विर्तामोड । ओशो तपोवनका स्वामी आनन्द अरुणले बुद्ध जयन्तीलाई ‘विश्व ध्यान दिवस’को रुपमा मनाउन आह्वान गरेका छन् ।
गौतम बुद्धले ध्यानबाटै बुद्धत्व प्राप्त गरेको चर्चा गर्दै सोमवार विर्तामोडमा आयोजित एक कार्यक्रममा स्वामी अरुणले ‘विश्व ध्यान दिवस’का लागि संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव लैजान नेपाल सरकारलाई आग्रह गरे ।
‘ओशो डिभाइन डोर’ नामक संस्थाले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले योग र ध्यान नेपालको प्राचीन संस्कृित भएको बताए ।
‘विश्व योग दिवस’को प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घमा लगे जसरी नै नेपालका प्रधानमन्त्रीले ‘विश्व ध्यान दिवस’को प्रस्ताव राष्ट्र सङ्घमा लैजान सके विश्वभरिबाट समर्थन प्राप्त हुने उनको धारणा थियो ।
नेपालले ध्यान दिवसको प्रस्ताव राष्ट्र सङ्घमा लगेर यसको बौद्धिक सम्पत्ति (पेटेन्ट राइट्स) माथिको अधिकार दावी गर्नु पर्ने उनको सुझाव थियो ।
गौतम बुद्धको जन्म भएको देश भएको नाताले नेपालले ध्यान दिवसको प्रस्ताव विश्व समुदायसमक्ष लैजानु सान्दर्भिक हुने र यसबाट बुद्धप्रति समादर एवम् नेपालका लागि ठूलो उपलब्धि हुने उनले बताए ।
‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर दुनियाँ सामू प्रचार गर्नु पर्ने अवस्था आएको छ’, ध्यान दिवसको प्रस्तावलाई समर्थन गर्न सिङ्गो विश्व तयार रहेको दावी गर्दै स्वामी अरुणले भने–‘यो प्रस्ताव पास गर्न सक्यौँ भने फेरि अर्को बुद्धलाई नेपालको नागरिकता दिलाइरहनु पर्दैन ।’
उनले जन्म दिनमा क्यान्डल निभाउने विदेशी परम्परा त्यागेर विरुवा रोप्नु पर्ने, स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्ने र एक दम्पत्ति एक सन्ततिको नियम लागू गर्नु पर्ने प्रस्ताव समेत राखेका छन् ।
उनले विश्व ध्यान दिवस लगायतका पाँच वटा प्रस्तावलाई देशव्यापी रुपमा प्रचार गर्ने आफ्नो अभियानको उद्देश्य रहेको बताएका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले स्वामी अरुणको ध्यान दिवस सम्बन्धी प्रस्तावलाई सकारात्मक भन्दै समथृन जनाएका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रस्ताव पुर्याउने र प्रदेशका तर्फबाट विशेष सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ध्यान दिवसको प्रस्तावमा समर्थन जुटाउन ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले मेची–महाकाली अभियान सुरु गरेका छन् ।
अभियानकै क्रममा उनले झापाको विर्तामोड र इलामको हर्कटेमा प्रवचन दिएको ओशो अभियन्ता माँ पल्लवीले बताइन् । पल्लवीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
झापा र इलामका विभिन्न क्षेत्रका विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा ओशो डिभाइन डोरका सञ्चालक मनोज उप्रेतीले समेत धारणा व्यक्त गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)