धरहरा हटाउ

  प्रकाशित मिति
१९ बैशाख २०७४, मंगलवार १४:३२


dharahara

गत फागुन ९, १० र ११ गते झापाको धुलावारीमा वाल उत्सव भव्यरुपमा सम्पन्न भयो । बालबालिकाको क्षमता विकासका लागि विविध सिकाइसँगै उनीहरुको स्तरोन्नतिका लागि अवसरको रुपमा वाल उत्सव एउटा गतिलो आयोजना बन्न सफल भएको जगजायर छ । वाल उत्सवको आयोजनालाई स्मरण गर्ने हो भने मुख्य प्रवेशद्वारबाट भित्र पस्नासाथ धेरै मानिसहरुको आकर्षण थियो नमूना धरहरा । २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्काएको काठमाडौँ सुन्धारास्थित धरहराको सम्झनामा वाल उत्सवमा प्रदर्शनीका लागि निर्माण गरिएको धरहरामा फोटो खिचाउनेको भीड वाल उत्सव सञ्चालन भएको तीन दिनै लागि रह्यो । नेकपा एमाले क्षेत्रीय समितिको आयोजनामा सम्पन्न वाल उत्सवको अवलोकन गरेर जानेहरुले अरु कुराको खासै स्मरण नगरे पनि धरहराको फोटो लामो समयसम्म सामाजिक सञ्जालहरुमा राखिएको भेटियो । आयोजक मध्येका केही व्यक्तिहरुले फेसबुकमा आफ्नो प्रोफाइल फोटो नै धेरै समय नमूना धरहरामा खिचिएको तस्वीरलाई राखे । त्यतिमात्र होइन, वाल उत्सव आयोजकले उत्सवको प्रचार गर्दा नमूना धरहरा प्रदर्शनीलाई प्रमुख आकर्षणका रुपमा प्रस्तुत गरेका थिए । स्थानीय सञ्चारमाध्यमले पनि धरहराको अवलोकनका बारेमा विशेष सामाग्री नै प्रसारण÷ प्रकाशन गरेका थिए त्यसबेला । या भनौँ बाल उत्सवको प्रमुख आकर्षण नै धरहारा थियो र धरहरामा फोटो नखिचाई वाल उत्सवबाट कोही फर्केको सायदै होला ।

2

1

बाल उत्सव सकियो । तर, एउटा कुरा स्थानीयको चासो छदै थियो । त्यो चासो भनेको काठमाडौँमा रहेको धरहरा भूकम्पले भत्काएपछि झापामै निर्माण गरिएको उक्त ऐतिहासिक नमूना धरहराको व्यवस्थापन कसरी हुन्छ भन्ने नै थियो । वाल उत्सव सकिएको केही दिनपछि सम्म पनि नमूना धरहरा उत्सव आयोजना स्थल धुलावारीको चिया निगम कोलेनीमा नै रहेको देखिन्थ्यो । तर, केही दिनपछि अचानक उक्त नमूना धरहरा धुलाबारी चौकको मुख्य सडकको ट्राफिक आइल्याण्डमा राखियो । मुख्य सडक जहाँ लाखौँ यात्री दैनिक आवतजावत गर्छन् र खुल्लारुपमा बीच सडकमा नमूना धरहरा हेर्न सक्ने अवस्थामा राखिएको देखेपछि मलाई कताकता नमूना धरहराले सही स्थान पाएन कि भन्ने लागिराखेको थियो । केही सामाजिक र राजनीतिक अगुवाहरुलाई यो विषयमा चर्चा चलाउने प्रयास गर्दा पनि त्यति गम्भीर बनेको नपाएपछि आज आलेखमार्फत् आम नागरिकमा नमूना धरहराका विषयमा उल्लेख गर्ने प्रयास गरेको छु ।

वाल उत्सव आयोजक नेकपा एमालेले नमूना धरहरा बनाएर उत्सवमा राख्न धेरै मेहनत गरेको पनि बुझिएको थियो । तर, त्यसको व्यवस्थापनमा एमालेले कतिको समय खर्च गरेर छलफल ग¥यो त्यो थाहा हुन सकेन । तर, आज दुर्लभ प्राय बनेको नमूना धरहरालाई बीच सडकमा राखेको देख्दा वाल उत्सव आयोजक धरहराको व्यवस्थापनमा खासै गम्भीर बनेको देखिएन । या त यस विषयको महत्वलाई बुझ्न जरुरी सम्झिएन आयोजक समितिले ।

वाल उत्सवको मुख्य आकर्षण बनेको नमूना धरहरालाई सधैँका लागि मूल्यवान बनाउन सकिने थुप्रै उपाय थिए र छन् पनि । नेपालको धरहरा भनेर विश्व प्रख्यात भएको त्यस्तो चिज जसलाई नेपाल प्रवेश गर्ने जो कोहीले शुल्क तिरेर हेर्न चाहन्थे । त्यति मात्र होइन, आन्तरिक पर्यटकहरुका लागि पनि त्यो एउटा गन्तव्य बन्थ्यो, यदि त्यसको उचित व्यवस्थापन भएको भए । खुल्ला रुपमा बीच सडकमा राख्नुको सट्टा नमूना धरहरालाई कुनै संरक्षित स्थानमा राखेर शुल्क तिरेर मात्र धरहरा हेर्न वा त्यसमा फोटो खिच्न पाइने व्यवस्था गर्न सकेको भए स्थानीय स्तरमा नयाँ पर्यटकीय गन्तव्य त बन्ने निश्चित नै थियो । त्यसबापत आयआर्जन पनि हुने थियो । त्यतिमात्र होइन, नमूना धरहरा निर्माणकर्ता भएकाले पनि वाल उत्सव आयोजक दलले त्यसको श्रेय सधैँ लिइरहन पाउने पक्का नै थियो । मेचीनगर र आसपासका क्षेत्रमा नमूना धरहरालाई स्थापना गरेर त्यसको महत्व अझ उचो पार्ने स्थानको कमी पनि थिएन । त्यसका लागि काँकरभिट्टाको देवकोटा पार्क सबैभन्दा उपयुक्त स्थल बन्न सक्थ्यो । किनकि पूर्वी नाकाको नेपाल प्रवेशद्वार भएकाले नमूना धरहरा हेर्न विदेशीहरु हुलका हुल आउने र टिकटमार्फत् निश्चित रकम लिन पनि सकिने स्थिति बन्ने थियो । यदि देवकोटा पार्कको विकल्प खोज्ने हो भने धुलावारीकै खुट्टिडाँगी सामुदायिक वन समुहको परिसर अथवा थोप्लेविरान सामुदायिक वन समूहको परिसर र धाइजनस्थित बाँसबारी सामुदायिक वन समुहको परिसर नमूना धरहराका लागि उपयुक्त स्थान बन्ने सक्ने थियो । र, अझै पनि त्यो सम्भावना जीवितै छ । यी तीनवटै वन समुहमा पर्यटकीय स्थल बनाउने कार्य तीब्र रुपमा चलिरहेको हुँदा नमूना धरहरा राखिँदा थप आकर्षण बढ्ने निश्चित नै थियो र छ ।

विदेशीहरु सामान्य महत्वका विषय वस्तु वा स्थललाई आकर्षण पैदा गरी लाखौँ पर्यटकलाई अवलोकन गराएर राज्यलाई आयआर्जन गराइरहेका छन् । उदाहरणको रुपमा भारतको सिक्किम राज्यका अधिकांश पर्यटकीय स्थलहरु मानवनिर्मित हुन् । तर, त्यसलाई संरक्षण र रखिरखाउका दृष्टिले अत्यन्तै महत्व दिइएकाले आज सिक्किम पर्यटकीय गन्तव्य बन्न पुगेको छ । त्यतिमात्र होइन, विश्वकै सबैभन्दा धनी मन्दिरका रुपमा चिनिने भारतको तिरुपतिको इतिहासलाई हेर्ने हो भने सामान्य मन्दिरलाई स्थानीयबासीको सहयोगमा सरकारले पुनर्संरचना गरी त्यसको महत्वका बारेमा विभिन्न माध्यमबाट विश्वलाई जानकारी गराएपछि आज तिरुपति मन्दिर दर्शन गर्नु हिन्दू धर्मावलम्बीहरुका लागि एउटा अभिष्ट नै बनेको छ । त्यसैगरी केही वर्ष अगाडि भारतको कालेङपुङमा निर्माण गरिएको चारधाम पनि मानवनिर्मित नै हो । आज उक्त स्थलमा दैनिक लाखौँ मानिसले अवलोकन गरिरहेका छन् । तर, हामीले भने ऐतिहासिक पृष्ठभूमि बोकेको नमूना धरहरालाई मुख्य सडकको बीचमा राखेर अवमूल्यन गरिरहेका छौँ । सायदै आज धुलाबारी चौकको त्यो धरहराप्रति कसैको मोह छ, न त कसैले धरहरासँग सेल्फी नै खिचेको देखिन्छ । त्यसैले, प्रचुर सम्भावना भएको नमूना धरहरालाई धुलाबारी चौकबाट हटाएर अन्यत्र विशेष रुपमा स्थापित गरी धरहराको ऐतिहासिक महत्वका बारेमा विश्वव्यापी रुपमा प्रचार गर्न सके त्यसले मेचीनगर क्षेत्रलाई नयाँ पहिचान दिने निश्चित छ । स्थानीयबासीसहित खासगरी नमूना धरहराको निर्माण गरेर मेचीनगरलाई ऐतिहासिक नगरको रुपमा परिचित गराउन सफल वाल उत्सव आयोजक दल नेकपा एमालेले नमूना धरहराको महत्व रक्षाका लागि पनि विशेष पहल गरोस्, मेरो आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: