण भएको नगरपालिकाले जनाएको छ ।

यसअघि उनले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सडक र दमक र मोरङको मिक्लाजुङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, योजना तथा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले गर्दा नेपाली भाषी भुटानी शरणार्थीहरुले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् ।

झापाको दमकमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफुले भुटानी शरणार्थीहरु तेश्रो मुलुक पुर्नावासले शरणार्थीहरुलाई सुखी बनाएको दाबी गरे ।

तेस्रो देश पुर्नवासको पहल थाल्दा कतिपयले बिरोध गरेको स्मरण गर्दै उनले अहिले बिभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीहरुको जीवनस्तर उक्सिएको बताए ।

बिभिन्न दाताले दिएको भरमा जीवन चलाउनु पर्ने बाँध्यताबाट शरणार्थीहरुले मुक्ति पाएको भन्दै उनले जीवन स्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आफ्नो मुलुक फर्किने प्रक्रिया आफै सुरु गर्न सक्ने अवस्था आउने बताए ।

पहिला भुटानी शरणार्थी शिबिर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दे उनले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीहरुको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताए ।

तर, उनले त्यो समाधानको प्रक्रिया भने कस्तो हुनेछ भनेर खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: