‘नगरबासीलाई सुरक्षित राख्न कोरोनाविरुद्ध युद्धमैदानमै छु’

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १६:५५


लकडाउन अघिको एक सातामा ९३ हजार नेपाली काँकरभिट्टा नाकाबाट घर भित्रिए । लकडाउनपछि नाका सिल भयो, तर मानिसहरु आउन छाडेनन् । ७७ जिल्लाकै नागरिक आउने देशकै ठूलो प्रवेशविन्दुमा मेचीनगरले निकै जोखिम मोलेर कोभिड १९ विरुद्धको लडाईमा आफुलाई होमेको छ । आफ्नै आइसोलेसन कक्ष बनाउने मुलुककै पहिलो नगर बन्ने भएको छ । यही सेरोफेरोमा नगर प्रमुख विमल आचार्यसँग लोकतन्त्र पोस्टका मोहन काजीअर्जुन कार्कीले लिएको अन्तरवार्ता प्रस्तुत छ–

अहिलेसम्म मेचीनगर कोरोनामुक्त छ । सङ्क्रमणको जोखिम न्यूनीकरण र रोकथाम गर्न नगरपालिकाले के कस्ता प्रयास गरिरहेको छ ?

हाम्रो मेचीनगर सीमान्त नगर भएको हुँदा जोखिम ज्यादा छ । अरु नाकामा कोरोना पोजेटिभ देखिएका छन् । तर हामी सबैको उच्च सतर्कता र सामूहिक प्रयासका कारण मेचीनगरमा कोरोना भित्रिएको छैन । यो खुशीको कुरा हो । भारतबाट हजारौं नेपालीहरु यही नगर भएर आफ्नो जिल्लामा जानुभयो । हामीले मुलुकमै सबैभन्दा पहिला नाकामा आउने जानेहरुलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलायौं । लकडाउन हुनुभन्दा पहिले नै काँकरभिट्टामा ९३ हजार जना भारतबाट आएकाको स्वास्थ्य परीक्षण गरिसकेका थियौं । त्यसमा स्थानीय सामाजिक संस्थाका स्यवम्सेवीहरुले प्रत्यक्ष सहयोग पुर्याउनु भएको थियो । लकडाउन सुरु भइसकेपछि नाका सिल गर्यौं । तर भारतमा रेल यातायात चल्न थालेपछि हजारौं नेपालीहरु सीमासम्म आइपुग्नुभयो । उहाँहरुलाई सीमामा अलपत्र बन्न दिएनौं । सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै उहाँहरुलाई काँकरभिट्टा मावि, धाइजन स्वास्थ्य चौकी र आदर्श माविको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा सुरक्षितसाथ राख्यौं । सम्भव भएसम्म आरडीटी, पीसीआर परीक्षण गरायौं । त्यसबेला १५ जनामा आरडीटी पोजेटिभ फेला परेको थियो । तर पीसीआर टेस्ट गर्दा नेगेटिभ आयो । नाका र क्वारेन्टाइनको व्यवस्थापन, लकडाउनको पालना र सचेतना अभिवृद्धिमा हाम्रो ध्यान केन्द्रित भइरहेकै छ ।

सङ्क्रमण देखा परिहाल्यो भने चाहिँ के गर्ने भन्ने तयारी छ कि छैन नगरपालिकासँग ?

कोरोना देखिएन भनेर लकडाउन उल्लङ्घन गर्न थाल्यौं भने जोखिम बढेर जाने हुँदा हामीले नगरवासीलाई सचेत रहन उत्प्रेरित गराइरहेका छौं । अहिले हरेक वडामा आफ्ना वडाबासीलाई सुरक्षित रुपमा राख्न वडास्तरीय क्वारेन्टाइन बनाएका छौं । विदेशबाट आउनु भएकाहरुलाई सरकारले तोकेको क्वारेन्टाइनमा वा होम क्वारेन्टाइनमा नियम पालना गरेर बस्न जरुरी छ । नगरवासीलाई सङ्क्रमणको जोखिमबाट टाढा राख्ने र भारतबाट भित्रिनु हुने ७७ जिल्लाकै नागरिकलाई आफ्नो गन्तब्यसम्म सुरक्षित रुपमा पुग्न सक्ने व्यवस्था मिलाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं । लकडाउनको पालना गराउँदै अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउन नगरपालिकाले समयसारिणी बनाएको छ । जोखिम न्यूनीकरणमा हाम्रा प्रयासहरु मुलुकका लागि उदाहरणीय छन, नमुना छन् भन्ने हाम्रो दावी छ । यतिको व्यवस्था अन्यत्र सायदै होला । आउँदा दिनमा कोरोना देखियो भने हामी कसरी नियन्त्रण र उपचारको अवस्थालाई भरपर्दो तुल्याउने भनेर चरणबद्ध कार्यान्वयनमा जुटेका छौं । आरडीटी र पीसीआर परीक्षणको दायरा बढाउँदैछौं । धाइजन स्वास्थ्य चौकीको क्वारेन्टाइनलाई अपग्रेडिङ गरेर प्राइमरी आइसोलेसनमा रुपान्तरण गर्दैछौं । उपचार गर्नका लागि आफ्नै स्वास्थ्यकर्मीको टिम तयार गर्दैछौं । आवश्यक स्वास्थ्य सुरक्षणका सामग्रीहरुको प्रबन्ध मिलाउँदैछौं । नगरवासीले भोको बस्नु पर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन दिदैनौं, यो हाम्रो बाचा हो ।

पूर्वी नाकाबाट भित्रिएकाहरुलाई पीसीआर टेस्ट नगरी घर पठाइयो । यसबाट जोखिम बढ्यो भनेर नगरवासी त्रसित देखिन्छन् । किन यसो भयो ?

लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीहरुलाई उद्धार गरी गन्तब्यसम्म सुरक्षित रुपमा पुर्याउनु हाम्रो दायित्व हो । काँकरभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनु पर्यो । आफ्नो जिल्ला पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गर्नुपर्यो । बस्नेहरुलाई स्थानीय संस्थाहरुको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाउनु पर्यो । जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँग हामीले समन्वय गरेका छौं । स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनुभयो । नाकामा सुरक्षाकर्मीहरुले रातोदिन खटिएर उद्धार गर्ने र होल्डिङ सेन्टरसम्म ल्याउने व्यवस्था मिलाउनु भयो । ७७ जिल्लाकै नागरिकलाई सहयोग पुर्याउने जिम्मेवारी आउँदा कामको चटारोले सोचेजस्तो हुन सकेन होला । कतिपय काम प्रदेश र सङ्घीय सरकारको जिम्मा भित्रका थिए । एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन । तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौं, भागेनौं । प्रदेश नं. १ मा पीसीआर टेस्टमा क्यु बढेको छ । लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था हुँदैन । कतिपय नागरिकहरुलाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट गर्ने भन्दै पठाइयो । तर अहिले त्यस्तो भएको छैन । सरकारले नै टेस्ट नगरी नपठाउने भनिसकेको छ । तर प्रदेशको पीसीआर मेसिन बिग्रिएको र क्यु बढेको हुँदा चुनौति बढ्दै गएको महसुस भइरहेको छ । भारतबाट आउनु भएकोहरुको सीमामै ठेगानासहितको विस्तृत विवरण टिपेका छौं । उहाँहरु जुन जिल्ला जाने हो त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी विवरण पठाउने काम गछौं । जिल्लाभित्रैको हकमा जुन पालिकाको हो त्यहाँको क्वारेन्टाइनमा पठाउँछौं । तसर्थ, समुदायले त्रसित हुनुपर्ने अवस्था छैन । हामीले सबै काम सुरक्षितसाथ गरिरहेका छौं ।

मेचीनगरले प्रहरीसँगको मिलेमतोमा चेकजाँच नगरी धमाधम मान्छे पठाउँदैछ भन्ने आरोप पनि सुनियो । वास्तविकता के हो ?

यो वाहियात आरोप हो । लेख्ने र बोल्ने छुट सबैलाई छ । कतिपय व्यक्तिहरु आफ्ना कुण्ठा पोख्न जे पायो त्यही लेख्छन्, बोल्छन् । त्यस्तो मिथ्या आरोपको जवाफ दिइरहन पर्छ जस्तो पनि लाग्दैन । नागरिकहरुलाई कसरी कोरोनाको सङ्क्रमणबाट जोगाउने भनेर हामी सबै रातोदिन खटिइरहेका बेला यस्ता वाहियात कुरा सुन्ने र तिनका पछि लाग्ने समय पनि हामीसँग छैन । समाजमा नकारात्मक सोचले भरिएकाहरु पनि हुन्छन् । हामीलाई विचलित बनाउन सक्दैन यस्ता वाहियात आरोपले । नेपाल प्रवेश गर्नेहरुका लागि सरकारले प्रक्रिया तोकिदिएको छ । नाकालाई नगरले होइन, सङ्घीय सरकारको गृह मन्त्रालयले हेर्छ भन्ने नबुझेकाहरुले मात्र यस्तो आरोप लगाउँछन् । यो भ्रम फैलाउने आरोप हो । क्वारेन्टाइनमा लैजाने नियम छ । सरकारले नै आरडीटी नगर्नु, पीसीआर गरेर पठाउनु भनेको छ । पीसीआर टेस्ट सहज र छिटो हुँदैन । पीसीआर गराउन र त्यसको नतिजा आउन पन्ध्र दिन लाग्यो भने मेची पुलमुनि नै नागरिकहरुलाई अलपत्र पार्न मिल्दैन । उनीहरुलाई सुरक्षितसाथ गन्तब्यमा पुर्याउनै पर्छ । हावाहुरी र वर्षाको समय छ । होल्डिङ पोइन्टहरु भद्रपुर, विर्तामोड र शिवसताक्षीमा पनि छन् । होल्डिङ पोइन्टबाट पीसीआर गरेर मात्र गृहजिल्ला पठाउने व्यवस्था मिलाएका छौं ।

प्रदेशमै पहिलोपल्ट मेचीनगर नगरपालिकाले धाइजन स्वास्थ्य चौकीमा आइसोलेसन कक्ष निर्माण गरिरहेको थाहा भएको छ । यो कोभिड अस्पताल नै हो कि के हो ?

कोरोना भित्रिहाल्यो भने के गर्ने भन्ने विषयमा हामी कति गम्भीर छौं र उपायको खोजीमा छौं भन्ने कुराको प्रमाणको रुपमा यसलाई लिन सक्नुहुन्छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कचनकबलबाट लगिएका २७ जना कोरोना विरामीले भर्ना नपाएर रातभर दिसापिसाव समेत गर्न नपाई अस्पतालको गेट बाहिर बिताउनु पर्यो भन्ने समाचार सबैले थाहा पाएका छौं । भोलि समस्या बढ्दै जाँदा उपचारका लागि भर्ना नपाउने अवस्था आउने रहेछ । कोरोना सङ्क्रमितहरुलाई भर्ना नपाउञ्जेल के एम्बुलेन्स, बस वा अस्पतालकै गेटबाहिर राखिरहने हो त ? अवश्य नै त्यस्तो दुःखद् अवस्था नआवोस् भनेर कोभिड अस्पतालकै जस्तो प्राथमिक उपचार पाउने व्यवस्थासहितको प्राइमरी आइसोलेसन कक्षको व्यवस्था हामीले आफ्नै नगरमा गर्न लागेका हौं । ३० बेडको प्राइमरी आइसोलेसनमा कोरोना लागिसकेकाहरुको उपचार गरिने छ । यो धरान र विराटनगरकै जस्तो कोभिड हस्पिटल चाहिँ होइन । तर चेकजाँच र उपचार चाहिँ प्राइमरी आइसोलेसनमा पनि हुन्छ । यहाँ नगरकै स्वास्थ्यकर्मीको टिमले उपचार गर्नेछन् । अक्सिजनको व्यवस्था हुनेछ । अहिले नै आइसीयु र भेन्टिलेटर हुनेछैन । मेचीनगरमै आइसोलेसन बनाएनौं भने भोलिका दिनमा नगरवासीको स्वास्थ्य सङ्कटमा पर्छ कि भनेर बेलैमा हामीले बेलैमा काम अघि बढाएका हौं ।

धुलावारीको मेची आम्दा अस्पतालमा कोभिड अस्पताल बनाउनु पर्ने नागरिक समुदायबाट माग आएको छ । नगरले यस विषयमा के सोचिरहेको होला ?

नगरबासीकै तर्फबाट आएको सुझावलाई हामीले सकारात्मक रुपमा लिएका छौं । अहिलेको सङ्कटको सामना गर्न नगरपालिकाले नगरवासी सबैसँग सहकार्यको हात बढाएको छ । काँकरभिट्टा सोसाइटीले निःशुल्क खानाको व्यवस्था मिलाइदिएको छ । विभिन्न अभियानहरु सञ्चालन भएका छन् । कसैले असहायहरुलाई खानाको प्याकेट पुर्याइदिने गर्नु भएको छ । सच्चा सेवाको भावनाले अघि बढ्नु भएका नगरवासीप्रति हामी कृतज्ञ छौं । कोरोनाको महामारी आगामी दिनमा छिटै सकिएला जस्तो छैन भनेर विज्ञहरुले भनिरहनु भएको छ । अहिले हामीले धाइजनको स्वास्थ्य चौकीलाई आइसोलेसन बनाउँदैछौं । त्यसले मात्र हाम्रो आवश्यकता पूरा नहुन सक्छ । त्यसबेला हामीले मेची आम्दा अस्पताललाई कोभिड अस्पतालका रुपमा नागरिकहरुकै सुझाव अनुसार लैजाने कार्ययोजना बनाएका छौं । कोभिड अस्पताल भन्ने र सोच्ने वित्तिकै बनिहाल्दैन । प्रदेश सरकारसँग पनि हामी सल्लाह गर्दैछौं । डाक्टरहरुको समूहसँग पनि कुराकानी गरिरहेका छौं ।

नगरको आउँदो बजेटका प्राथमिकताहरु के के होलान् ?

स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी जस्ता विषय नै हामीले प्राथमिकतामा राखेका छौं । महामारीका बेला विदेशबाट घर आउनु भएका युवाको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीबाट शिप सिकेकाहरुलाई स्थानीय उद्योगधन्धामा रोजगारी दिलाउने र भारतीय कामदारहरुलाई विस्थापित गर्दै लैजाने हाम्रो योजना छ । बजेटले यस्ता विषयलाई अवश्य समेट्नेछ । अहिले स्वास्थ्यमा धेरै ध्यान दिनु पर्नेरहेछ भन्ने सबैलाई अनुभूति भएको छ । मेची आम्दा अस्पताल भएर पनि राम्ररी सञ्चालन हुन सकेको छैन । उपचारका लागि सकभर बाहिर जानु नपरोस् भनेर स्थानीय सरकारले ध्यान दिनु पर्ने अवस्था छ । राज्यले नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मेवारी लिनुपर्छ । विदेशतिर पनि यो सिस्टम छ । गरीव र विपन्न वर्गको स्वास्थ्य बिमा गरिदिनु पर्ने आवश्यकता छ । स्वास्थ्यमा नगरपालिका नयाँ नीति र योजनाका साथ अघि बढ्नेछ । कोरोना भाइरसको महामारीले हामी सबैलाई पछिसम्म सोच्न बाध्य बनायो । सरकारले २ प्रतिशत जनताको पीसीआर टेस्ट हुनुपर्छ भनेको छ । हामी त्योभन्दा धेरै नगरवासीको पीसीआर टेस्ट गर्ने योजना मिलाउँदैछौं ।

तपाईले केही काम गर्नै सक्नु भएन, नेतृत्वदायी भूमिका देखिएन भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । कहिलेकाहि त्यस्तै हो कि जस्तो लाग्दैन ?

म नगरवासीको सेवा गर्न मतदाताबाट चुनिएर आएको व्यक्ति हुँ । नगरपालिकाको मेयरको कुर्सीमा जनताको हितमा काम गर्न बसेको छु । जनताको सेवकको रुपमा मैले आफुलाई ठानेको छु । भ्रष्टाचार गर्दिन र गर्न दिन्न । मैले निर्वाचित भइसके पछि आफुलाई पार्टीको घेराभन्दा माथि उठाएको छु । भोट दिने र नदिने भनेर म विभेद गर्दिन । सबै आस्थाका नगरवासीको निस्वार्थ सेवा नै मेरो अभिष्ट हो । घर, व्यवहार, व्यापार आदि मेरा लागि प्राथमिकतामा रहेनन् । नगरपालिकाको काममा जतिबेला पनि तल्लीन छु । कसरी नगरको विकास गर्न सकिन्छ, नगरबासीलाई सुविधा पुर्याउन सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ । यस्तो बेला केही व्यक्तिहरुले केही गरेन यो मेयरले भन्दै गोयवल्स शैलीमा होहल्ला चलाइरहेका छन् । केही मिडियाका व्यक्तिहरु पनि जहिल्यै नकारात्मक कुरा मात्र लेखिरहन्छन् । नगरवासीमा निराशा बढाउने, जनप्रतिनिधिहरुको मनोवल गिराउने, अपमानजनक शब्द प्रयोग गर्ने, हुँदै नभएका कुरा कथुरेर नगरवासीमा भ्रम छर्ने जस्ता नकारात्मक प्रवृत्तिमा मात्र नलागिदिन म आम सञ्चारकर्मी साथीहरुलाई अनुरोध गर्दछु । सङ्कटको बेला, महामारीका बेला मिडियाले नागरिकमा चेतना जागृत गर्ने, कोरोनाविरुद्धको मनोबल उकास्ने, कमजोरी भएको रहेछ भने खबरदारी गर्ने, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्ने कार्य गर्नु पर्ने हो । केही व्यक्तिगत आग्रह र स्वार्थ छन् भने त्यसलाई थाती राखेर कोरोनाविरुद्ध मिलेर लड्ने बेला हो अहिले । मिडियाको भूमिका नगरवासीले पनि हेरिरहेका हुन्छन् । हाम्रा काम पनि नगरवासीले मूल्याङ्कन गरिरहेका हुन्छन् । एकोहोरो काम भएन कि भएन, केही गरेन कि गरेन भनेर दुष्प्रचार गर्ने कार्यप्रति हामीलाई आश्चर्य लागिरहेको छ । आपसी बेमेल बढाउने, अविश्वास सिर्जना गरिदिने, अफवाह फैलाउने र अराजकतालाई उकास्ने कार्य नगरिदिनु हुन म आग्रह गर्दछु । स्वस्थ र रचनात्मक आलोचनाको म सदैव स्वागत गर्दछु । मेचीनगर नगरपालिका अभिभावक संस्था हो । संस्थाप्रति नै घृणा फैलाउने काम राम्रो होइन ।

कोरोना त्रास फैलिन सुरु भएका बेला काँकरभिट्टा नाकाबाट नेपाल भित्रिरहेका नेपाली ।

कोरोनासँग जुधिरहेको बेला तपाई आफ्नो व्यस्त समयलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

मैले पीसीआर टेस्ट गरें । तर मलाई कोरोना लाग्ला भन्ने कुरासँग कुनै डर छैन । मेयर कहिँ कुद्नु छैन उसकै चाहिँ पहिला किन टेस्ट गरेको भन्नेहरु पनि देखिए । यस्ता भनाई पनि विरोधका लागि विरोध मात्र हुन् । म नै जनताबाट टाढा बसें, कोरानासँग डराएर घर बसें भने कसले गर्छ नेतृत्व ? जनताको सुरक्षाका लागि म जस्तोसुकै जोखिममा पनि जानु पर्छ । क्वारेन्टाइन पुग्नुपर्छ । होम क्वारेन्टाइनमा बसेकाहरुसँग गला मिलाएको छु । मनोबल उकास्न र गाउँलेले विभेदपूर्ण व्यवहार नगरुन् भनेर घरसम्मै पुगेको छु । मलाई मेरो बारेमा डर छैन । मलाई नै पहिला कोरोना लाग्छ भने लागोस्, नगरवासीलाई सुरक्षित कसरी बनाउने भन्ने कुरा मेरो पहिलो प्राथमिकताको विषय हो । रातिसम्म नगरपालिकामा बसेर काम गरिरहेको हुन्छु । खाना खाने र नियमित औषधि खाने टुङ्गो छैन । अहिले युद्धमा खटिएको सिपाही जस्तै भएको छु । कोरोनालाई परास्त नगरी मैले युद्धमैदानबाट छुट्टी लिने छैन ।

लकडाउन लम्बिदै गएको छ । होटल व्यवसायीहरु भाडा तिर्न नसकेर छुट मागिरहेका छन् । बैङ्कको व्याज तिर्न सक्ने अवस्था छैन । नगरपालिकाको यसमा कुनै जिम्मेवारीबोध हुँदैन ?

कतिपय विषय हाम्रो नगरपालिकाको दायराभित्र पर्दैनन् । जस्तो कि बैङ्कको व्याज मिनाहा गर्ने हाम्रो दायराभित्रको विषय होइन । कोठा भाडा छुटको विषयमा केन्द्रीय सरकारले पटकपटक छुटका लागि आग्रह गरिरहेकै छ । यसलाई कार्यान्वयन गर्नका लागि हामी समन्वय गर्छौ । मुलुकलाई चाँडो कोरोनामुक्त बनाउन सकियो भने नेपालमा पर्यटकको आगमन बढ्नेछ । त्यसो भए मात्र हाम्रा होटल, यातायात, पर्यटकीय स्थलहरु भरिभराउ हुनेछन् । घर बहाल र व्याज छुटका लागि हामी चाँडै समन्वय गछौं । कोरोनाको लामो असर पर्यटन र त्यसको पनि होटल व्यवसायमा पर्ने देखिएको छ । यसलाई कम गर्न हामीले होटलहरुलाई पेइङ क्वारेन्टाइनको रुपमा प्रयोग गरौं भन्ने प्रस्ताव ल्याएका छौं । होटलका कोठाहरु खाली छन् । त्यहाँ खाने र बस्ने राम्रो प्रबन्ध छ । पेइङ क्वारेन्टाइन सञ्चालन हुन सक्यो भने होटल व्यवसाय नयाँ ढङ्गले माथि उठ्न सक्छ । रोजगारी सिर्जना हुन्छ ।

सरकारी स्कुलमा क्वारेन्टाइन छन् । तर निजी स्कुलहरुले भर्ना खोल्ने मिति तोकिसके । जेठ २१ देखि निजी स्कुलले भर्ना सुरु गर्लान् र असार १ गतेदेखि सरकारी स्कुलमा पढाई होला त ?

तत्काल स्कुल खुल्ने र भर्ना सुरु हुने सम्भावना छैन । कोरोनाको जोखिम न्यून नभएसम्म स्कुल भर्ना र सञ्चालनका लागि हामी अनुमति दिन सक्दैनौं । किनकि अहिले स्कुल खोल्दा सङ्क्रमण फैलिने जोखिम बढ्छ ।

नगरपालिकाले अहिलेसम्म प्रवक्ता तोक्न सकेको छैन । किन होला ?

यो विषय धेरै पुरानो भइसक्यो । आधिकारिक सूचना प्रवाहका लागि सूचना अधिकारी तोकेका छौं । कोभिड १९ सम्बन्धी सूचना दिने व्यक्ति पनि तोक्दैछौं । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले चाहिएको जानकारी दिएकै छौं । जहाँसम्म प्रवक्ता नतोकिएको सवाल छ, यसमा राजनीतिक विषय जोडिन्छ । मेयरको धारणासँग प्रवक्ताको धारणा मिल्नुपर्छ भन्ने मलाई लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: