नयाँ वर्षमा देवीलाई नयाँ घर

  प्रकाशित मिति
१८ माघ २०७५, शुक्रबार १०:३१


विमर्श उप्रेती

धुलाबारी । शारीरिक रुपमा अशक्त एवम् सहाराविहीन महिला देवी मेचेले नयाँ वर्षको वैशाख १ गते नवनिर्मित घर उपहार पाउने भएकी छन् ।

सुत्केरी भएको ५ दिनमा गत कात्तिकमा पति गुमाएर घरवारविहीन बन्न पुगेकी मेचेलाई देवी मेचे सहयोग अभियान नामक समितिले नयाँ घर उपहार दिने भएको हो ।

मेचेलाई नयाँ वर्षमा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ घर निर्माण कार्य शुक्रबार (आज) बाट थालनी गरिन लागिएको समितिका संयोजक विजय डालमियाले जानकारी दिए ।

मेचे परिवारको दयनीय अवस्था बारे थाहा पाएपछि आवास व्यवस्थापनमा सघाउ पुर्याउन नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेचीनगर–९ मा ७ धुर जग्गा खरिद गरिदिएका थिए ।

घर बनाउने जग्गाको टुङ्गो लागेसँगै निर्माण गरिने घरको प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी, नगर प्रमुख विमल आचार्य लगायतले विधिवत् शिलान्यास गरेका थिए ।

मजदुरी गर्ने क्रममा केही वर्षअघि दाहिने हात गुमाएकी ३० वर्षीया उनी विचल्लीमा परेको खबर सार्वजनिक भएपछि सो परिवारको व्यवस्थापन गर्न समिति गठन गरी सहयोगको पहल थालिएको समिति सदस्य कविता शर्माले बताइन् ।

सामाजिक अगुवा डालमियाको संयोजकत्वमा गठित ११ सदस्यीय समितिको अग्रसरतामा घर निर्माणका लागि देश÷विदेशमा रहेका दाताहरुबाट गच्छे अनुसारको सहयोग सङ्कलन हुँदै आएको छ ।

‘घर नक्सा तयार भइसक्यो, चैत मसान्तसम्ममा निर्माण कार्य पूरा गर्छौँ,’ अभियानका संयोजक डालमियाले भने, ‘अहिलेसम्म करिब ७ लाख रुपैयाँ सङ्कलन भएको छ ।’

अभियानका सचिव टीकाराम मङ्ग्रान्तीका अनुसार नयाँ वर्षको सन्दर्भ पारेर आउँदो वैशाख १ गते मेचे परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिनेछ । ‘देश÷विदेशका मनकारीबाट गच्छे अनुसारको सहयोग प्राप्त भएको छ, करिब ६ लाख रुपैयाँसम्ममा निर्माण सक्ने सोचमा छौँ,’ उनले थपे, ‘५ लाख रुपैयाँसम्म बैङ्क खातामा जम्मा गर्ने योजनामा छौँ । थप सहयोगका लागि हामी आग्रह गरेका छौँ ।’

मेचीनगर नगरपालिकाका इन्जिनीयर भूपेन्द्र तामाङले उक्त घरको नक्सा तयार पारेको र निर्माण पूरा हुन झण्डै १० लाख रुपैयाँ लाग्ने निर्माण पक्षले बताएको समितिले जनाएको छ । मेचेको अवस्था बारे स्थानीय सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि नगरका सामाजिक अगुवाहरुले समिति निर्माण गरी सहयोग सङ्कलन कार्य अघि बढाउँदै आएका छन् ।

देवीको विषयमा समाचार सार्वजनिक भएलगत्तै मेचीनगर नगरपालिका कार्यपालिका सदस्य टीकाराम मङ्ग्रान्तीले पत्रकार सम्मेलन गरी जनप्रतिनिधिका रुपमा लिँदै आएको सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका थिए ।

त्यसक्रममा उनले मासिक पारिश्रमिक, बैठक भत्ता, इन्धनबापतको रकम विपन्न परिवार, विद्यार्थी, अनाथ बालबालिका र ज्येष्ठ नागरिकको हितमा खर्च गर्ने जानकारी गराउँदै पहिलो महिनाको पारिश्रमिक मेचेलाई सहयोग गर्ने बताएका थिए ।

गत कात्तिक १२ गते श्रीमान् कृष्णको निधन भएसँगै घरमा रोजगारी गर्ने कोही पनि नहुँदा विपन्न मेचे परिवार अभिभावकविहीन बन्न पुगेको छ । शारीरिक रुपमा अपाङ्गता भएकी देवी दुई छोरीकी आमा हुन् । उनका अढाई वर्षीया र नवजात शिशु गरी २ छोरी छन् । सहाराविहीन मेचे परिवार मासिक १ हजार रुपैयाँ तिरेर मेचीनगर–१० घोडापट्टीस्थित एक घरमा भाडामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: