दमक । झापामा चिकित्सकको सल्लाह विना नै एन्टिबायोटिक औषधि सेवन गर्नेको सङ्ख्या दिनानुदिन बृद्धि भइरहेको छ । सामान्य रुखा, खोकी, ज्वरो आउँदा डाक्टरको सल्लाह विनै एन्टिबायोटिक औषधि सेवन गर्नेको सङ्ख्या बढेको हो । सामान्य समस्या आई अस्पताल जाँदा डाक्टरले आवश्यक भन्दा बढी चेकजाँज गर्न लगाउने हुँदा औषधि पसलमा गएर औषधि सेवन गर्ने गरेको दमकका स्थानीय कपिल दङ्गालले बताए ।
‘खोकी लागेको हुन्छ तर रगत जाँचदेखि भिडियो एक्सेरसम्म गर्न लगाउँछन् डाक्टरले,’ उनले भने, ‘हामी जस्तो पैसा नहुनेले डाक्टर देखाउनु भन्दा औषधि पसलमा गएर रोग बताउँदै औषधि माग्दै खानु बेश हुन्छ ।’
दमकस्थित हिमाल फार्मेसीका सञ्चालक दिपक भट्टराईले झन्डै ७५ प्रतिशत बिरामीले डाक्टरको प्रेसकिप्सन विनै एन्टिबोयोटिक औषधि प्रयोग गर्ने गरेको बताए ।
उनले चिकित्सकलाई देखाएर औषधि खान सल्लाह दिँदा बिरामीले उल्टै कमिसन लिन त्यस्तो सल्लाह लिएको भन्दै आलोचना गर्ने गरेको समेत सुनाए ।
सञ्चालक भट्टराईले आफूले चिकित्सकको प्रेस किप्सन विना औषधि नदिएमा बिरामी अर्को फार्मेसी गएर औषधि किन्ने गरेको बताए ।
विरामीले चिकित्सकको सल्लाह विना जथाभावी एन्टिबोयोटिक औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने दमक अस्पतालका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले बताए । उनले विरामीलाई जस्तोसुकै समस्या आए पनि चिकित्सकलाई देखाएर मात्र एन्टिबायोटिक औषधिको प्रयोग गर्न सुझाव दिए ।