‘नकलबन्दा समृद्ध भएको हेर्न मन छ’

  प्रकाशित मिति
२ आश्विन २०७३, आईतवार ०९:३८


av8a0857
मोटो शरीर, हँसिलो मुहार, मिजासिलो, सबैसँग सजिलै घुलमिल भएर समान व्यवहार गर्ने र समाजको नेतृत्व गर्न सक्ने क्षमता । पेसाले उनी व्यवसायी हुन् तर समाज परिवर्तनमा पनि उनको उत्तिकै योगदान छ । उनी हुन्, मेचीनगर–१० नकलबन्दाका होमराज गुरुङ । नकलबन्दालाई पछिल्लो समय नेतृत्व गर्दै आएका उनी आफ्नो पेसालाई निरन्तरता दिँदै समाजलाई परिवर्तन गर्न तल्लीन छन् । उनको कामप्रतिको लगाव र इमान्दारिताका कारण यस क्षेत्रमा लोकप्रिय पनि बन्दै गएका छन् । आफु भन्दा अग्रजको सल्लाहलाई आत्मसाथ गर्दै युवापुस्तालाई साथ लिएर समाज निर्माणमा निरन्तर व्रिmयाशील छन्, ३८ वर्षीय गुरुङ ।

वि.सं. २०३५ साल असार ३१ गते आमा हरिमाया गुरुङ र बुबा स्व. अमृतबहादुर गुरुङका साइला छोराका रुपमा भारतको आसाममा जन्मिएका उनी सानै उमेरदेखि मेहनती र लगनशील स्वभावका थिए । घरको नाजुक आर्थिक अवस्थाकाबिच पनि उनले आफुलाई सधैँ अब्बल बनाउन खोजे । २०३८ सालमा बुबाको निधन भएपछि ४ भाई छोरा र ४ बहिनी छोरीको व्ययभार आमा हरिमायाको काँधमा आएको थियो । दुःख सुख गरेर आमाले छोराछोरीको पालनपोषण गरिन् । यो परिवार २०४० सालतिर आफ्नो पुख्र्यौली थलो नेपालमा बसाईं सरेर आएको थियो । उनीहरू साविकको नकलबन्दा गाविसमा आएर बसोबास गर्न थाले ।

२०५७ सालमा आदर्श मावि इटाभट्टाबाट एसएलसी उत्तीर्ण गरेका होमराजले प्लस २ काँकरभिट्टा माविबाट गरेका थिए । घरको आर्थिक अवस्थाका कारण त्यसभन्दा माथिको अध्ययनलाई निरन्तरता दिन नसकेका उनी पैसा कमाउन भन्दै व्यापार व्यवसायतिर लागे । त्यसमा पनि भनेजस्तो पढाइ नभएकाले जागिर भन्दा पनि व्यवसायलाई रोजे उनले । खोलाबाटोको ठेक्कापट्टालाई आफ्नो व्यवसायको माध्यम बनाए । निरन्तर यस क्षेत्रमा लागेर लगनशीलका साथ काम गर्दै गएपछि उनले सफलता समेत पाउन थाले । थोेर बहुत सम्पत्ती आर्जन गर्न थाले । कुनैबेला घरमा भनेजस्तो गरी परिवारलाई खुसी दिन नसकेको यो परिवारका सबै दाजुभाइ आआफ्नो पेसामा आबद्ध भएपछि आमाले पनि राहतको महसुस गर्दै गइन् । यही व्यवसायबाट उनले काठमाडौँमा १ करोड १० लाखमा एउटा घर किनेका छन् । नकलबन्दामा लिजा हार्डवयेर खोलेका छन् भने काँकरभिट्टामा लिजा कपडा पसल सञ्चालन गरेका छन् । आफ्नो व्यवसायबाट उत्तिकै सन्तुष्ट छन् उनी । ‘गर्दा हुँदो रहेछ’ आफ्नो अतीतलाई सम्झदै गुरुङले भने, ‘आज यो अवस्थामा आइन्छ होला भन्ने कल्पना समेत गरेको थिइनँ । तर, आमाको आशिर्वाद बुबाको प्रेरणा र कामप्रतिको विश्वासले गरिखान सक्ने भइएको छ । यो सबै देन आमामा जान्छ । जसले सधैँ दुःखमा धैर्य गर्न सक्नु पर्छ भन्नु हुन्थ्यो ।’

यसो त उनी नकलबन्दाका लागि सफल सारथी समेत हुन् । उनको कामप्रतिको इमान्दारिताका कारण समाजले पनि उनलाई साथसाथै अघि सार्न थाल्यो । नकलबन्दाको विकास गर्न कस्सिएका यस क्षेत्रका अग्रजहरूको सहकार्यमा जुजुप्यार प्रधानको नेतृत्वमा गठन भएको नकलबन्दा विकास समाजको नेतृत्व गर्नका लागि उनलाई जिम्मा लगाइयो । गुरुङलाई २०६३ सालमा समाजको अध्यक्षको जिम्मेवारी दियो नकलबन्दाले । त्यसपछि निरन्तर हालसम्म यही समाजको नेतृत्व गरिरहेका छन्, उनले । उनले नेतृत्वमा मात्र गरेनन्, काम समेत गरेर देखाइदिए ।
२०७० सालमा श्रीमद् भागवत पुराणको आयोजना गरे । जसको लक्ष्य यस क्षेत्रमा सुविधा सम्पन्न सामुदायिक हल बनाउने थियो । सुरुमा त सफल भइएला भन्ने उनलाई समेत विश्वास थिएन रे । तर, काम गरेर देखाउँछु भन्ने प्रणका साथ लागेका उनलाई यस क्षेत्रका सबै मानिसले विश्वास गरेर सहयोग गरे । त्यसको केही महिना लगत्तै सामुदायिक भवनको शिलान्यास गरियो र काम पनि सम्पन्न भयो । करिब १७ लाखको लागतमा भवनको निर्माण भयो । अहिले जस्तोसुकै कार्यव्रmमहरू गर्दा पनि यो हलले महत्वपूर्ण साथ दिँदै आएको छ यस क्षेत्रमा । यो कामबाट हौसिएका उनलाई फेरि अर्काे सोच पलायो । नकलबन्दामा एउटा मलामी विश्रामलय बनाउने । अनि उनले कार्यसमितिका साथी र यहाँका अग्रजहरूसँग आफ्नो कुरा सेयर गरे । उनलाई सबैले साथ दिने भने पछि अर्काे पुराणको आयोजना गरियो २०७२ साल फागुनमा । पहिलेको पुराणबाट उपलब्धी भएर विश्वासको पात्र बनेका होमका लागि यो कार्यमा कुनै कठिनाइ भएन । स्वतस्फूर्त आफूले सक्दो सहयोग गरेर पुराण सम्पन्न गरे । जुन उद्देश्य बोकेर काम गरेका थिए, अहिले त्यसमा पनि उनी सफल भए । करिब १२ लाखको लागतमा मलामी विश्रामलयको निर्माण सम्पन्न भएको छ । जसको उद्घाटन यही असोज २१ गर्ने कार्यव्रmम तय गरिएको छ ।

‘काम गर्नलाई सम्पत्ती होइन, मन चाहिँदो रहेछ,’ कुराकानीकै व्रmममा गुरुङले भने, ‘नकलबन्दाबासीसँग धनभन्दा ठूलो मन छ । सबैको साथ छ । यसैले पनि राम्रो काममा जस्तोसुकै कठिन परिस्थतिमा पनि उहाँहरूले साथ दिनु भएको छ । मेरो कुनै स्वार्थ छैन मात्र यति हो, नकलबन्दा समृद्ध भएको हेर्न मन छ ।’

अहिलेसम्म यस समाजमा ५० लाख भन्दा बढीको सम्पत्ती आर्जन भइसकेको छ । कुनै समय मुख्य नाका भएर निकै चहलपहल हुने यो क्षेत्रलाई भविष्यमा बजारीकरण गरेर लैजाने योजना छ उनमा । त्यसका लागि मेचीनगरपालिका र सम्बन्धित क्षेत्रको सहयोगको अपेक्षा गरिएको छ ।

हरेक क्षेत्रमा उत्तिकै व्रिmयाशील उनी मेची निमावि नकलबन्दाको विद्यालय व्यवस्थापन समितिको सदस्य छन् । यस क्षेत्रको शैक्षिक धरोहरका रुपमा रहेको यो विद्यालयको विकासमा पनि उत्तिकै लागि परेका छन् । नकलबन्दा बचत तथा ऋण सहकारीको सदस्य, रोटरी क्लब अफ काँकरभिट्टाका सदस्य र गुरुङ राष्ट्रिय परिषद मेचीनगरको सदस्य रहेका छन् उनी । विभिन्न सामाजिक सङ्घसंस्थालाई समेत आर्थिक तथा भौतिक सहयोग गर्न पछि पर्दैनन् उनी ।

अहिले उनलाई कुनै कुरासँग गुनासो छैन । समाजले साथ दिएको छ । घरपरिवारले सहयोग गरेका छन् । त्यसमा पनि श्रीमती दिपिकाले हरेक सुख दुःखमा साथ दिएकी छिन् । परिवारलाई खुसीसाथ राख्न सकेका छन् । आफ्नो जीवनको ठूलो सपना समेत पूरा भएको सुनाए उनले । पहिले आमाले गरेको दुःखलाई भविष्यमा सुख साथ राख्छु भन्ने सपना आज पूरा भएको बताए ।

२०६२ सालमा दिपिका गुरुङसँग विवाह गरेका उनका २ बहिनी छोरी छन् । जेठी छोरी लिजा काठमाडौँमा अध्ययनरत छिन् । लिजा काठमाडौँको बाबा बोर्डिङ स्कुलको लिटल प्रिन्स हुन् भने राम्रो नृत्यङ्गना समेत हुन् । कान्छी छोरी मेघा काँकरभिट्टास्थित पशुपति बोर्डिङ स्कुलमा पढ्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: