मेचीनगर प्रमुखलाई अनुरोध पत्र

  प्रकाशित मिति
१० असार २०७५, आईतवार १०:२४


श्री नगर प्रमुखज्यू,
मुलुकमा संबैधानिक गणतन्त्रपछि जनताले तपाईहरुलाई जनप्रतिनिधिको रुपमा चुनेर पहिलोपटक पठाएको पनि एक बर्ष वित्न लागेछ ।

मुलुकमा राजनीतिक सङ्क्रमणको अन्त्यसँगै विकासका लहर आएको देखिन्छ । त्यसपछि पनि आफ्नो तहमा तपाईहरुले सुरु गरेका कल्भर्टदेखि सडक निर्माणको कामले तीब्रता पाउनु स्वाभाविकै हो ।

फेरि पनि तपाईको नगरको दोस्रो परिषद चलिरहेको छ । सरकारको आदेश मुताविक नै असार १५ गतेसम्ममा बजेट विनियोजन गर्नुपर्ने बाध्यता तपाईहरुमा आइलागेको छ ।

जनता चनाखो भएर तपाईले ल्याउने बजेटको प्रतिक्षामा छन् । हामीलाई आशा छ । सञ्चार, शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधार र सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन हुनेछ । बृद्ध–बृद्धाहरुका लागि सरकारले दिँदै आएको सुविधामा नगरले सानो हिस्सा भए पनि थप गर्नेछ । महिला तथा बालबालिकाहरुलाई उत्साहित हुने बजेट आउनेछ ।

चुनावका बेला प्रायः सबै राजनीतिक दलको एजेण्डा बनेको सिमानापारीको मेची गाउँले पनि पुल पाउनेछ । जसले गर्दा हिउँदमा मात्र होइन बर्षातका समयमा पनि त्यहाँका जनताले आफ्नो वडादेखि सदरमुकामसम्म काम गर्न सजिलै सक्नेछन् ।

त्यहाँको स्कूलका विद्यार्थीले शिक्षक अभावमा भारतीय विद्यालय जानुपर्ने छैन । यो सबैको अपेक्षा छ । झण्डै १५० घर रहेको त्यो गाउँमा मेची नदीमा पुल नहुँदा समस्या छ । त्यहाँका जनतालाई पक्की पुल नभए पनि झोलुङे पुल मात्र बनाउन सके पनि ठूलो राहत मिल्नेछ । योपटकको बजेटमै पुलका लागि बजेट विनियोजन हुन सके राम्रो हुनेछ ।
त्यति मात्र होइन अन्य तहको तुलनामा मेचीनगर नगरपालिका सबैभन्दा ठूलो तह हो । जहाँ १५ वटा वडा छन् । यस नगरमा पर्यटकीय सम्भावना बोकेका धेरै स्थानहरु छन् । जस्तै कृष्ण थुम्की, मिनी माउन्टेन, पातालगङ्गा, बाँसबारी सामुदायिक बन, खुट्ट्डाँगी, मागुरमाडी जस्तै अन्य ८ वटा सामुदायिक वन नै छन् ।

ती क्षेत्रहरुलाई ठाउँ अनुसारको विकास गरेर लैजान सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने मात्र होइन आर्थिक रुपले पनि सवल हुने प्रवल सम्भावना छ । त्यसैले बजेटले यी क्षेत्रलाई भुल्दैन भन्ने सबैले अपेक्षा गरेका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारलाई निरुत्साहित गर्ने उद्देश्यले नगरमै स्वरोजगार बन्नेको सङ्ख्या पनि उल्लेख्य छ । जुन नगरमा दुईवटा हाइटेक नर्सरीदेखि स्थानीय क्षेत्रको बाझो जग्गा लिजमा लिएर व्यावसायिक तरकार खेती गर्नेको सङ्ख्या पनि उल्लेख्य छ । त्यस्ता किसानलाई प्रोत्साहनको जरुरी छ ।

मेचीनगर क्षेत्रमा अहिले पनि खेतीयोग्य जमिन प्लटिङका नाममा बाँझै देखिन्छन् । त्यस्ता जग्गालाई उपयोग गर्ने गरी नगरले नीति बनाउन जरुरी छ । बाँझो जमिनमा अनिवार्य बाली लगाउनुपर्ने र खाली रहेमा राजस्व दस्तुर तेब्बर लाग्ने नीति ल्याउने हो भने नगर हराभरा मात्र होइन आर्थिक रुपमा सम्पन्न बन्ने निश्चित छ ।

मेचीनगर जातीय विविधता भएको नगर हो । यहाँ किसानदेखि मेचे, धिमाल, मुण्डा लगायतका अनेकन् जातिको बसोबास रहेको छ । जुन समुदाय नेपालको अन्य जिल्लामा शुन्य छन् । यस्तो परिस्थितिमा मेचीनगरमा जातीय सङ्ग्रहालयको आवश्यकता छ ।

जहाँ यस नगरमा बसोवास गर्ने सबै जातजातिका पहिचान झल्कने कला संस्कृति र भेषभूषालाई मात्र सङ्ग्रह गर्न सक्ने र यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई उनीहरुले चाहेको जातिको कल्चरल कार्यक्रम देखाउन सक्ने हो भने मुलुककै नमूना नगर बन्ने निश्चित छ । त्यसैले यसपटकको बजेटले यस पाटोलाई पनि समेटन् सकेमा सुनमा सुगन्ध हुने थियो ।

नगर प्रमुखज्यू,
मेचीनगर नगरपालिका क्षेत्रमा यतिबेला मानसिक रुपमा समस्या देखिएका मानिसहरुको सङ्ख्या निक्कै देखिन्छ । उहाँहरु सडकमै अलपत्र अवस्थामा भेटिन्छन् । कति दिदी बहिनीहरु त सडकमै बलात्कृत भएर आमा समेत बनिसकेको अवस्था छ । यस्ता असहायहरुका निम्ति नगरमा आश्रय दिने भवन निर्माण गरेर उनीहरुलाई व्यवस्थापन गर्न सके नगरको प्रतिष्ठा सगरमाथा झै चुलिने निश्चित छ । त्यसैले तपाईले ल्याउँदै गरेको बजेटले उनीहरु र उनीहरुको समस्यालाई समाधान गर्न सकोस् ।
मेचीनगर–९, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: