नभत्काऊ सपनाहरु

  प्रकाशित मिति
२२ जेष्ठ २०७३, शनिबार १०:०९


gn

अदालतको आँगन र अधिवक्ताका कानूनी परामर्श केन्द्रमा विभिन्न खाले विवादसँग सम्बन्धी मुद्दा मामिलाको बहस र चर्चा त चल्छ नै र, ती परिसरमा चल्ने चर्चाको विषय पनि पक्ष–विपक्षका जिकिर र जिद्दी नै हुन् ।

तर, विविध विषयका मुद्दाहरूबीच अहिले भावनात्मक सम्बन्धको मामिला अलिक धेरै बढेको पाइन्छ । हो, भावनालाई कानूनसँग दाँज्न त सकिदैन परन्तु अन्तिम निकासका लागि प्रेमको ज्वाला कानूनका धाराले निभाउनुपर्छ । अर्थात चर्चा हो ‘सम्बन्ध विच्छेद’ को ।

एउटा प्रेममय आनन्द जीवनको ममतामयी यात्रामा अनयासै आँधी चल्छ सपनाको चाङ गल्र्याम्म ढल्छ । नदीले किनारसँग सरोकार राख्दैन अनि कोही बीचमै कोही, कोही मझधारमा अथवा रङ्गीन सपनाको दुनियाँमा सल्केको झिल्कोले ज्वालामुखीको रुप धारण गर्छ, सपनाका महलहरू ध्वस्त बन्छन्, जल्ने महल र जलाउने आगो दुवैको अवसान हुन्छ, रहन्छ त सिङ्गो शुन्यता ।

अक्सर एउटा साथीसँग अर्काे साथीको भेट संयोग र सल्लाहले नै हुन्छ । सुस्तरी त्यो भेटसँगै मित्रता, ममता र आत्मीयता पनि बाक्लिदै जान्छ । सुरु हुन्छन् जीवनका सपनाहरू जन्मन, नछुट्टिने जूनीजूनीका बाचा कसम अनि जोडिन्छ एउटा ‘नाता’मा यस्तै थुप्रै प्रेम, बाचा र जीवन यात्राको समुच्च रुप र बन्छ एउटा घर ।

दैवलाई नै इष्र्या लाग्ने जस्ता देखिने थुप्रै जीवन यात्राहरू अवरुद्ध बनेको असफल यात्रीका आ–आफ्नै कथा उनीहरूका मनमा मात्र होइन त्यो यात्राबाट आफु हट्ने घोषणाका लागि अहिले अदालतका ढोका र वकिलका ल फर्म जानेको सङ्ख्या कम छैन ।

वर्षाै अघिको मिलनको पल, सपनाको जीवन देउरालीका बाचा अहिले आक्रोश र घृणामा परिर्वतन भइसकेकाले नै भन्नुपर्छ सम्बन्ध विच्छेदको आँतुरतामा प्रतिक्षारत यात्रीहरू एकले अर्कालाई अपराधीको रुपमा हेर्छन् ती नै आँखाले जून आँखाको नानीमा ‘मात्र तिमी’ देख्छु भनेर हिजै मात्र एकले अर्कालाई प्रेमको सबुद दिन्थे ।

संसार एकापटि तिमी एकापटि भन्दा तिमीलाई नै माग्छु भन्नेहरू नै अहिले आधा अंशको कुरा गर्छन् । म मरौला तर तिमीलाई बचाउँछु भन्नेहरू नै यो मरे मरोस्, छोरा मलाई चाहिन्छ भन्छन् । जव मान्छेका फट्टिक मनहरूमा स्वार्थ र शङ्काको प्रेतात्माको प्रवेश सुरु हुन्छ होला मनसँग मनको द्वन्द्वको सुरुवात बढ्छ र नै जीवन यात्राका अविरल यात्रीहरू अलपत्र पर्छन् होला आफ्ना साझा सपनाहरूसँगै ।
सम्मानित अदालतका श्रीमान्ले जीवन यात्राका यात्रीहरूको सँगै यात्रा गर्न नसक्ने फैसला सुनाइरहँदा । ती यात्रीहरू आफ्नो कानले त सुन्न सक्लान् तर के मनले पनि सुन्न सक्छन् होला ? होला पारिवारिक अन्तरकलहको आक्रोसबाट हुर्केको घृणाको राँकोबाट उनीहरू दुवै टाढा रहन त खोज्छन् नै तर मनसँग मन मिलेको दिन ती नै मनले सम्झन सक्छन् होला त ?

हो, कानूनी रुपमा एकले अर्कालाई हराए भन्न सक्लान्, एउटाले हार्ला, अर्काले जित्ला तर यो जितले मानवीय पक्षलाई अर्थात मान्छेको भावनालाई पनि जितेको हुन्छ र ? सिङ्गो रुपमा जीवन एउटा आकारको समुच्च रुप भए पनि शारीरिक अङ्गभन्दा पनि जीवन भोगाइका पाटा र पत्रहरू अनगिन्ती रुपमा रहेका छन् । यी हाम्रा जीवन भोगाइका पत्रहरू मुख्य गरी दुईवटा होलान्–आँशु र हाँसो भित्रकै तरेलीबाट जीवनको सुरु अर्थात उद्घाटन र अन्त्य समापन हुन्छ ।

तर निरन्तर चलिरहेको श्रीमान, श्रीमती भनौँ या जीवन साथीको यात्रा अधुरो हुनुको मुख्य कारण एकले अर्कालाई नबुझ्नु, नबुझाउनु, बुझेर पनि नबुझे झै गर्नु, शङ्का र स्वार्थ नै हुन् । विश्वासको सङ्कट, दृष्टिकोणमा दोष जस्ता आफुले सहज ढङ्गले समाधान गर्न सक्ने सामान्य कुराको झिल्कोले एउटा घर नै तहस नहस हुन्छ, सपनासँगै जीवन लथालिङ्ग र भताभुङ्ग बन्न पुग्छ अनि अधुरो बन्छ । यात्रा र अलपत्र बन्छन् यात्री ।

यो समस्या हाम्रै समाजको हो, हाम्रै घर को हो, अनि हामी भित्रकै हो । सामान्य आन्तरिक जीवनको एउटा सानो समस्याको कुरुप चित्र अन्त्यमा गएर मनदेखि मन भाँच्ने, मान्छेदेखि मान्छे टाढा बनाउने अकल्पनीय दारुण कथामा परिणत भइदिन्छ अनि एउटा सुखद जिन्दगीको रफ्तार बन्न पुग्छ विरक्तिएको कथा पात्रको चरित्र जस्तो ।

साँच्चै गजबको छ हामी मान्छेको जीवन कथा । मिलन, विछोड, आँशु, हाँसोको सङ्गममा अनवरत् चक्र बनेर फन्को मारिरहेको छ । सँगै बाँच्ने र सँगै मर्ने सपथहरू कानूनका केस्रासँग मिल्न पुग्छन्, अनि भत्कन्छन् हिजोका ती एक मुटु र एक स्पन्दनले ढुकढुक गरेका मनहरू । तर, ‘डिभोर्स’ शब्दको उच्चारण जति गजविलो ढङ्गले गर्न सहज हुन्छ त्यसलाई भावनासँग लगेर मिलाउन उतिनै कष्टकर पनि छ । फैसलामा एकले अर्कालाई हराएर आफुले जिते झैँ लागे पनि वास्तविकता यस्तो नै हुन्छ होला ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: