नयाँ शक्तिको सुन्दर घोषणापत्र

  प्रकाशित मिति
६ असार २०७४, मंगलवार ०८:२२


panita
पत्रकार सम्मेलनमा मेयर पदकी उम्मेद्वार पनिता ढकाल

काँकरभिट्टा । नयाँ शक्ति पार्टी मेचीनगरले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै यस नगरलाई सभ्य, समृद्ध र मिडियामैत्री बनाउने उद्घोष गरेको छ ।

उद्योग, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकुद, संस्कृति, सामाजिक सुरक्षा जस्ता विषयमा मुख्य ध्यान केन्द्रित गरिएको प्रतिबद्धता पत्रमा अन्य दलको तुलनामा मिडिया नीति आकर्षणयुक्त रहेको छ ।

नयाँ शक्ति पार्टी मेचीनगरले सोमवार महेन्द्रद्वार सहकारीको हलमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीले चुनाव जितेर नगरको बागडोर हात पारेमा गर्ने कामलाई चुनावी प्रतिबद्धतामार्फत सार्वजनिक गरेको हो ।

नगरभित्रका जनपक्षीय मिडियाहरुलाई उत्कृष्टता हेरी वर्षेनी पुरस्कार दिने, टेलिभिजन च्यानलको व्यवस्था गर्ने र हरेक मिडियाहाउसलाई वार्षिक रुपमा लोककल्याणकारी सूचना प्रकाशित गर्न लगाएर २ लाख रुपैयाँसम्म एकमुष्ठ दिने सो पार्टीले घोषणा गरेको छ ।

नगरका अन्य पार्टीले सार्वजनिक गरेको घोषणापत्रहरुमा यति प्रस्ट रुपमा मिडिया नीति समावेश गरिएको छैन ।
नयाँ शक्ति पार्टीले मेचीनगरबासीकै लगानीमा सिद्धिखोला हाइड्रोपावर र सिद्धि नहरको विकास गर्ने घोषणा गरेको छ ।

यस्तै, मेची आम्दा हस्पिटललाई एक सय शैय्याको बनाउने, काँकरभिट्टा क्षेत्रमा एउटा मिनी स्टेडियम बनाउने, नगरभित्र एउटा आधुनिक मनोरञ्जन पार्क बनाउने, बाहुनडाँगी, धाइजन र दुवागढीमा एमबीबीएस डाक्टर रहनेगरी एक एक वटा स्वास्थ्य केन्द्र बनाउने, धुलावारी उमाविलाई स्तरोन्नति गरी विज्ञान सङ्कायको स्नातक कक्षा चलाउने, कुलो पैनी आदि बनाउन नगरपालिकाका तर्फबाट उपकरणहरु निःशुल्क उपलब्ध गराउने, विपन्न वर्गको पहिचान गरी रासन कार्ड दिने र भूमिहीन तथा सुकुम्वासीका लागि सरकारी कोलोनी बनाउने सो प्रतिबद्धतामा उल्लेख छ ।

नगरपालिकाले लादेको एकीकृत सम्पत्ति करलाई पूर्ववत अवस्थामा पुर्याई बैज्ञानिक ढङ्गको र उत्पादनका आधारमा कर निर्धारण गर्ने र नगरपालिकाको आर्थिक क्रियाकलाप पारदर्शी एवम् भ्रष्टाचारमुक्त बनाउने नयाँ शक्तिको घोषणा छ ।

पार्टीको चुनाव परिचालन कमिटी तथा नगरका पार्टी संयोजक पुष्प पौडेलको सभापतित्वमा भएका पत्रकार सम्मेलनमा मेयर पदकी उम्मेद्वार पनिता ढकाल र वडा नं. ६ मा वडाध्यक्ष पदका उम्मेद्वार एसपी लुइँटेलले घोषणापत्रमा समावेश भएका प्रतिबद्धताका विषयमा चर्चा गर्दै पत्रकारहरुले उठाएका प्रश्नको उत्तर दिएका थिए ।

panita 1नयाँ शक्ति पार्टीले मेचीनगरको मेयरमा महिला (पनिता ढकाल)लाई उम्मेद्वार बनाएको छ भने उपमेयरमा कान्छा हुमागाइँ (गोकुल)लाई उम्मेद्वार बनाएको छ ।

यसैगरी, वडा नं. ६ को वडाध्यक्षमा साहित्यकार एसपी लुइँटेल, वडा नं. ७ को वडाध्यक्षमा कृष्ण कट्टेल र वडा नं. ९ को वडाध्यक्षमा राजन खड्का उम्मेद्वार बनेका छन् ।

वडा नं. ७ मा सदस्य पदमा मुन्ना मण्डल, वडा नं. ९ को सदस्य पदमा जोखेन मेचे, बुद्धिबहादुर श्रेष्ठ र अनिता बस्नेत उम्मेद्वार बनेकी छन् ।
निर्वाचन आयोगले मङ्गलवार मात्र नयाँ शक्ति पार्टीका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गर्ने भएकाले हालसम्म चुनाव चिह्नको प्रचार गर्न नसकिएको मेयर पदकी उम्मेद्वार पनिता ढकालले गुनासो व्यक्त गरेकी छन् ।

ढकालले आफु चुनाव जित्नैका लागि उम्मेद्वार बनेको बताउँदै आम महिलाहरुले आफुलाई मत हाल्ने भएकाले जित निश्चित भएको दावी गरिन् । कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य वीरबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: