नबदलिने नेतृत्वलाई अब विदा ः शर्मा

  प्रकाशित मिति
२६ माघ २०७४, शुक्रबार १०:२४


विर्तामोड । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफैलाई बदल्न नसक्ने नेतृत्वले विदा लिनु पर्ने धारणा व्यक्त गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य शर्माले प्रवक्तामा नियुक्त भएपछि पहिलोपल्ट बिहीवार झापामा पत्रकार सम्मेलन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।
‘जो बदलिन्छ तिनले नेतृत्व लिने छन्’, पार्टीका जिल्ला सभापति उद्धव थापा लगायतका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले जोड दिएरै भने–‘नबदलिने नेतृत्वले लिन त लिन्छ, तर विदा लिन्छ ।’

आफ्नो पत्रकार पृष्ठभूमि र झापाको उच्च राजनीतिक महत्व दर्शाएर बोल्न सुरु गरेका शर्माले हालैको स्थानीय तह, प्रदेश र सङ्घीय चुनावको परिणामले काङ्ग्रेसलाई रुपान्तरण हुन जनादेश मिलेको बताए ।

बाम गठबन्धन र चुनावी परिणामप्रति बोल्न पत्रकारहरुले गरेको आग्रह स्वीकार गर्दै काङ्ग्रेस प्रवक्ता शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीको खुबै प्रशंसा गरे ।

शर्माले ओलीको नेतृत्वमा बन्न लागेको बाम गठबन्धनको सरकारका लागि वत्र्तमान देउवा सरकारले मार्ग प्रशस्त गरिरहेको जनाउँदै ओली सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न शुभकामना व्यक्त गरे ।

उनले नेकपा एमाले र माओबादी केन्द्रले चुनावमा एउटै चुनाव चिह्न प्रयोग नगरे पनि एउटै घोषणा पत्रका आधारमा सहकार्य गरेको हुँदा अब एउटै कम्युनिस्ट पार्टी बनाएर अघि बढ्न शुभकामना दिए ।

‘एउटै पार्टी बनाएर जानु राम्रो हो’, काङ्ग्रेस प्रवक्ता शर्माले पार्टी एकीकरण हुन नसक्दाको सकस व्यहोरिरहेका बाम गठबन्धनका दुबै घटकलाई सुझाव दिदै भने–‘अहिले कथाको माग पनि यही हो ।’

केन्द्रीय समितिको अब बस्ने बैठकले महासमितिको बैठक तय गर्ने र महासमितिले काङ्ग्रेसको रुपान्तरण कस्तो र कसरी भन्ने प्रश्नको प्रष्ट खाका कोर्ने उनले जानकारी दिए ।

होटल विनायकमा भएको पत्रकार भेटघाट कार्यक्रमको सभापतित्व नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईले गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्घका सचिव राजेन्द्र गौतमले गरेका थिए ।

सो अवसरमा काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्व उपसभापति देउमान थेबे, महासमिति सदस्य भगिरथ पोद्दार, जिल्ला सदस्य पुष्प पौडेल, दिपक तामाङ, किरण खनाल लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: