धन्न चढिएनछ धरहरा

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार ०५:२९


bhukampa 1

शनिवार दिउँसो घडीको सुइले ११ बजेर ५६ मिनेटको समय जनाउन २ मिनेट बाँकी रहँदा म, लीला पाण्डे, युवराज वाँस्तोला र साङ्गे शेर्पा धरहराको फेदीमा थियौँ । साङ्गे भाइ युवराजजीसँग धरहरा चढ्न जाउँ भन्दैथिए । मैले पुलुक्क आकाशतिर हेरेँ । सेतो धरहरा आकाश छुला झैँ गरी ठिङ्ग उभिएको थियो । फेदमा सिलिङविलिङ कमिलासरी मानिस कोही धरहरा चढेर फर्किदै थिए, कोही चढ्ने तयारी गर्दै ।

मैले अलि टर्रो शैलीमा भने–‘यो धरहरा सरहरा चढ्नु पर्दैन, चेकआउटको टाइम भइसक्यो, होटलतिर जाउँ ।’ धरहराको उचाइ चढ्नु पर्ने डरले होइन, त्यहाँको जोखिम बारे मेरो जहिल्यै नकारात्मक सोचाइ थियो । २ बर्ष अघि टुप्पोमा पुगेका बेला ‘यतिबेलै भूइँचालो आयो भने बाँच्ने आशा हुँदैन’ भन्ने साइको पसेको थियो मेरो मनमा । त्यही साइकोले मलाई झस्कायो र मैले साथीहरूलाई पनि धरहरा चढ्न दिइन ।

मैले धेरैपटक धरहरा चढेको थिएँ । भिमसेन थापाले यति अग्लो धरहरा किन बनाए होलान्, कहाँबाट मिस्त्री ल्याएर बनाए होलान् ? यस्ता प्रश्न धरहरा देख्ने वित्त्किै जाग्थ्यो । इतिहासमा पढ्दाखेरि त्रिपुरा सुन्दरी महारानीको सम्झनामा बनाइएको थाहा पाएको थिएँ । भारतको कुतुव मिनारकै नक्कल गरिएको भन्ने पनि सुनेको थिएँ । जे होस् धरहरा सुन्दर र एउटा गजवकै आकर्षणको केन्द्र थियो ।

काठमाडौँ पहिलोपल्ट जाँदाखेरि धरहरा नचढी के काठमाडौँ घुमेजस्तो होला भन्ठान्थे म । काठमाडौँ पुग्नु भन्दा अघि नै मेरो मन धरहराको टुप्पोमा पुगिसकेको हुन्थ्यो । तर २ बर्ष यता मेरो मन धरहरासँग किन किन विरक्तिएको थियो । भाइ साङ्गेले पहिलो पल्ट धरहरा चढ्न खोज्दा पनि मैले रोकेको थिएँ । मलाई एक मनले साङ्गे भाइको इच्छाको किन सम्मान नगरेको हुँला भन्यो । तर फेरि अर्को मनले भन्थ्यो, त्यति अग्लो, पुरानो माटो र कच्ची इँटाले बनेको त्यो धरहरा चढेर जीवनलाई आनन्द होइन, एक छिन भए पनि किन त्रासमा पार्नु । मेरै सल्लाहमा सहमत हुँदै हामी धरहरा नचढ्ने निधोमा पुगेर होटलतिर मुभ हुँदैथियौँ ।

घडीमा ११ बजेर ५६ मिनट भइसकेको रहेछ । धरहराको कम्पाउण्ड बाहिरबाट होटलतिर जान लागेको मात्रै के थियौँ, भयङ्कर कोलाहल मच्चिन थाल्यो । महिला र केटाकेटी ठूलो स्वरले चिच्याउन थाले । काग र परेवाको झुण्ड आकाशतिर फन्किन थाले । साङ्गे भाइ नै पहिलोपल्ट चिच्याए–‘दाइ भूइँचालो आयो !’ हामी सबैको होस उड्यो । म उभिएको धरती थर्थरी कापिरहेको थियो । बिजुलीका तार बेस्सरी मच्चिन थालिसकेका थिए । जताततै धुलोको मुस्लो उडेर कुइरीमण्डल भएको थियो । मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेका थिए । हामी पनि सुरक्षित स्थानतिर एक्लाएक्लै भाग्यौँ ।

भाग्दाभाग्दै मैले धरहरा हेरिरहे । किनकि भूकम्पले धरहरा ढल्छ भन्ने मेरो पहिल्यैदेखिको सोचाई थियो । कता ढल्छ भन्ने निक्र्योल गरे पछि मात्र कता भाग्ने भन्ने निधो गर्न सजिलो हुने ठानेर मैले धरहरालाई एकतमासले हेरिरहेँ । धरहरा भुइँचालो जाँदा गल्र्याम्म ढलेन । विस्तारै धरहरा धरतीतिर झुकेको देखे मैले । म रहेको ठाउँको विपरीत दिशामा धरहरा ढल्किएपछि म त्यसले अब किच्दैन भन्नेमा ढुक्क भएँ । त्यसपछि निर्निमेष मैले ढल्किदै गएको धरहराको अवसान हेरिरहेँ ।

अघिसम्म आकाश छेडुँला झैँ गरी काठमाडौँको मध्यभागमा उभिएको धरहरालाई ढल्दै गर्दा मैले साह्रै निरीह र रुन्चे देखेँ । उ विस्तारै ढल्कियो । ४५ डिग्री जति ढल्किए पछि बिचमा भाँचियो । त्यसपछि एउटा अजङ्गको प्रलयकारी आवाज निकाल्दै विचरा धरहरा धरतीमा समाहित भयो । मैले उसले ढल्दाखेरि निकालेको अन्तिम आवाज सुनेँ । मैले पहिले असाध्य माया गरेको र पछिल्लो २ बर्ष यता माया मारेको धरहराको त्यतिबेलासम्ममा अवसानको एउटा साक्षी बनिसकेको थिएँ म ।

धुलाबारीका मदन प्रसाईका छोरा मनिषको विहेमा सहभागी हुन हामी झापाबाट बैशाख १० गते मितेरी एसी गाडी चढेर काठमाडौँ गएका थियौँ । विहे ११ गते सकिए पछि १२ गते ४ बजे त्यही मितेरीबाट घर फर्किने गरी बसको टिकट लिइसकेको थियौँ हामीले । महाभूकम्प गएका दिन बैशाख १२ गते बस चढ्नु अघि हामीले काठमाडौका तिर्थस्थल र ऐतिहासिक स्थलको घुमघाम गर्ने निधो गरेका थियौँ ।
सुन्धाराको धरहराबाट नजिकै रोयल थकालीमा बास बसेका हामी शनिवार विहान सबेरै पशुपतिनाथ दर्शनका लागि गयौँ । भिड भएकाले भित्र पसेनौँ । गेटमा भारतीय योग गुरु रामदेवसँग जम्काभेट भयो । उहाँ पूजाका लागि दलबलका साथ मन्दिर पस्दै हुनुहुन्थ्यो । योजना बमोजिम हामी मन्दिरबाट राजदरवार घुम्न गयौँ । शनिवार परेकाले दरवारका गेट बन्द रहेछ, फर्किनु प¥यो । त्यस पछि रानीपोखरी पुग्यौँ । त्यहाँ माछा र परेवालाई चारो खुवायौँ । पैदलै त्यहाँबाट हामी टुँडिखेल, वीर हस्पिटल, दरवार हाइस्कुल, विशाल बजार हुँदै हनुमान ढोका दरवार पुग्यौँ ।

११ बज्न लागिसकेको थियो । साथीहरू मोवाइल स्वीच अफ गरेर हनुमान ढोका पस्नु भयो । मैले चाहिँ मोवाइल स्वीच अफ गरिन । त्यहीबेला मेरो फोनमा झापाबाट पटकपटक रिङ बज्यो । म बाहिर निस्किएर फोनमा कुराकानी गर्न थाले । साथीहरू भित्र घुम्दै हुनुहुन्थ्यो ।
मैले नै साथीहरूलाई होटलबाट चेकआउट गर्ने टाइम हुन लागेको स्मरण गराउँदै ११.३५ बजेतिर हनुमान ढोकाबाट बाहिर निकाले । हामी त्यहाँबाट असन गल्लीको चेपैचेप हुँदै सरासर सुन्धारातिर गयौँ । ११.५५ मा हामी धरहरा चढ्ने कि नचढ्ने भन्ने विवाद गर्दै धरहराको फेदमै आइपुगेका रहेछौँ ।

म र युवराजजी २०६८ सालको भूकम्पका बेला पनि काठमाडौँमै थियौँ । यसपाली धरहरा ढलेको देख्न पाइयो । मलाई अहिले पनि शनिवार धरहरा चढ्न गएको भएँ ११.५६ मिनेटको समयमा हामी धरहराभित्रै हुनेथियौँ होला भन्ने कल्पनाले तर्साउन छाडेको छैन । हामी ढलेको धरहराबाट अलिकतिले मात्र जोगिएका थियौँ । धरहरा भत्किए पछि हामी ज्यान जोगाउन एक्लाएक्लै प्रयास गरेका थियौँ । त्यस्तो बेला कसरी बाँच्ने भन्ने मात्र ध्यान्न हुँदोरहेछ ।

भुइँचालो थामिए लगत्तै हामीले एक अर्कालाई खोज्यौँ । धरहरा धुलिसात भएको थियो । मैले भूकम्प र धरहरा दुर्घटनाबाट बालबाल बचेका दाइ लीला पाण्डे र साथीहरू युवराज वाँस्तोला र साङ्गे शेर्पातिर लामो सास फेर्दै हेरेँ । सबै निराश र हैरान थिए । साङ्गे भाइ धुलाम्य थिए । मेरो मुखबाट यति मात्र निस्किएछ–‘धन्न चढिएनछ धरहरा !’
(२०७२ बैशाख १६ गतेको लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: