कनकाई । ‘सयौँ अपराधी छुटुन् तर एउटा पनि निरपराध नफँसोस्’ भन्ने उक्तिलाई अनुसन्धानको क्षेत्रमा मूलमन्त्र मानिन्छ ।
नेपालमा मात्र होइन विश्वभरि नै प्रहरीले अपराध अनुसन्धान गर्दा यही नीति अवलम्बन गरेको हुन्छ । तर सुरुङ्गाको एउटा आपराधिक घटनामा वास्तविक दोषी फेला परेको छैन, तर निरपराध व्यक्तिलाई प्रहरीले फँसाउन खोजेको आरोप लागेको छ ।
घटना यही मङ्सिर २४ गतेको हो । कृष्ण रिजाल भन्ने व्यक्तिले ‘मेरो सिरक डसना र ग्यासको सिलिन्डर ओसार्नु छ, भाडा दिएर पठाउनेछु, गाडी पठाइदिनु प¥यो’ भनी सुरुङ्गाका पुराना व्यवसायी डिल्लीराम बारकोटीलाई भनेका रहेछन् ।
बजारमा इलेक्ट्रोनिक पसलसँगै सामान बोक्ने सानो गाडी चलाउँदै आएका बारकोटीले आग्रहलाई सामान्य ठानेर आफ्नो मे१च ३०१६ नम्वरको भ्यान पठाइदिएका थिए । भ्यानले ७ थान सिरक र ३ थान सिलिन्डर कुमरखोदबाट सुरुङ्गा ल्याउँदै थियो ।
गाडी चालक थिए–कन्काई वडा नं. ३ का३९ बर्षीय देवराज कार्की । गाडीमा सामानधनी दुई जना मधेसी मूलका अपरिचित व्यक्ति पनि चढेर आएका थिए ।
तर सुरुङ्गा आइपुग्न लाग्दा घटनाले अर्कै मोड लियो । मोटरसाइकलमा आएका घुमुवा प्रहरी सुनिल ठाकुर र कपिलेश्वर यादवले गाडी नियन्त्रणमा लिए र गाडीमा बसेका मालधनीसँग लामो कुराकानी गरे । गाडीमा रहेको सिरकभित्र हाँसको प्वाँख (अबैध सामान) भएको कुरा चालक कार्कीले तिनै प्रहरीबाट थाहा पाए ।
त्यहाँ कुराकानी गरेपछि घुमुवा प्रहरीले मधेसी मूलका मालधनीलाई रहस्यमय ढङ्गले छाडिदिए र गाडीलाई सीधै प्रहरी कार्यालयमा लगे । प्रहरीले गाडीसहित चालकलाई थुनामा राख्यो । प्रहरीले अबैध सामानको तस्करी गरेको आरोपमा मुद्दालाई बन कार्यालयतिर पठाइदिएकाले गाडी बनकै नियन्त्रणमा रहेको छ भने निर्दोष चालक कार्की बनकै हिरासतमा छन् ।
घुमुवा प्रहरीले वास्तविक मालधनीलाई बाटाबाटै किन छाडिदियो र निर्दोष गाडीधनी र चालकलाई किन जबर्जस्ती फँसाउँदैछ भन्ने अहिले व्यापक कौतुहल जन्मिएको छ । सुरुङ्गावासीले प्रहरीले निर्दोष चालक र भाडामा प्रयोग भएको गाडीलाई फँसाउन नहुने बताइरहेका छन् ।
‘यसरी निर्दोषलाई फँसाउने काम हुनु हुँदैन’, कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज सङ्ग्रौला भन्छन्–‘दोषी उम्किनु हुँदैन, तर निर्दोष पर्नु हुँदैन ।’
अध्यक्ष सङ्ग्रौलाका अनुसार गाडीधनी बारकोटी सुरुङ्गाका पुराना र इमान्दार व्यवसायी हुन् । ‘प्रहरीले गाडीधनीका बारेमा सबैतिर बुझ्दा हुन्छ’, बारकोटी निर्दोष भएको दावी गर्दै सङ्ग्रौला भन्छन्–‘हामीले बारम्वार प्रहरीलाई वास्तविकता बताउँदा पनि उसले सुनुवाई नगर्दा दुःख लागेको छ ।’
उनले वास्तविक दोषीलाई उम्किन सहयोग पु¥याउने घुमुवा प्रहरीमाथि अनुसन्धान हुनु पर्ने र निर्दोषलाई न्याय दिनु पर्ने माग गरेका छन् ।
कुमरखोद स्थायी घर भएका कृष्ण रिजाल सुरुङ्गामा आयुर्वेदिक पसल सञ्चालन गर्दै आएका थिए । उनी पसलको आवरणमा अबैध धन्धामा संलग्न व्यक्ति भएको भर्खर खुलेको छ । प्रहरीले सामान वरामद गरेपछि रिजाल फरार रहेका छन् ।