दैनिक ४ लाख भारु कहाँ बाँड्नु हुन्छ ?

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार ११:०३


Rupee Notes Scattered Pile
Rupee Notes Scattered Pile

आदरणीय झापाली दाजुभाइ दिदीबहिनीहरू !

मालसामान खरिद, स्वास्थ्योपचार लगायत अनेकन बाध्यताले भारत जानुपर्दा सर्वसाधारणले सर्वसुलभ रुपमा भारतीय मुद्रा पाउन नसकिरहेको सर्वविदितै छ । पूर्वी नाका काँकरभिट्टास्थित नेपाल बैङ्क लि.ले मात्र भारु उपलब्ध गराउने गरी विदेशी मुद्राको विनिमय काउन्टर सञ्चालनमा ल्याएको छ । तर नेपाल बैङ्क लि.मा भारु र नेरु सटहीका सम्बन्धमा हुने गरेको विभिन्न चलखेलका कारण पहुँचवाला र कमिसन दिनेले मात्र भारु पाउने र सर्वसाधारणलाई रित्तै हात फर्काउने गरिएको गुनासो बारम्वार आउने गरेकै हो ।

यही चलखेलका विषयमा २०७३ साल बैशाख २१ गतेका दिन हामी स्थानीय २५÷३० जना युवाको समूहले ‘सूचनाको हक’ प्राप्त गर्नका लागि बैङ्कका निमित्त प्रमुख सुरेश श्रेष्ठ तथा बैङ्कका केही कर्मचारीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थियौँ । बैङ्कबाट झापाली दाजुभाइ दिदी बहिनीहरूले आगामी दिनमा त्यस्तो चलखेलको शिकार बन्नु नपरोस् भन्नाका लागि हामीले प्रत्यक्ष प्रश्नोत्तरको महत्वपूर्ण विवरण र सहमतिलाई निम्न आठ बुँदामा सार्वजनिक गर्ने निधो गरेका छौँ । आशा छ, बैङ्कले हामीसँग गरिएको प्रतिबद्धता पालना गर्ने छ ।

१. भारु नेरु सटही गर्दा प्रति हजारमा १ रुपैयाँ १५ पैसा लाग्नेमा बैङ्कले ५ रुपैयाँ लिने गरेको हुँदा ‘त्यसो किन गरिएको’ भन्ने हामीले प्रश्न गर्यौँ । ‘खुद्रा नभएर त्यसो गरेको’ भन्ने उत्तर आएपछि ‘बैङ्कमा खुद्रा नभए कहाँ पाइन्छ’ भन्ने प्रश्न गर्दा जवाफ पाइएन । त्यसपछि आगामी दिनमा सुधार हुने बैङ्कका तर्फबाट प्रतिबद्धता जनाइयो ।

२. पैसा सटही भएको समयमा ‘मान्छे हेरेर मात्र छानी छानी प्रवेश गराउने र केहीलाई गार्डले किन रोक्छ’ भनी सोध्दा ‘त्यस्तो गरेको छैन’ भन्ने उत्तर बैङ्कका कर्मचारीले दिए । त्यस्तो गरेको भए प्रमाण ल्याउनुहोस् भनिए पछि सहभागी मध्ये ३÷४ जनाले हामीलाई नै रोकेको हो भनेर तिथिमिति सहित घटना विवरण सुनाएपछि बैङ्कका कर्मचारी मौन भए र आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाए ।

३. १५ देखि १७ देशको विनिमय दर रेट बैङ्कको सूचना बोर्डमा टाँस गरिएको तर भारु नोटको चाहिँ दररेट किन छैन भनी सोध्दा ‘सबैलाई थाहा छ, त्यही भएर हो’ भनिएपछि सहभागी हामीले ‘थाहा छैन’ भन्यौँ । त्यसपछि भोलि नै सूचना पाटी बनाई दररेट उल्लेख गर्ने प्रतिबद्धता जनाए ।

४. बैङ्क अगाडि नै अबैध रुपमा पोके चेन्जरहरूले प्रति हजार ५०÷६० रुपैयाँ बट्टा लिइरहँदा पनि तपाईहरू किन रोक्नु हुन्न भनी अर्को प्रश्न गर्दा ‘हामीले स्थानीय निकाय, इलाका प्रहरी कार्यालय र मिडिया कार्यालयलाई पत्राचार गरेको तर कार्यान्वयन नभएकाले बन्द गर्न नसकेका हौँ’ भन्ने जवाफ आयो । आगामी दिनमा पत्रकार सम्मेलन गराई सो कुरा भन्न आग्रह गर्दा उहाँहरूले ‘गर्छौ’ भनी प्रतिबद्धता जनाउनु भयो ।

 ५. ‘तपाईहरू दैनिक कति रकम भारु सटही गर्नुहुन्छ’ भनी सोध्दा ‘दैनिक भारु ४ लाखलाई प्रति व्यक्ति १२०० रुपैयाँका दरले बाड्ने गरेको’ बताइयो । तर, अनुगमनको दौरान दैनिक ५०÷६० जनाभन्दा बढी व्यक्तिले भारु पाउँदैनन् भनेर हामीले बताउँदै ४ लाख रुपैयाँ कसलाई बाँडिन्छ भनी फेरि प्रश्न गर्दा कर्मचारीहरू मौन रहे । बैङ्कले आफ्नो कार्य गलत नभएको पुष्टि गर्न आगामी दिनमा क–कसलाई कति कति रकम बाँडियो भनी पाउनेको विवरण खुलाई सूचना पाटीमा टाँस गर्न हामीले आग्रह गरिसकेपछि उहाँहरूले सूचना सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भयो ।

६. तपाइँहरू पैसा आँधा बाँडिसकेपछि लुकाउनु हुन्छ र महङ्गो बट्टा लिएर अरुलाई बेच्नु हुन्छ भनी भन्दा त्यसो नगरेको उत्तर दिएपछि हामीमध्येकै गोपाल शिवाकोटीले आफु स्वयम्ले आँखा अगाडि देख्दा देख्दै भारु सटहीको लागि आएको २ बण्डल रुकम दुई मिनेटमै सकिएको भनेर ढाँटिएको एउटा घटना विवरण सुनाएपछि ‘त्यसबेला हाकिम साव नै हुनुहुन्थ्यो, हामी थिएनौ’ भनी कर्मचारीहरू पन्छिए । तर हाकिम मौन रहेपछि आइन्दा यसो नगरिदिन आग्रहका साथ प्रतिबद्धता जाहेर गराइयो ।

७. ‘तपाईहरू नै पोके चेन्जर र मनी चेन्जरलाई पैसा दिनुहुन्छ’ भनी प्रश्न गर्दा ‘हामीहरूले दिदैनौ, कहाँबाट ल्याउँछन् थाहा छैन’ भन्ने जवाफ पाइयो । ‘बैङ्कका कर्मचारीले दिने गरेको प्रमाण फेला पारियो भने के सजाय दिनुहुन्छ’ भनी सोध्दा ‘प्रमाण भेटिए सजाय दिलाउने’ प्रतिबद्धता निमित्त प्रमुखले व्यक्त गर्नु भयो ।

 ८. ‘के हामी कुनै पनि दिन अनुगमन गर्न आउँदा मिल्छ ?’ भनी सोध्दा ‘अवश्य मिल्छ आउनुहोस्, तपाइँहरूलाई सही सूचना दिलाउने काम मेरो हो’ भन्नुका साथै सम्पूर्ण कारोवारको जानकारी छिटो र भरपर्दो तरिकाले उपलब्ध गराउने हेतुले छिटै नै कम्प्युटर सफ्टवेयर राख्ने तयारी भइरहेको भन्ने जानकारी गराउनु भयो ।

सचेत नागरिकका तर्फबाट

–गोपालप्रसाद शिवाकोटी
–फडिन्द्र घिमिरे
–मदन कँडेल
–शेखर थापा
–गणेश खरेल
–लगायत मेचीनगरका युवाहरू ।
………………………

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: