झुलन रेग्मी
धुलाबारी । सुपारीको पत्ता अक्सर गाईवस्तुलाई खोले पकाउन तथा आगो ताप्न प्रयोग गरिन्छ । यसको महत्व र उपयोगिताका बारेमा बुझ्न नसक्दा त्यत्तिकै खेर गइरहेको छ । तर, यही सुपारीको पत्ताबाट पनि आम्दानी लिन सकिदो रहेछ ।
मेचीनगर–९, धुलाबारीस्थित थोप्लेविरानमा खुलेको लिफ प्लस प्रालिले अहिले धमाधाम आम्दानी गरिरहेको छ । खेर गइरहेको सुपारीको पत्ता खरिद गरी त्यसलाई प्रशोधन गरेर बनाइएका आकर्षक सामाग्री बेचेर आम्दानीसँगै उद्योगले यसको महत्वलाई पनि बुझाउने काम गरेको हो ।
मेचीनगरका युवा हरि दाहालसहितको विज्ञ समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । उनीसँगै उद्योगको सञ्चालकमा स्वाभिमान आचार्य, कोवितसिंह बानियाँ, विधान पोखरेल गरी १६ जना आबद्ध छन् ।
करिब १ करोड १५ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक मध्येका हरि दाहाल बताउँछन् । ‘सुपारीको पत्तालाई हामी सामान्य रुपमा लिएका छौँ,’ उनले भने, ‘यसको उपयोगिताबारे बुझाउन नसक्दा त्यत्तिकै खेर गइरहेको छ । तर, हामी यसलाई आम्दानीसँग जोड्ने प्रयत्न गरिरहेका छौँ ।’
उद्योगले आम्दानी मात्रै लिइरहेको छैन । सुपारी पत्ता खरिद गर्नुपर्ने भएकाले कृषकहरुका लागि पनि एउटा आम्दानीको स्रोत बनाइदिएको छ । उद्योगले मेचीनगर, शान्तिनगर, बुधबारे लगायतका कृषकहरुबाट सुपारीको पत्ता खरिद गर्दै आएको सञ्चालक दाहाल बताउँछन् । उनका अनुसार एउटा सुपारीको पत्ता खरिद बापत कृषकलाई दुई रुपैयाँ दिइने गरेको छ ।
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको सो उद्योगले मेचीनगर र हेटौँडाबाट एकसाथ सामाग्री उत्पादन गर्दै आएको छ । दैनिक ३ तीन हजार सामाग्री उद्योगबाट उत्पादन हुने गरेको छ । तर, पनि यसको प्रयोगबारे बुझाउन नसक्दा सुपारीबाट बनेका सामाग्रीले बजार लिन सकिरहेको छैन ।
‘अहिले बजारमा प्लाष्टिकका भाँडाकुँडा प्रयोग गर्ने चलन खुबै बढिरहेको छ । पिकनिक होस् या पाटी, समारोहमा प्लाष्टिक खुबै चलाइन्छ,’ उनले भने, ‘यसको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । तर, हामीले बुझाउन सकिरहेका छैनौँ ।’ सुपारीको पत्ताबाट बनेका सामाग्रीमा खानेकुरा खाँदा असर नगर्ने तर यो कुरा बुझाउन नसक्दा बजारमा प्लाष्टिकले राज गरिरहेको उनले बताए । उद्योग सञ्चालन गरेर आफूहरु प्लाष्टिकजन्य भाँडाकुाडा विस्थापित गर्ने पक्षमा रहेको उनको भनाइ छ ।
उद्योगमा रहेका २५ वटा मेसिनबाट १८ प्रकारका सामाग्री उत्पादन भइरहेको छ । थाल, बटुको, दुना, टपरी, बोल, खण्डेथाल लगायतका आकर्षक भाँडाकुँडा उत्पादन भइरहेको उनले जानकारी दिए । ती उत्पादित सामाग्रीहरु उद्योगले धुलाबारी, काँकरभिट्टा, बिर्तामोड, तथा काठमाडौँका केही होटल तथा रेष्टुरेन्टहरुलाई होम डेलिभरीमा बेचिरहेको छ । यहीँबाट उत्पादित सामाग्री प्रधानमन्त्री कार्यालयसम्म पनि पुर्याएको सञ्चालक दाहालले बताए । तर, थोरै परिमाणमा पठाइएको उनी बताउँछन् ।
प्लाष्टिकका भाँडाकुँडाभन्दा सुपारीबाट बनेका सामाग्रीहरु केही महँगो पर्ने हुन्छ । उत्पादन खर्च अधिक भएकाले पनि सुपारीका भाँडाकुँडाको बजार भाउ प्रतिथाल २० रुपैयाँसम्म पर्ने गरेको उनी सुनाउँछन् ।
सरकारले प्लाष्टिक प्रयोगमा रोक लगाएको छ । तर, अहिलेसम्म प्रतिबन्ध कार्यान्वयन हुन सकिरहेको छैन । स्थानीय सरकारले प्लाष्टिक प्रयोगमा रोक लगाएर सुपारीका पत्ताबाट बनेका भाँडाकुँडा प्रयोगमा प्रोत्साहन गर्नुपर्ने सञ्चालक दाहाल बताउँछन् । ‘हामीले उद्योग सञ्चालन गर्यौँ भनेर हाम्रा उत्पादिन सामाग्री किन्नैपर्छ भन्ने होइन,’ उनले भने, ‘प्लाष्टिकका सामाग्री स्वास्थ्यको हिसाबले खतरा छ । नागरिकको स्वास्थ्यमा राज्यले खेलवाड गर्नु भएन नि !’ सार्वजनिक स्थलहरुमा प्लाष्टिकका साम्रागी प्रयोगमा स्थानीय सरकारले रोक लगाउन सक्नुपर्ने उनको भनाइ छ ।
छिमेकी मुलुक भारतको तामिलनाडु राज्यमा खुलेका सुपारीका उद्योगले बार्षिक डेढ करोड भाँडाकुँडा निर्यात गर्ने गरेको उनले सुनाए । प्लाष्टिकका सामग्रीहरु अहिले त्यहाँ विस्थापित जस्तै नै भएको उनी बताउँछन् ।
‘हामीले सञ्चालन गर्नुअघि तामिलनाडु क्षेत्रका उद्योगहरुको अवस्था र सम्भावनाहरु अध्ययन गरेका थियौँ,’ उनले भने, ‘ती उद्योगको उत्पादन र विक्री देखेर हामी छक्क नै पर्यौँ । त्यहाँ त राज्य सरकारले ठूलो सहयोग गरेको रहेछ । हाम्रामा त सहयोगको कुरा परैको भयो । प्रोत्साहन नीति समेत ल्याउन सकेको छैन ।’