नाका सहज, अभाव उस्तै

  प्रकाशित मिति
५ माघ २०७२, मंगलवार ०९:४९


 

?????????????????????????????????????????????????????????

बिर्तामोड । भारतले गरेको अघोषित नाकाबन्दीको असर पूर्वी नाका काँकरभिट्टामा हटेको छ । पूर्वी नाकाबाट पूर्ववत अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्णरुपमा सहज भएको हो । भारतको पानीट्याङ्कीबाट सबैखाले मालवहाक सवारी भित्रिरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका मालवहाक सवारी पूर्वी नाकाबाट भित्रिरहेको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए । ‘नाकामा अहिले कुनै रोकटोक छैन’, उनले भने – ‘पूर्ण रुपमा सहज भएको छ ।’

सोमबार दिउँसोसम्म मात्र १ सय ८० वटाभन्दा बढी सवारी काँकरभिट्टा नाकाबाट भित्रिएको भन्सारले जनाएको छ । जुन नाकाबन्दी हुनु अघि पनि सोही संख्यामा सवारी भित्रिने गरेको थियो । नेपाल भित्रिएका सवारीलाई भन्सार परिसरमा यार्डको व्यवस्था गरी पार्किङ गरिँदै आएको छ । ‘अहिले पार्किङको पनि समस्या छैन’, अधिकारीले भने – ‘यार्ड विस्तार गरेपछि सबै सवारी अँटेका छन् ।’

केही समययता पूर्वी नाका खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेषगरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन अफ्प्ठयारो परिरहे पनि पूर्वी नाकाबाट पर्याप्त मात्रामा ट्याङ्कर नेपाल प्रवेश गर्न थालेपछि पेट्रोल पम्पमा तेल पाइन थालेको छ । यद्यपि पूर्ण रुपमा भने सहज हुन नसकेको पेट्रोलियम व्यवसायीले बताए । धेरै दिनको नाकाबन्दीको असरले गर्दा पूर्ववत अवस्थामा फर्किन केही समय लाग्ने व्यवसायी बनाउँछन् । पूर्व क्षेत्रका धेरै जसो पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । यद्यपि तेल भर्न अहिले पनि लाइन बस्नु पर्ने बाध्यता हटेको छैन । प्रशासनले पनि अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले दुई साताअघिबाट कुपन प्रणाली हटाएको हो । नाकाबन्दीका कारण तेल अभाव हुँदा स्टकमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरेको थियो । अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर तेलको कुपन दिने गरेपनि अहिले अवस्था सहज भएकाले कुपन प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थ लगायत अन्य वस्तुको आयात सहज हुन थालेको छ’, प्रशासन स्रोतले भन्यो – ‘पहिलाको स्थिति जस्तो अहिले छैन ।’ प्रशासनले करीब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा कुपन प्रणाली लागू गरेको थियो । त्यसबेला प्रशासनले दैनिक २ देखि ४ हजार लिटर तेलको सिफारिस दिने गरेको थियो । आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पहरुलाई सिफारिस गर्ने गरेको थियो । पूर्वी नाकाबाट तेल आयात सहज रुपमा हुन थालेपछि सिफारिस दिन आवश्यक नरहेको प्रशासनले जनाएको छ । पेट्रोलियम पदार्थको कुपन लिन प्रशासनमा भीड लाग्ने गरेको थियो । तर कुपन दिन बन्द गरेपछि प्रशासनमा कुपन लिनेको भीड पनि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: