धानखेत मासेर निजी बनमा रमाउँदै झापाली किसान

  प्रकाशित मिति
६ असार २०७७, शनिबार १५:३७


भद्रपुर, ६ असार (रासस) : झापामा धान खेत मासेर किसानले निजी बन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी बनलाई बहुृउत्पादनमूलक बनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको संख्या ४३० पुगिसकेको छ ।

तीस बर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौंबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईँले चार बिगाहा धान खेतलाई निजी कृषि बनमा रुपान्तरण गरे ।

प्रसाईंले कृषि बनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काएका छन् । ‘दिनमा एकपल्ट बनमा नगई चित्तै बुझ्दैन, हरियाली बढेको छ, चराहरु चिरबिराउँछन्,’ सात बर्षदेखि कृषि बनमा रमाएका उनी भन्छन्, ‘धान मात्र बाली होइन, अरु फलफुल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।’

उनले हुर्किदै गरेका ठूला रुख भएको बनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफुलका बगैंचा समेत लगाएका छन् । कृषि बनको जगेर्नाका लागि उनले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गरेका छन् ।

‘गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि बन सुरु गरें सन्तुष्ट छु’,उनी भन्छन्, ‘अब बनभित्रै कुखुरा र हाँस पनि पाल्ने तयारीमा छु । थोरै जमिनबाट बहुआयमिक उत्पादन गर्न सकिँदोरहेछ ।’

शिवसताक्षी नगरपालिका–५ लामाटोलका किसान दयानन्द दाहाल, कनकाई नपा–६ का मोहनप्रसाद सुवेदीलगायतका किसानले पनि धान खेत मासेर बनसँगै कृषिजन्य वस्तुको उत्पादन गरिरहेका छन् ।

गौरादह–६ का दुर्गा प्रसाई निजी कृषि बन व्यवसायीहरुको संस्थाको जिल्ला अध्यक्ष छन् । उनले बुवाबाट अंशमा पाएको पाँच गिाहा जमिनमा धान खेत मासेरै कृषि बनको परियोजना सञ्चालन गरिरहेका छन् ।

उनको बनमा यतिबेला टिक, मसलालगायतका विरुवा हुर्किसकेका छन् भने बनभित्रै काँक्रा, फर्सी, करेला, कागती समेत फलेका छन् ।

उनले बनभित्रै पाडा र लोकल कुखुरा पालेका छन् । उनका दुई जना भाइले समेत दाजुकै सिको गर्दै कृषि बनसँगै व्यावसायिक माछा पालन, बंगुर र पाडा पालेका छन् ।

झापा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष मोहनप्रसाद सुवेदीले मुलुकमा जस्तोसुकै संकट आउँदा पनि कृषि पेशा नै भरपर्दो र बलियो देखिएको बताए ।

उनले धान लगाउँदा उत्पादन कम हुने, मजदूर अभाव हुने बताउँदै किसानहरुले धान खेतलाई मासेर धमाधम कृषि वनको रुपमा विकास गर्न थालेको बताए । कनकाई–६ मा उनको पनि निजी कृषि बन छ ।

नेपाल सरकारले निजी कृषि बनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

शुक्रवार कृषि ज्ञान केन्द्रका प्रमुख निलमणि साहसहित वनका कर्मचारी लिएर जिल्लाका निजी कृषि बन अनुगमनमा निस्किएका घिमिरेले उनीहरुलाई विभिन्न जातका विरुवा वन कार्यालयले निःशुल्क प्रदान गर्ने जानकारी दिए ।

उनले कार्यालयले व्यावसायिक रुपमा काम गरिरहेका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यकता हेरेर दुई लाखदेखि पाँच लाख रुपैयाँको कृषि औजार खरिदमा अनुदान दिइने बताएका छन् । बनलाई बहुउत्पादनमूलक बनाउन कार्यालयले प्रोत्साहित गरिरहेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलमणि साह निजी कृषि बनमा लागेका किसानलाई प्राविधिक सहयोग र फलफूलका विरुवा वितरण गरिने बताउँछन् । उनले थोरै जमिनमा गरिने बहुआयामिक कृषि प्रणालीबाट धेरै आम्दानी गर्न सकिने बताए ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: