मेचीनगर । चार दिनमा एकसय ४६ वटा भारतीय मालबाहक गाडी काँकरभिट्टा भित्रिएको छ ।
गत शनिबारदेखि मङ्गलबार सम्मा उक्त संख्यामा भारतीय मालबाहक गाडी काँकरभिट्टा भित्रिएको हो ।
पश्चिम बंंगाल सरकारले काँकरभिट्टातर्फ आउने मालबाहक सवारी साधनलाई शुक्रबारदेखि एकतर्फी रुपमा पानीट्याङ्की नाका खोलिदिएपछि भारतीय मालबाहक गाडीहरु नेपाल भित्रिन थालेका छन् ।
नेपाल इन्टरमोडल यातायात विकास समिति काँकरभिट्टा (सुख्खा बन्दरगाह) की प्रमुख अम्बिका सुबेदीले मङ्गलबार मात्र ४० वटा भारतीय मालबाहक गाडी काँकरभिट्टा आइपुगेको बताइन् ।
मेची भन्सार कार्यालयको परिसरमा मङ्गलबार आइपुगेका मालबाहक गाडीहरुमा ६ वटा सब्जीको पिकअप, २ वटा ग्यासको ट्याङ्कर, एउटा चामलको गाडी, ९ वटा कोइलाको गाडी, १४ वटा सिलबन्दी कन्टेनर, ५ वटा खरानी बोकेको कन्टेनर, एउटा मेसिनको गाडी, एउटा रेजिनको गाडी र एउटा आलुको गाडी रहेको उनले जानकारी दिइन् ।
गत शनिबार ३१, आइतबार ४०, सोमबार ३५ वटा गाडी काँकरभिट्टा आइपुगेको थियो ।
जस्मा कोइला, सब्जी, फलफुल, चकलेट, कृषिमा प्रयोग गरिने किरा मार्ने औषधि लगायतका अत्यावश्यक सामग्री रहेकोे थियो ।
भारतबाट भित्रिन थालेका गाडीका लस्कर र गाडीसँगै आउने चालक दलको कोरोना जाँच सामान्य रुपमा भइरहेको छ ।
उक्त गाडीमा चालक र सहचालकहरुको ज्वरो नाप्ने र गाडीमा बिल्चिङ पाउडरद्वारा स्प्रे गरिन्छ ।
प्रज्ञापन पत्र र जाँच पास गर्दा ढिलो भएमा चालक र सहचालकलाई मेची भन्सार कार्यालयले भान्सा कोठाको व्यवस्था गरिदिएको छ ।
‘उनीहरुले आफै चामल र तरकारी बोकेर आएका हुन्छन्’, मेची भन्सार कार्यालयका प्रमुख ध्रुबराज विश्वकर्माले भने–‘बाहिर नजाने गरी भान्सामा सामाजिक दुरी कायम गरेर पकाएर खाना दिएका छौँ ।’
।। अर्जुन कार्की ।।