झापा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोलखा भिमेश्वर नगरपालिका–२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।
उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो । उनको न्यूरो सर्जरी समेत गरिएको थियो ।
संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरुमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो । (सेतोपाटी अनलाइन)