नयाँ सन्दर्भमा पृथ्वीनारायण

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार ०६:३३


नेपाल एकीकरणको प्रसङ्गमा जोडिएर आउने मुख्य पात्र पृथ्वीनारायण शाहको सम्झनामा राज्यले उत्सव मनाउने कि नमनाउने भन्ने विषयमा विवाद छ । सकारात्मक दृष्टि राख्नेले उनलाई नेपालको एकीकरणकर्ताको रुपमा सम्मान दिनु पर्ने धारणा राखेका छन् भने उनीप्रति नकारात्मक सोच राख्नेहरूले उनी सैन्य सरदार वा विस्तारवादी शासक भएको भन्दै आलोचना गर्दै आएका छन् । उनी जन्मेको दिन पुस २७ गतेलाई पञ्चायती शासकहरूले उत्सवको रुपमा सम्झना गर्थे । तर २०४६ सालपछि यो दिवस ओझेलमा पर्यो ।

नेपाल नाम भएको मेचीदेखि महाकालीसम्मको भूभाग जहाँ हामी बसेका छौँ, त्यसको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । बाइसी, चौबीसी लगायतका स–साना टुव्रmामा विभाजित राज्यलाई कतै बल प्रयोग गर्दै र कतै फकाउँदै नेपाल नामको विशाल राज्य खडा गर्ने नेतृत्वकर्ताको रुपमा पृथ्वीनारायण शाहकै बढी देन छ । यदि यसरी एकीकरण नगरिएको भए साना राज्यहरू अङ्ग्रेज साम्राज्यको हातमा पुग्ने खतरा थियो । इतिहासमा यो विषय निर्विवाद जस्तै छ । सुगौलीको सन्धि नहँुदासम्मको ७२ बर्षे अवधिलाई नेपालको एकीकरणकाल मानिन्छ ।

पञ्चायती कालखण्डमा निरङ्कुश राजतन्त्रलाई पक्षपोषण गर्न पृथ्वीनारायण शाहको जन्म जयन्ती र एकता दिवसलाई प्रयोग गरिएको थियो । नेपालमा शाहवंशीय जहानियाँ शासनको जग पृथ्वीनारायण शाहले नै हालेको यथार्थ छिप्न सक्दैन । ज्ञानेन्द्र शाहसम्मले पनि ‘हाम्रा पितापुर्खाले आर्जेको देश’ भन्ने बहानामा मुलुकमा तानाशाही शासन चलाउने प्रयास गरेकै हुन् । राजतन्त्रप्रतिको यही वितृष्णाकै कारण पृथ्वीनारायण शाहको एकीकरण योगदान समेत ओझेल परेको हो । पृथ्वीनारायण शाहको गुणगान गर्दा राजतन्त्रलाई बल पुग्ने भएपछि प्रजातान्त्रिक कालखण्डमा यसलाई महत्व दिन छाडिएको हो ।

मुलुक भर्खरै गणतन्त्रात्मक प्रणालीमा प्रवेश गरेको छ । गणतन्त्रकालमा राजा महाराजाहरूको दिवस राज्यले नै मनाउनु सान्दर्भिक हुँदैन । नयाँ सन्दर्भमा पृथ्वीनारायण शाहको योगदानलाई कसरी सम्मान गर्ने भनेर इतिहासकारहरूले मन्थन गर्न जरुरी छ । मोदनाथ प्रश्रित लगायतका बामपन्थी पृष्ठभूमिका अन्वेषकहरूले समेत पृथ्वीनारायण शाहलाई एकीकरणकर्ताको रुपमा नेपालीले सम्झनु पर्ने आवाज उठाएका छन् । राजतन्त्रको विरुद्ध वलिदान गर्ने सहिदको सम्झना गर्ने कि राजतन्त्रको जग हाल्ने पृथ्वीनारायण शाहको जन्मदिनमा दिवस मनाउने ? यो निकै पेचिलो प्रश्न हो ।

एउटै सन्दर्भमा दुई दृष्टिकोणबाट तर्क गर्न सकिएला, तर तथ्यविरुद्ध तर्कको कुनै दम हुँदैन । गौतम बुद्ध, राजा जनक, जय पृथ्वीबहादुर सिंह जस्ता चर्चित व्यक्तिहरू पनि कुनै न कुनै कालखण्डका राजा रजौटा नै थिए । उनीहरूको सम्झना गर्दा राजतन्त्रको पक्षपोषण भएको कहिल्यै मानिएन । पृथ्वीनारायण शाहको प्रसङ्गलाई राजतन्त्र व्यँुताउने षडयन्त्रका रुपमा मात्र बुझ्नु सङ्कुचित सोचको उपज हो । नेपालको एकीकरणमा योगदान दिएका उनलाई नयाँ सन्दर्भमा सम्मान दिने सोच बनाउँदा नरामै्र भइहाल्ने ठानिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: