नमस्ते, नागरिक र पुलिस

  प्रकाशित मिति
१६ चैत्र २०७३, बुधबार ११:२१


Design-2-1
केही दिनअघि सामाजिक सञ्जालको भित्तोमा पीडित मनसुवाको एक कथनरुपी प्रश्न लेखिपठाएँ । कथन थियो, ‘नागरिकको हित, सुरक्षा, मर्मादिबारे पुलिसको केही पनि दायित्व हुँदैन ? कि पुलिस पनि केवल खाइखलासीमै ठेगान लागेका हुन् ?’ कथनको तात्पर्य, अन्तर्य र गुह्य अर्थको सोधखोज गर्दै केही मित्रजनको लाइक आयो । कथनप्रति मन्दमन्द कमेन्ट पनि आए । र, कथनको उद्देश्य र आवश्यकताको अर्थ सञ्जालमै सीमित बनेर शनैःशनैः परालको आगोझैँ निभ्यो र सेलायो । तर, मनको खातमा पैदा भएर उर्लिएका ज्वारभाटा भने मनमष्तिष्कमा जिउँका तिउँ नै बसे । ती सेलाउन सकेनन् । र, फेरि पनि प्रश्न उठ्यो । प्रजा, रैती र जनताको किस्तावन्दी रनभुल्लमा घन्टीको रालोझैँ लिन्ठिङ–लिन्ठिङ हल्लिइरहेका ‘हामी’ आखेरमा सच्चा नागरिक चाहिँ कहिले बन्ने ?
प्रसङ्गको सिलसिला सुरु हुन्छ सार्वजनिक यातायातमा काठमाडौँदेखि सुदूर काँकरभिट्टासम्मको यात्रााको । यात्राका कठिनाइ र त्रासदीका दलदलमा गुज्रेको समयको । र, प्रसङ्ग, दलन, लापरवाही र गैरजिम्मेवारी यातायातको हो । बेलुकी चारबजेको रात्रीसेवामा उत्रेको नमस्ते नाउँको पत्रु डिलक्समा भएको यात्रा थानकोटदेखि केही तल आएर घन्टौँ थन्कियो । जामका पट्यारलाग्दा सास्ती खेपेर थाकेपछि बल्ल आधा घन्टा अघि स¥यो । र, पुनः नेपाली सडकमा हुने विश्वविख्यात जामले फेरि छेक्यो र घ्याच्च रोक्यो । रोकिनु, गुड्नु, घ्यार्रघ्यार्र गर्नु, चल्नु, फेरि रोकिनु, हल्लिनु त मुग्लिन सडकखण्डको पुरानै चर्या हो । बबुरो नमस्ते, हायलकायल यात्रु र सडकको अकल्पनीय दुर्दशामा रात्रीसेवा झन् छिप्पिँदै गयो । बस् विक्षिप्त मनोदशामा ।

मुग्लिन काटेर अघि बढ्न नमस्तेलाई महाभारत भइरहेथ्यो । साहुजी आफैँ कन्डक्टरको भूमिकामा थिए । उनी घरीघरी मलिन यात्रुलाई हेर्थे, घरीघरी सडकका निरङ्कुश मोडलाई र घरीघरी भने निजी धुनमा व्यस्त स्टेरिङ घुमाइरहेको चालकलाई । मुग्लिन नकाट्तै नमस्तेको गर्भबाट अर्को उदेकलाग्दो सुस्केरा निस्कियो । बस पुनः घ्याच्च रोक्यो । र, हैरानीपूर्ण भावमा कन्डक्टर रोलवाला साहुजीले ओठ लेप्राउँदै सुनाए, लौ, टायर पङ्चर भो । अब डेढ घन्टा जति लाग्छ ।
राजधानी र पूर्व तथा राजधानी र पश्चिमका सडकखण्डले यात्रुलाई यात्राको आनन्द दिन त परै जाओस्, मृत्यु र जीवनसँग पो बेस्मारी जुधाइरहेको हुन्छ । मानौँ, गन्तव्यमा नपुगुञ्जेल यात्रु आफ्नो धरातल बिर्सेर जीवनको सकुशलता चिताइरहन्छन् । र, नेपाली सडकहरु अजान रुपले यात्रुको मृत्यु चिताइरहन्छन् । म गम्भीर भएँ, आज पनि नेपाल र नेपालीका हरेक पदचारमा किन यति बिघ्न त्रास तथा जोखिम व्याप्त छन् ? के नेपालमा यी त्रास र जोखिमहरु केवल सडकमा मात्रै छन् त ?

खल्तीबाट मोबाइल झिकेर समय हेरेँ । पौने चार बजेछ । नमिठो गरी नमस्ते बिसाएको थियो । झ्यालको पर्दा यसो उघारेर बाहिर नियालेँ । र, सँगै बसेको वैदेशिक रोजगारवाला साथी जो सुदूर पूर्व धुलावारीको थियो, उसलाई कोट्याउँदै भनेँ–‘हेटौँडा आइपुगिएछ साथी ।’ साथीले परित्राणको एक गहकिलो उछ्वास छोड्यो । आङ मरक्क तान्यो । र, आँखा चिम्म गरेर सिटमा ढल्कियो ।
न भात न पानी, न शौच न सुची, न नीद न स्फुर्ति । न त भारदह तिरका बूढा बाजेहरुको पेडा नै । सुनसरीको झुम्काको एकघन्टे हडतालले समेत आजितलाग्दो बनाउन सघाउ पु¥याएको यस यात्रालाई नमस्तेले मरीतरी बिर्तामोड ल्याइपु¥यायो । बेलुकीको ठीक अढाई बजेको थियो । सुदूरपूर्व काँकरभिट्टाको गन्तव्य बोकेर हिँडेको नमस्तेभित्र त्यस्तै दस यात्रु बाँकी थियौँ । जे होस्, दिङमिङ भइरहेको मनमा तेइस घन्टाभरिमा गृह प्रवेश र स्वच्छताको आसले केही हलुकोपन छाएथ्यो । तर अकस्मात्, नमस्ते नाउँको डिलक्स मोडियो इलाका प्रहरी कार्यालय विर्तामोडको नाकै अगाडिबाट दक्षिण भेगतिर । करिब तीन किलोमिटर भित्र पसेर नमस्ते मजाले थन्कियो र सीलस्वभाउ देखायो । उसले थपक्क पछाडिको ढकनी उघा¥यो, अडेस लगायो र नजिकैको घरभित्र थुपारेका सुपारी र छुर्पीले भरिएका जुटका बोरा बिन्दास ओसार्दै हाल्दै गर्न थाल्यो ।

जब अति भो, नमस्तेको त्यस साहुरुपी राहुलाई नजिक डाकेँ र भनेँ, ‘ओ मिस्टर साहुजी, सडकका अनेक अवरोध, जाम, टायरको मर्मत, तिम्रो डिलक्स चालकको अदलबदल, पाँच मिनेटवाला सुसु, झुम्काको हडताल यी सबै कुरा त हाम्रो यात्राका नसीब नै थिए, भैगो । तर, तिमी यो सब यहाँ के गर्दैछौ भाइ ? पहिला हामीलाई हाम्रो ठाउँमा अनलोड गर न । त्यसपछि आएर तिमी यो सब लोड गर्न सक्छौ । कमसेकम हामी पीडित, थकित र आजित यात्रुको मनोदशा बुझ्ने कोसिस त गर । मेरो शान्त र सभ्य कथन नमस्ते–साहुको राहुजन्य यो कानले सुन्यो र त्यो कानले उडायो । तब, म आक्रोसित भएँ ।

‘ओए मनमुजी खलासी ! तँ हामीलाई खुरुक्क ठाउँ मा पु¥याउँछस् कि तेरो हर्कतको जाहेरी दिउँ ? भन्, म कम्प्लेन गरुँ ? पख्, तँलाई दलाहा ।’ साहुलाई आवेगमा मैले खलासी नै बोलाएँ । ‘दाई, नरिसाउनु न । हिँड्नुस् न, बरु चिया खाउँ ।’ राहुले मेरो हातै समात्यो ।

‘छोड्, म अब तेरो चिया खाएर बस्छु ? तँ कतिलाई चिया ख्वाउँछस् ? म एक्लैले तेरो चिया खाएर हुन्छ ? गाडी तेरो होला । तर, तेरो गाडीमा चढ्ने हामी, सार्वजनिक यात्रु हो कि होइन ? तँ चाहिँ नुहाएर सनक्क सुकुलगुन्डोझैँ निस्कन्छस् ? अनि चौबीस घन्टा बित्दा पनि म जथाभावी तेरो चिया खाएर बस्ने ? तँ मनमौजी हुने मान्छे बोकेर ? खुरुक्क हामीलाई ठाउँमा पु¥या । छोड् ।’ उसको हात झड्कार्दै फालिदिएँ । र, खल्तीबाट मोबाइल झिकेँ ।

साहुरुपी राहुले टेरेन । उसको पिना सुकिइरह्यो, काग कराएको बाल मतलव भएन । आफ्नो कारणले यात्रुले दुःख पाए भन्ने उसलाई आभाष हुनु त कता हो कता, उल्टै काठमाडौँ लाने माल पो लोड गरिरह्यो ।

सोचेँ, आफूलाई विना कारण कसैले हेपेको, दलनमा पारेको र शोषण गरेको कुरा कसलाई भनूँ ? पुलिसलाई, यातायातलाई, ट्राफिकलाई, पत्रकारलाई वा कसलाई ? नागरिकलाई मतलव बिनै दुःख दिनेलाई चेतावनी स्वरुप कारबाही हुनैपर्छ । र, हरेक नागरिकको आवाज, नागरिकको हितार्थ खटिएका निकायले सुन्नैपर्छ । बस्, फोन लगाएँ ।

‘हल्लो असइसाप्, याँ एउटा कुरो प¥यो । ७९३५ वाला नमस्तेले फोकटमा दुःख दिरा’छ ।’ मैले सविस्तार सुनाएँ । असइले पनि सविस्तार सुने । मैले नागरिकको पीडाको आवाज, दुहाई र गुहारको सुनुवाइ हुन्छ भन्ठानेँ । असइले के ठाने थाहा भएन । कोही आएन । र, फेरि फोन गरेँ ।

‘एसपी दाई, मैले भन्देको त थिएँ, र तपाईँको नम्बर पनि टिपाको थिएँ ।’ असइको आवाज र अर्थ बुझ्न मलाई गाह्रो भएन । लाग्यो, न चोरीचकारी, न डकैती, न हत्या, न मालको हिनामिना । पुलिस किन आउनु ? जाबो नागरिकको जीवनमा कसैले अकारण ठट्टा गर्नु र भावनामा खेलवाड गर्नु पनि कुनै अपराध हुन्छ र ? अपराध त यस्तो होस् न, जसमाथि खेलेर पुलिसको खाइखलासी जागीर अझ माथि चढोस् । जाबो नागरिकको भावनामा लागेको चोट पनि कुनै आपराधिक काण्ड हुन्छ र ? यसबाट के पाउनु छ र ? यस्ता घटना त केवल नम्बर टिपाएरै हल हुँदा हुन् । फेरि यो त प¥यो बिर्ताको कुरो, कान प¥यो काँकरभिट्टाको असइको । कुरो अलिक जँचेन कि !

खै कुन्नि किन हो, केही गम्भीर भएँ । सुनुवाइबाट बञ्चित मोबाइलको डाटा अन् गरेँ । र, सबै नागरिकको चेतनार्थ लेखिपठाएँ, ‘नागरिकको हित, सुरक्षा, मर्मादिबारे पुलिसको केही दायित्व हुँदैन ? कि पुलिस पनि केवल खाइखलासी मै ठेगान लागेका हुन् ?’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: