नाका नखुल्दा होटलहरु सङ्कटग्रस्त

  प्रकाशित मिति
५ फाल्गुन २०७७, बुधबार १०:३६


नाका खुलाउन माग गर्दै गत पुसमा आन्दोलन गर्दै काँकरभिट्टाका व्यवसायी ।

।। अर्जुन कार्की ।।
मेचीनगर, ५ फागुन । एघार महिनादेखिको नाका बन्दले पूर्वीद्वार काँकरभिट्टाका होटलहरु संकटमा परेका छन् ।

नेपाल र भारतसँग सीमा जोडिएको काँकरभिट्टा नाकामा लगभग चार सय साना ठूला होटल छन् । बन्दका कारण पर्यटक आवतजावत ठप्प भएकोले होटलहरुको गम्भीर संकटमा परेका व्यवसायीहरु बताउँछन् ।

कोभिड–१९ को महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि नेपालसँग सीमा जोडिएका सबै नाका बन्द गरेको थियो । त्यसपछि खुलाउने भनिएको नाका अहिलेसम्म ठप्पै छ ।

‘नाका बन्द भएपछि टिक्न नसकेर काँकरभिट्टाका २५ प्रतिशत होटल बन्द भइसकेका छन्’, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले भने– ‘ग्राहक नभएकाले घरभाडा तिर्न मुस्किल परेको छ ।’

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ।

‘नाकाबाट चरोमुसो छिर्न पाउँदैन’, अध्यक्ष श्रेष्ठले भने– ‘नाका खुल्छ भनेर पर्खेको ११ महिना भइसक्यो ।’

उनका अनुसार घरभाडा तिर्न नसकेर २५ प्रतिशत होटल व्यवसायीहरु पलायन भइसकेका छन् । घरधनीलाई सम्झाएर थोरै भए पनि भाडा छुट गराउने उपायमा लागेको अध्यक्ष श्रेष्ठले बताए ।

विगतमा भन्दा अहिले नाका आवतजावतमा केही सहज भने भएको छ । नाकामा सवारी साधनहरु चलेका छैनन् । तर पैदल यात्रीको भीड चाहिँ बढिरहेको देख्न सकिन्छ ।

काँकरभिट्टा नाकाबाट साना–ठूला सबैखाले सवारी साधन आवतजावतमा रोक लगाइएको छ । मोटरसाइकल र सिटी रिक्साहरु पुलसम्म जाने र मानिसहरु पनि नागरिकता देखाएर आउने र जाने गर्न थालेका छन् ।

झापाको मेचीनगर, विर्तामोड र दमकसम्मका सर्वसाधारण व्यक्तिहरु पानीट्याङ्की, नक्सलवाडी, सिलीगुडीसम्म पुगेर औषधि, लत्ताकपडा र खाद्यान्नका सामान ल्याउने तथा उताबाट पनि आँखाको उपचार गर्न आउने गरेका छन् ।

सरकारले केही दिन अघि नेपालका ३० वटै नाका सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भारतीय पक्षको ढिलाइका कारण काँकरभिट्टासहित केही नाका अझै सञ्चालनमा आउन सकेको छैन ।

काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले नाका सञ्चालनमा नआएको बताए ।

काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डीएसपी सुनिल दाहाल ।

‘अन्य नाकाभन्दा काँकरभिट्टा केही सहज भएको छ’, डीएसपी दाहालले भने– ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मानिसहरुलाई आवतजावत गर्न दिइरहेका छौं ।’

‘अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ’– उनले भने ।

काँकरभिट्टा नाकामा भारतबाट आएकाले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएका पर्यटकहरुले पासपोर्ट देखाएर जान पाउने डीएसपी दाहालले बताए । माथिबाट कुनै निर्देशन वा सर्कुलर नआएकोले नाका पहिले झैं बन्द रहेको उनको भनाइ छ ।

काँकरभिट्टा ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: