नयाँ अध्यादेश जारी भएपछि राजनीतिमा तरङ्ग

  प्रकाशित मिति
८ बैशाख २०७७, सोमबार २२:१४


राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत र्पुयाएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

आकस्मिक रूपमा दलसम्बन्धी अध्यादेश जारी भएपछि राजनीति एकाएक गर्माएको छ ।

नेकपा सचिवालय बैठक प्रभावित

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित भएको हो ।

अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबर आएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसले स्वाभाविक रुपमा थप छलफल गर्नुको औचित्य रहेन ।’

 

अध्यादेश ल्याउनु दुःखद ः देउवा

झापा । प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताएका हुन् ।

सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

यस्तै, विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि ल्याउने निर्णय गरेको थियो । सरकारले सिफारिस गरेको दुवै अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गरेकी छन् ।

कांग्रेस सभापति देउवाले भने विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताएका छन् ।

‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’

संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवम् संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ ।’

उनले अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका छन् ।

 

पार्टी नेतालाई प्रचण्डको निर्देशन

झापा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत र्पुयाएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए । (अनलाइन खवरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: