धान मासेर कागती खेती गर्दै किसान

  प्रकाशित मिति
३१ भाद्र २०७४, शनिबार ०८:४८


20663640_1969009070046716_957092931285545523_n (3)

गौरादह । झापाको दक्षिण पश्चिमी क्षेत्रको गौरादह नगरपालिकाका किसानहरु धान वा अन्य खेती गर्न भन्दा कागती खेती गर्न आकर्षित हुन थालेका छन् ।
किसानहरुका अनुसार एउटा कागतीको बोटमा ५ सयदेखि दुई हजार दानासम्म कागती फल्छन् । बोट लगाएकै वर्ष ५० देखि २ सयसम्म कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ । बिरुवा लगाएको तीन वर्षदेखि कलमी बिरुवा बिक्री गर्न सकिन्छ । एउटा कलमी बिरुवा सयदेखि डेढ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

गौरादह नगरपालिका वडा नं. १ का खुमनाथ निरौलाले २ बिघा धान खेत मासेर कागती खेती सुरु गरेका छन् । उनले २ बिघामा १४ सय ५० वटा मद्रासी जातका कागती लगाएका छन् । दुई वर्षकै बोटमा अहिले २० देखि सय दानासम्म फलेको छ । पहिलो पटक ५ हजार दाना कागतीसमेत बिक्री गरेका छन् ।
बिर्तामोडबाट व्यापारी खेतमै पुगेपछि उनले पाँच हजार दाना कागती दुई रुपैयाँ ५० पैसा प्रतिगोटामा बिक्री गरे । उनले कागती खेतीमा थोपा सिँचाईको समेत व्यवस्था गरेका छन् । उनका भाइ बेदनिधि निरौलाले पनि ९ कठ्ठामा युरेका जातको कागती लगाएका छन् । उनकै छिमेकी खिन्द्रप्रसाद घिमिरेले पनि १७ कठ्ठामा कागती खेती गरेका छन् ।

कागती खेतीका विषयमा २० वर्षदेखि रिजालटासीमा बागबानी हेर्दै आएका रञ्जनकुमार सिंहको सल्लाहमा आफूहरुले खेती सुरु गरेको निरौलाले बताए । खुमनाथ भन्दछन्–‘अन्नबालीभन्दा धेरै गुणा बढी आम्दानी दिने भएकाले कागती खेतीले किसानको जीवनस्तर उकास्छ ।’

अझ गौरादह नगरपालिका वडा नं. ३ मा तीनजना युवा मिलेर तीन बिघामा कागती, एक बिघामा बेसार र एक बिघामा माछा पालन सुरु गरेका छन् । गौरादहका कुशहरी दाहाल, दिपक बराल र नारायण कार्की मिलेर केडी एन कृषि फर्म दर्ता नै गरेका छन् । फममा चाइनिज, मद्रासी र बनारसी जातका दुई हजार विरुवाहरु लगाएको फर्मका सञ्चालक दिपक बरालले बताए । फर्मका अध्यक्ष कुशहरी दाहालले कागतीका बोटमा सय दानासम्म फल लागेको बताए ।

रिजालटासीमा २० वर्षभन्दा बढी समय बागबानी हेर्न आएका सिंहले कागती खेतीमा किसानलाई आकर्षित गर्नसके नेपालबाट वार्षिक रुपमा बाहिरिरहेको अर्बौँ रुपैयाँ रोकिने र त्यसले बढ्दो व्यापार घाटालाई पनि कम गर्न सकिने बताए ।

बिरुवा तीन वर्षको भएपछि मात्र कलमी गर्न मिल्ने बताउँदै उनले कागती खेतीमा गाईको पिसाब र गोबरबाट बनाइएको किटनासक मात्र छर्न सल्लाह दिए ।
गुजरातमा अहिले फलमा बियाँ नहुने कागतीको विकास गरिएको तर नेपालमा भने आइनसकेको उनले बताए । रञ्जनका अनुसार कागती खेतीसँगै बाख्रापालन, मौरीपालन, बेसार खेती गर्न सकिने भएकाले यसले अतिरिक्त आम्दानी हुने बताए । उनले कागती खेतीको वरिपरि मलेसियन सखुवा लगाएर सात वर्षमा लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: