‘नागरिक-खबरदारीले हामीलाई सकारात्मक ऊर्जा थप्छ’

  प्रकाशित मिति
२६ जेष्ठ २०७७, सोमबार १८:३६


वौद्धिक व्यक्तित्वको रुपमा राजनीतिमा परिचित मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीसँग कोरोना कहर, नगरका गतिविधि, जनताका गुनासा, विकास निर्माण र आगामी बजेटका बारेमा लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीले गर्नुभएको कुराकानी प्रस्तुत छ–

कोरोनाविरुद्ध मेचीनगर नगरपालिकाले हाल गरिरहेका कार्यहरु के के हुन् ?

लकडाउन अगाडि नै नाकालाई व्यवस्थित गरेका छौं । आवतजावतलाई थप कडाई गर्ने, ज्वरो परीक्षण गर्ने र सचेतनामूलक प्रचारप्रसारका कार्यहरु गरेका छौं । सार्वजनिक स्थलहरुमा साबुनपानीको व्यवस्था आदि गरेका छौं ।

लकडाउन पछाडि वडागत आधारमा क्वारेन्टाइनको व्यवस्थापन गरेका छौं । परीक्षणको व्यवस्थापन अर्थात् आरडीटी तथा पीसीआर टेस्टको व्यवस्था मिलाएका छौं । स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन (पीपीई सेट), मास्क र सेनेटाइजरको अभाव हुन दिएका छैनौं ।

काँकरभिट्टा नाका हुँदै भारतबाट आएका नेपाली र नेपालबाट बाहिर जाने भारतीयहरुलाई खाद्यान्न र आवासको व्यवस्थाका साथै आवागमनमा सहजीकरण गरेका छौं । यस क्रममा विभिन्न सामाजिक सङ्घसंस्था, राजनीतिक दल, उद्योग, वाणिज्य सङ्घ, व्यवसायी संस्था, सुरक्षा निकाय एवम् सामाजिक अभियन्ताहरुको महत्त्वपूर्ण योगदान रहेको छ । विपत्को घडीमा उहाँहरुबाट प्राप्त सहयोग, सद्भाव र स्वस्फूर्त योगदानका लागि हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौं ।

नगरपालिका सुस्त छ भन्ने टिप्पणी सुनिन्छ । जनअपेक्षा बमोजिम कामको गति बढाउनेतर्फ ध्यान दिनुपर्छ जस्तो लाग्दैन ?

लामो समयपछि स्थानीय सरकारमा जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ । बीसौँ वर्षदेखिका जनअपेक्षाहरु नगरपालिकामा आएका छन् । तीन तहको सरकारको नयाँ अभ्यास प्रयोगमा रहेको छ । विकास निर्माणका कामसँग सम्बन्धित आवश्यक जनशक्तिको कमी रहेको छ । त्यसको व्यवस्थापनका लागि कानुनी अड्चनहरु रहेका छन् ।

त्यसका बावजुद नगरपालिकाले आफूसँग उपलब्ध स्रोत र साधनको बीचबाट काम गरिरहेको छ । नगरपालिका सुस्ताएको छैन । यसव्रmममा जनअपेक्षा अनुरुप नभएको र गर्न नसकेको हुन सक्छ । तर, हामी हाम्रा कामहरुलाई प्राथमिकताका साथ निरन्तर अगाडि बढाइरहेका छौँ ।

सीमा नाका भएकाले मेचीनगर कोरोना भाइरसको उच्च जोखिममा छ । सङ्क्रमण आइहाल्यो भने त्यसलाई फैलिन नदिन नगरले के कस्ता रणनीतिक उपाय अपनाउला ?

लकडाउनको अवस्थामा पनि आवागमन भइरहेको कारण काँकरभिट्टा नाका उच्च जोखिममा हुनु अस्वाभाविक होइन । तथापि हामीले नाकाबाट आउने र जानेहरुलाई सही व्यवस्थापन गर्न सक्यौं भने जोखिम न्यूनीकरण हुनेछ । अहिलेसम्म मुलुकभर नै भारत तथा तेस्रो मुलुकबाट आउनेहरुमा कोरोनाको सङ्क्रमण देखिएको छ । हामीले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर क्वारेन्टाइनहरुलाई विस्तारसहित थप व्यवस्थित गर्दैछौं । आगामी दिनमा परीक्षणको दायरा बढाउँछौं । थप स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नेछौं । सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन पहल गर्नेछौं ।

सङ्क्रमण आइहाल्यो भने त्यसलाई फैलिन नदिन नगरपालिकाले सबै किसिमको उपाय अवलम्बन गर्नेछ । यसकै लागि प्रदेश सरकारको समन्वयमा आइसोलेसन सेन्टर व्यवस्था गर्दैछौं । सङ्क्रमितको ओसारपसारका लागि थप यातायातको साधन र एम्बुलेन्सको व्यवस्था गर्नेछौं । नगरवासीमा जनचेतनामूलक कार्यलाई थप अगाडि बढाइरहेका छौं ।

स्वास्थ्य सुरक्षाका सामग्रीहरु र क्वारेन्टाइनको व्यवस्थापनमा नगरपालिकाले खर्च गर्न कन्ज्युस्याईँ गरेको हो कि ? नगरसँग बजेट नभएको हो ?

यस सम्बन्धमा सर्वप्रथम नगरपालिकाले स्वास्थ्य सुरक्षा सामग्री र क्वारेन्टाइनको व्यवस्थापनमा गरिरहेको कार्यहरु जानकारी हुन जरुरी छ । हाल नगरमा १५ वटै वडामा क्वारेन्टाइन सञ्चालनमा रहेका छन् । क्वारेन्टाइनसँग सम्बन्धित व्यवस्थापन वडाको समन्वयमा नगरपालिकाले गरिरहेको छ ।

विदेश खासगरी भारतबाट आएका नेपाली नागरिकहरु यातायात तथा खाद्य व्यवस्थापनमा ठूलो धनराशी खर्च भएको छ । लागू औषधी सेवनकर्ताहरुको माध्यमबाट कोरोना सङ्व्रmमण हुन नदिनका लागि उनीहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिएकाले त्यसतर्फ पनि ठूलो खर्च भएको छ ।

स्वास्थ्य सुरक्षाका लागि सामग्री अन्तर्गत पीपीई, मास्क, सेनेटाइजर, स्प्रे सम्बन्धी व्यवस्था लगायतका सामग्री व्यवस्थापनमा नगरपालिकाले प्रशस्त खर्च गरेको छ । नगरवासीहरुको राहत व्यवस्थापनमा समेत नगरपालिकाले खर्च गरेको छ । महामारीका बीच अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ ।

यसरी हेर्दा कोरोना महामारीको अवस्थामा स्वास्थ्य सुरक्षा सामग्री र क्वारेन्टाइनको व्यवस्थापनमा नगरपालिकाले आफ्नो स्रोत र साधनको सीमाभित्र रहेर पर्याप्त खर्च गरेको छ । यसलाई कन्ज्युस्याईँ भन्न मिल्दैन ।

नगरको विकास निर्माणमा कोरोना महामारीले पारेको असर बारेमा केही बताइदिनु हुन्छ कि ? अधुरा कामले आउँदो बजेटमा प्राथमिकता पाउँछन् कि पाउँदैनन् ?

कोरोना महामारी र यस अन्तर्गतको लकडाउनले चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी निर्णय गरिएका कतिपय विकास निर्माणका कार्यहरु पूरा हुनसक्ने अवस्थामा छैनन् ।

त्यसैगरी कोरोनाका कारण नगरको आगामी आर्थिक वर्षको बजेट समेत प्रभावित हुने देखिन्छ । त्यसका बावजुद चालु आर्थिक वर्षका अधुरा आयोजनाहरु र प्राथमिकताका आधारमा केही नयाँ आयोजनाहरुलाई आगामी बजेटमा समावेश गर्ने प्रयास गरिने छ ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका बीच काममा तालमेल वा समन्वयको अभाव भएको सुनिन्छ, समन्वयको जरुरी हुन्छ होला नि त ?

जनप्रतिनिधिहरु जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका हुन्छन् र जनदवाबमा हुन्छन् । त्यसकारण जनप्रतिनिधिहरु जनताको काम तत्काल होस् भन्ने चाहन्छन् । कर्मचारी प्रशासन विधिको सीमाभित्र बाँधिएका हुन्छन् । त्यसकारण उनीहरु विधि र औपचारिकतामा जोड दिन्छन् । यो सच्चाई हो । मेचीनगर पनि यसबाट अछुतो छैन । तर, जनप्रतिनिधि र कर्मचारीका बीच तालमेलको अभावलाई समन्वय गर्न आवश्यक छ ।

कोरोना सङ्कटको बहानामा बजेटको जथाभावी खर्च र विकास निर्माणमा भ्रष्टाचार हुने सम्भावना धेरै हुन्छ, तपाईँको संयोजकत्वमा रहेको अनुगमन समितिले त्यसतर्फ ध्यान दिएको छ कि छैन ?

बजेट निर्माण र खर्चका निश्चित विधिहरु हुन्छन् । नगरको बजेट कार्यपालिकाको प्रस्ताव र नगरसभाको स्वीकृतिको आधारमा कार्यान्वयन प्रव्रिmया अगाडि बढ्छ । कार्यान्वयन प्रव्रिmयाको अनुगमनको व्यवस्था गरिएको छ । तसर्थ सहजै जथाभावी खर्चको सम्भावनै रहँदैन । तर पनि नगरको बजेटमा कुनै प्रकारको अनियमितता नहोस् भन्नका लागि सञ्चार जगत तथा नागरिक समाजले निरन्तर खबरदारी गरिरहनु पर्नेछ । मिडिया र नागरिक समाजबाट हुने खबरदारीले हामीलाई अझ राम्रो काम गर्न सकारात्मक ऊर्जा प्रदान गर्दछ ।

दवाब र प्रभावका भरमा विधि र प्रव्रिmया मिचेर पहुँचवालाले बजेट र अनुदानको ठूलो हिस्सा हात पार्ने पुरानै बेथिति छ, कर्मचारी र जनप्रतिनिधिले यसलाई रोक्नुभन्दा बढावा दिइरहेको आरोप छ, तपाईँको धारणा के छ ?

दवाब र प्रभावमा बजेट तथा अनुदान आफ्नो क्षेत्रमा बढी लैजाने पुरानै संस्कार हो । यो एकप्रकारको सामन्ती सोच र व्यवहार पनि हो । लोककल्याणकारी राज्यका जनप्रतिनिधिहरुले सामाजिक न्यायको आधारमा बजेट विनियोजनलाई प्राथमिकता दिनु पर्दछ । यसको अभ्यास सुरु भएको छ ।

आधा कार्यकाल बितिसक्यो, चुनावी घोषणा पत्रमा वाचा गरेका काम कुरा पूरा गर्न भ्याइन्छ कि भ्याइदैन जस्तो लाग्छ ?

आवधिक निर्वाचन प्रव्रिmया अन्तर्गत हामी ५ वर्षे कार्यकालका लागि निर्वाचित भएका हौँ । यो ५ वर्षमा नै सबै काम सम्पन्न हुन सम्भव छैन । घोषणा पत्रले पनि यो अवधिमा आगामी वर्षका लागि आधार तयार गर्ने भनेको हो, त्यो प्रयास जारी रहने छ ।

तपाईँ र नगर प्रमुख फरक राजनीतिक पृष्ठभूमिबाट आउनु भएको हो, जिम्मेवारी निर्वाहको सन्दर्भमा ‘टसल’ हुन्छ कि हुँदैन, नगर प्रमुख अधिकार बाँडफाँडमा कतिको उदार हुनुहुन्छ ?

निर्वाचन प्रयोजनका लागि हामी फरक फरक राजनीतिक दलको विचार र घोषणा पत्रको आधारमा निर्वाचनमा सहभागी भई आआफ्नो दलको तर्फबाट निर्वाचित भएका हौँ । निर्वाचन पश्चात आआफ्नो राजनीतिक दलसँग राजनीतिक आवद्धता कायम राख्दै नगरको विकास निर्माणमा राजनीतिक पक्षपोषणबाट माथि उठेर भूमिका निर्वाह गर्नु हाम्रो कर्तव्य हो । मैले पनि सोही अनुरुप भूमिका निर्वाह गरिरहेकी छु भन्ने लाग्छ ।

प्रमुख र उपप्रमुखका बीच राजनीतिक विषयमा मतान्तर रहे तापनि नगरको विकासमा भने प्रायः साझा अवधारणा रहने गरेको छ । जहाँसम्म प्रमुख र उपप्रमुख बीच अधिकार बाँडफाँटको कुरा छ, कानुनले निर्दिष्ट गरेका अधिकार उपयोगमा प्रमुख उदार वा अनुदार रहनुको अर्थ हुँदैन । मेचीनगर नगरपालिकाको हकमा भने यस विषयमा अप्ठ्यारो महसुस गर्नु परेको छैन ।

बजेट आउनै लागेको छ, बजेटको नेतृत्व उपप्रमुखले गर्नुपर्ने भएको हुँदा आउँदो बजेटको रुपरेखा र प्राथमिकताका बारेमा केही जानकारी गराइदिनु हुन्छ कि ?

बजेट निर्माण प्रक्रियामा उपप्रमुखले नेतृत्व गर्दै कार्यपालिका मार्फत नगरसभामा पेस गर्ने कानुनी प्रव्रिmया हो । तर बजेट आफैमा सहमतिको दस्तावेज पनि हो । मेचीनगर नगरपालिका एक दलको प्रमुख र अर्काे दलको उपप्रमुखसहित बहुमत जनप्रतिनिधि रहेको नगरपालिका हो । त्यसकारण बजेट निर्माण प्रक्रियामा राजनीतिक सहमतिको आवश्यकता पर्दछ ।

त्यसैगरी नगरपालिकाको अभिन्न अङ्गको रुपमा वडागत जनप्रतिनिधि रहेका हुन्छन् । प्रत्येक वडाका जनप्रतिनिधिले आफ्नो वडाको विकास निर्माणमा अधिक बजेटको अपेक्षा गर्दछन् । त्यसैगरी विषयगत क्षेत्रहरु पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रका लागि प्राथमिकता क्रममा निर्धारण गरी बजेटको विनियोजन गर्नुपर्ने हुन्छ । बजेट विनियोजनको अर्काे महत्त्वपूर्ण क्षेत्र चालु तथा प्रशासनिक खर्चको सम्बोधन पनि हो ।

माथि उल्लिखित सम्पूर्ण पक्ष र क्षेत्रहरु बीचको सहमति र सन्तुलनका आधारमा उपलब्ध स्रोत साधनको सीमाभित्र रही मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: