धुलाबारी । धुलाबारी माविमा ‘विद्यालय नर्सिङ कार्यक्रम’ बुधबारबाट सुरु भएको छ ।
प्रदेश सरकार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार धुलाबारी माविमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
बुधबार एक कार्यक्रमकाबीच विद्यालय नर्सिङ कार्यक्रम सार्वजनिकीकरण गरिएको छ ।
स्टाफ नर्स दीपा तामाङले प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीको रक्तचाप नापगरी कार्यक्रम उद्घाटन गरिएको हो ।
प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा विद्यालयको सभाकक्षमा भएको कार्यक्रममा विद्यालयका अभिभावक, पूर्व विद्यार्थी समाज, मितेरी तथा छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधिहरु, आमा समूह तथा शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त विद्यालयमा ‘विद्यालय नर्स तथा मनोपरामर्श कक्ष’ समेत सुरु गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर वडा नं १० का वडाध्यक्ष सुवेसकुमार पनेरुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइँटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहप्रअ तेजप्रसाद चौलागाईँले गरेको आधारभूत तह इन्चार्ज मिलनकुमार ढुङ्गानाले जानकारी दिए ।