विर्तामोड । नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारीले जबर्जस्ती धर्म परिवर्तन गराउने विरुद्ध कडा कानूनको माग गरेका छन् ।
शनिअर्जुन–७ स्थित कालिकापीठको १२ औँ वार्षिक उत्सव उद्घाटन अवसरमा मङ्गलवार बोल्दै भण्डारीले त्यस्तो माग गरेका हुन् ।
‘धर्म परिवर्तनले हिन्दू बैदिक सभ्यतालाई कुल्चने काम गरेको छ’, कार्यव्रmममा बोल्दै कञ्चनजङ्गा एफएमका प्रबन्ध निर्देशक समेत रहेका भण्डारीले भने–‘जबरजस्ती धर्म परिवर्तन गराउने विरुद्ध कडा कानून बनाउनु पर्छ ।’
नेपाल सनातनदेखि हिन्दु, बौद्ध र किरात धर्मको पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै साम्राज्यबादी शक्तिहरूले ठूलो डिजाइनका साथ नेपालीको धार्मिक पहिचान मास्ने षडयन्त्र गरिरहेको उनको धारणा थियो ।
उनले नेपाली कम्युनिष्टहरू साम्राज्यबादको विरोधी भए पनि धर्म परिवर्तनको अभियान लिएर हिन्दुत्व मास्न आएका साम्राज्यबादी शक्तिसँग अहिले कम्युनिष्टहरूले दलाली गरिरहेको आरोप लगाए ।
कार्यव्रmममा झापा क्षेत्र नम्बर–४ का सांसद प्रेमबहादुर गिरीले संस्कृतिभित्र राष्ट्रवादलाई बढाउन नसके मुलुकले ठूलो अनिष्ट भोग्नुपर्ने चेतावनी दिएका थिए ।
कालिकापीठ कालिस्थानमा मङ्गलवार भविष्य महापुराणको उद्घाटन भएको छ ।
कालिकापीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा भएको उद्घाटन समारोहमा समाजसेवी तथा शिक्षासेवी गोपालकुमार बस्नेतलाई नगद राशी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लोकराज ढकाल, सम्मानित व्यक्तित्व गोपालकुमार बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष पत्रकार कृष्ण हुमागाइँ, साहित्यकार रोहिणीविलास लुइँटेल, कञ्चना सिटौला लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
पीठले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यो वर्ष शिक्षा तथा समाजसेवी बस्नेतलाई प्रदान गरेको हो । सप्ताहव्यापी भविष्य महापुराणमा आचार्य रघुनाथ रिजाल प्रमुख कथावाचक र पण्डित उमेश घिमिरे उपवाचक रहेका छन् ।