द्रोणाचार्य झापाका महान नेता

  प्रकाशित मिति
६ असार २०७३, सोमबार १८:२४


1
झापा । झापाली जनपक्षीय राजनीतिज्ञ द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवस सोमवार उनको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

पञ्चायतकालीन कठोर समयमा पनि कम्युनिस्ट उम्मेदवार बनेर २०४३ सालमा झापाबाट राष्ट्रिय पञ्चायत सदस्यमा शानदार रुपमा विजयी भएका उनी सादा जीवन उच्च विचारका उदाहरणीय नेता थिए ।

नेकपा एमालेबाट २०४८ सालको पहिलो संसदीय निर्वाचनमा झापा क्षेत्र नं. १ बाट बिजयी भएका उनको २०५० साल असार ६ गते पेटको क्यान्सरबाट निधन भएको थियो ।

उनले पञ्चायत विरुद्ध आन्दोलनमा दिएको योगदान कहिल्यै भुल्न सकिन्न । पटकपटक जेल र नेल भोगेका उनले राष्ट्रिय पञ्चायतको बैठकमै राजतन्त्रको खारेजी र बहुदलीय प्रजातन्त्र बहालीको माग गरेका थिए ।

आजीवन कम्युनिस्ट आन्दोलनमा होमिएका उनी एक कुशल पत्रकार र साहित्यकार पनि थिए । puruskar
उनको २३ औँ स्मृतिमा सोमवार प्रेस चौतारी झापाले विर्तामोडमा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

कार्यक्रमका बक्ताहरूले द्रोणाचार्यले राजनीतिक, सामाजिक, साहित्यिक र पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनी शोषित पीडितको पक्षमा सङ्घर्ष गर्ने एउटा निष्ठावान राजनीतिज्ञ भएको धारणा राखेका थिए ।

उनको स्मृतिमा चौतारीले स्थापना गरेको द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार यसबर्ष दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो स्थापना गर्ने झापाका रघु मैनालीलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार १ सय रुपैयाँको रहेको छ ।

प्रमुख अतिथि समेत रहेका मन्त्रीले मैनालीलाई नगद, सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।

त्यसैगरी, राइजिङ स्टार पत्रकारिता पुरस्कारबाट ५ जना उदीयमान पत्रकारलाई सम्मान गरिएको छ । पुरस्कारको राशी ३ हजार ३ सय ३३ रुपैयाँ रहेको थियो ।

पुरस्कृत हुनेहरूमा लक्ष्मी नेपाल, सुनिरा मैनाली, आत्मराम राजवंशी, दिपेन लावती र अशोक अधिकारी रहेका छन् ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश बस्नेत, नेकपा एमाले केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजक हिक्मत कार्की, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, प्रमुख जिल्ला अधिकारी मदन भूजेल, ब्लास्ट दैनिकका प्रधान सम्पादक किशोर कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा हालै निर्वाचित झापाका अम्बिका भण्डारी र गोपाल गड्तौलालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा स्व. द्रोणाचार्य क्षेत्रीकी पत्नी बेदकी आचार्य, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारी, द्रोणचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेल, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य तिर्थ सिम्गदेल, नेपाल पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष मनकुमार गदालले स्वागत गरेको कार्यव्रmमका सञ्चालन सचिव प्रदीप परियारले गरेका थिए ।

यसैविच, द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवसका अवसरमा द्रोणाचार्य स्मृति प्रतिष्ठानले सोमवार मेची अञ्चल अस्पतालमा विरामीलाई फलफुल वितरण गरेको छ ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेल, स्व.द्रोणाचार्य क्षेत्रीकी पत्नी बेदकी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले झापा क्षेत्र नं. ३ ले उनकै स्मृति पारेर भद्रपुरको सामुदायिक विकास केन्द्रको सभाहलमा ‘स्थानीय निकायमा एमालेको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: