नक्कली विज्ञप्तिको आतङ्क

  प्रकाशित मिति
१२ असार २०७३, आईतवार १०:२६


mohan kajiनागरिक सचेत हुनु पर्छ । जब उनीहरूमा सचेतना आउँछ, तब समाजमा कुरीति, बेथिति र विसङ्गतिपूर्ण गतिविधिले प्रश्रय पाउने छैन । नागरिकहरू ‘सचेत समूह’ वा त्यस्तै ‘सचेत’ शब्द जोडिएको नामबाट सङ्गठित हुनु झनै राम्रो हो । तर, अस्तित्वमा कहिँ नभएको र नरहेको ‘नागरिक सचेत समूह, झापा’को नामबाट जिल्लामा केही दिन यता कीर्ते गतिविधि बढेको छ । उक्त कथित समूहले सञ्चारमाध्यमबाट विज्ञप्ति नै प्रकाशित गरेर स्वास्थ्य जस्तो सम्बेदनशील पेशा र व्यवसाय गरिरहेका समुदायलाई धम्काउने कुकृत्य गरेको छ । यो नक्कली क्रियाकलापबाट स्वयम् नागरिक समूहकै समेत बद्नाम भएको छ ।

नक्कली डाक्टर, दर्ता नभएका हस्पिटल तथा क्लिनिक, म्याद गुज्रेका औषधिको बेचविखन जस्ता अनेकन विकृत दृश्यहरू मुलुकको स्वास्थ्य क्षेत्रमा देखा परेको साँचो हो । सम्बन्धित निकायले यस्ता विकृति विरुद्ध ठूला कार्वाही गरिरहेको छ भने मिडियाले तिनका गलत धन्धाको भण्डाफोर गरिरहेकै पनि छन् । चित्त नबुझेको विषयमा बोल्न र लेख्न पाउने प्रेस स्वतन्त्रता भएको लोकतान्त्रिक मुलुकमा त्यस्ता कार्यको विरोध गर्न भूमिगत ढङ्गले विज्ञप्ति जारी गर्नु पर्ने कसैलाई पनि कुनै जरुरत देखिन्न । सतहमा नआउने तर मिडियामा प्रचारबाजी गर्दै समाजमा आतङ्क सिर्जना गर्ने यस्ता गतिविधिलाई प्रश्रय दिन वा समर्थन गर्न हुँदैन, सकिन्न ।

सचेत नागरिक समूह भन्ने कुनै जमात थियो र उसले राम्रो उद्देश्यले अभियान चलाएको थियो भने उसलाई मुक्ति चोकमा प्ले कार्ड उचालेर ‘हामी नै हौँ सचेत नागरिक समूह’ भन्न कुन असजिलो थियो ? वास्तवमा समूहको नाममा कुनै जालसाजीपूर्ण हर्कत भइरहेको छ । जसले मिडिया र आम नागरिकलाई समेत गुमराहमा पार्ने चेष्टा गरेको छ । मिडिया सत्य र तथ्य समाचार आम जनतामा पुर्याउने माध्यम हुन् । स्वास्थ्य क्षेत्रका विकृति विसङ्गतिका घटना उजागर गर्न सञ्चार माध्यमहरूलाई त्यस्ता नक्कली नागरिक समूहको विज्ञप्ति पर्खिन कुनै जरुरी छैन । जिम्मेवारी लिनका लागि सम्पर्कमै नआउने (कीर्ते कार्य गर्ने) उक्त समूहको विज्ञप्ति छापेकोमा लोकतन्त्र पोस्टले हिजोको अङ्कमा प्रबुद्ध पाठक तथा सम्बद्ध पक्षसँग क्षमा याचना गरिसकेको छ । अब मिडियाहरू पनि षडयन्त्रको रुपमा आउन सक्ने त्यस्ता विज्ञापनबाट सचेत हुनु पर्ने भएको छ । समाचारको पो स्रोत गोप्य राखिनु पर्ने हुन सक्छ, विज्ञापनको होइन ।

(१२ असार २०७३ मा प्रकाशित लोकतन्त्र पोस्टको सम्पादकीयबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: