मेचीनगर । स्वच्छ र शुद्ध पिउने पानीको आवश्यकतालाई पूरा गर्दै आइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको १९ औं वार्षिक साधारण सभा सोमबार धुलाबारीको टाउन हलमा सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०७६÷२०७७ का लागि मस्यौदा गरिएको बजेटमा पुराना कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ योजना समेटेर लैजाने निर्णय सभाले गरेको छ । समितिका अध्यक्ष अजय घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु आवका लागि चार करोड सतासी लाख पचपन्न हजार दुईसय पचास रुपैयाँ बराबरको बजेट पेश गरिएको छ । जुन गतवर्षको बजेटभन्दा पाच प्रतिशतले बढी हो ।
२०५२ सालमा स्थापित धुलाबारी खानेपानी आयोजनाले मेचीनगर क्षेत्रका वडा नं ९, १०, ११ र १५ का केही भागहरुमा पाइपलाइन विस्तार गरी उपभोक्तालाई शुद्ध पानी वितरण गर्दै आइरहेको छ । गत पुस महिनासम्म ४ हजार ८३६ धारा जडान भइसकेको छ भने नयाँ धरा जडान गर्ने उपभोक्ता संख्या पनि बढ्दै गएको समितिले जनाएको छ ।
संस्थाका अध्यक्ष अजय घिमिरेको सभापतित्व तथा प्रदेश नंं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अमिरबावु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगर उपप्रमुख मीना उप्रेती, डिभिजन खानेपानी झापाका प्रमुख धर्मेन्द्रप्रसाद केशरी, धुलाबारी खानेपानीका संस्थापक अध्यक्ष राम कट्टेल, काँकरभिट्टा खानेपानी अध्यक्ष हर्क फ्याक, अग्रज पत्रकार चन्द्र भण्डारी, धुलाबारी क्याम्पस प्रमुख पुष्पराज पौडेल, नेकपाका जिल्ला सदस्य प्रकाश भण्डारी, काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष चेतन विष्टको स्वागत तथा सचिव कञ्चन तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।