‘नर्सिङ गुरुआमा’ आएपछि महिनावारीमा छात्रालाई सुविधा

  प्रकाशित मिति
६ असार २०७६, शुक्रबार २०:४४


भद्रपुर (रासस) । झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा सुरु भएपछि छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ ।

१ नं. प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाको एक सामुदायिक विद्यालयमा नमुना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा सुरु गरेकी हुन् ।

उनीलाई विद्यार्थी र शिक्षकहरुले ‘नर्सिङ गुरुआमा’ भनेर आदरसाथ बोलाउने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले दिनहुँ ३० देखि ५० जना विद्यार्थी सेवा लिन ‘नर्सिङ गुरुआमा’ कहाँ जाने गरेको बताए । विद्यालयमा ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये आधाभन्दा बढी छात्रा छन् ।

‘कहिलेकाहिँ ५० जनासम्मलाई स्वास्थ्य सेवा दिएकी छु’, विद्यालयमा कार्यरत ‘नर्सिङ गुरुआमा’ प्रतिभा थापा भन्छिन्–‘दिनहुँ कम्तीमा १५ जना छात्रा महिनावारी स्वास्थ्यका बारेमा परामर्श लिन आउने गर्छन् ।’

विद्यालयमै महिनावारी भएका बेला छात्राहरु अब सीधै ‘नर्सिङ गुरुआमा’लाई भेट्न जाने गर्छन् । विद्यालयका अनुसार महिनावारी अवधिमा विगतमा विदामा बस्ने गरेका छात्राहरु अचेल विद्यालय आउने गरेका छन् । ‘नर्सिङ गुरुआमा’को सेवा सुरु भएकै कारण छात्राहरुले महिनावारीका बेला पढाइलाई नियमित गरिरहेका हुन् ।

प्रदेश सरकारले नियुक्ति गरेर पठाएको कारण ‘नर्सिङ गुरुआमा’लाई विद्यालयले तलब दिनु पर्दैन । जिल्ला स्वास्थ्य कार्यालयमार्फत नै उनलाई मासिक तलब रु. २३ हजार ५ सय निकासा हुने गरेको छ । विद्यालयमा दिएको नर्सिङ सेवाको मासिक प्रतिवेदन समेत ‘नर्सिङ गुरुआमा’ले स्वास्थ्य कार्यालयमै पठाउनु पर्छ ।

विद्यालयले नर्सिङ सेवाका लागि एउटा छुट्टै कार्यकक्ष उपलब्ध गराएको छ । जसलाई एउटा क्लिनिक कै रुपमा ब्यवस्थित गरिएको छ । विद्यार्थीहरु कार्यकक्षमै स्वास्थ्य सेवा लिन आउने गरेका छन् । आकस्मिक चोटपटक लाग्दा र स्वास्थ्यमा गडबडी आउँदा उपचार लिन र कुनै स्वास्थ्य सम्बन्धी परामर्श लिनु परेमा विद्यार्थीहरु निर्धक्क आफुकहाँ आउने गरेको ‘नर्सिङ गुरुआमा’ थापा बताउँछिन् ।

‘पहिले पहिले स्कुलमै महिनाबारी भयो भने विदा मागेर घर जाने गथ्र्यौं’, एक छात्रा ‘नर्सिङ गुरुआमा’को सेवा सुरु भएपछि पुगेको सुविधाबारे भन्छिन्–‘अहिले त उहाँसँगै गएर प्याड माग्छौं ।’ प्रजनन स्वास्थ्य, यौन रोग, वातावरण र शारीरिक सरसफाईका बारेमा समेत उहाँबाट जानकारी लिने गरेको ती छात्रा बताउँछिन् ।

विद्यालयमा आउने अभिभावकहरुलाई स्वास्थ्यका बारेमा परामर्श दिने गरेको र शिक्षक विदामा बसेका बेला कक्षाकोठामा गएर स्वास्थ्य सम्बन्धी विषयमा पढाउने गरेको कारण ‘नर्सिङ गुरुआमा’ विद्यालयमा निकै लोकप्रिय बनेको विद्यालयका सहायक प्रधानाध्यापक भण्डारी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको २० भन्दा बढी प्रकारका औषधी विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै आएको थापाले बताइन् । नर्सिङ सेवा सुरु भएपछि टाउको दुख्ने, पेट दुख्ने समस्याबाट पढाई बिचमा नै छोडेर बिद्यार्थी बाहिर जाने समस्या पूर्ण रुपमा नियन्त्रण भएको सहायक प्रधानाध्यापक भण्डारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: