नागरिक भन्छन् ‘आम्दालाई कोभिड हस्पिटल बनाउ’, नेताहरु कुरा सुन्छन्, काम गर्दैनन्

  प्रकाशित मिति
१५ कार्तिक २०७७, शनिबार १४:४१


संघीय सांसद् राम कार्कीलाई कोभिड हस्पिटल बनाउनुपर्ने लगायतका माग पत्र गत महिना बुझाउँदै धुलावारीका युवाहरु । यस्तै माग पत्र युवाहरुले मेचीनगर नगरपालिकालाई पनि बुझाएका थिए ।               फाइल फोटो

मेचीनगर, १५ कार्तिक । नागरिक समाजले धुलावारीको मेची आम्दालाई सुविधासम्पन्न ‘कोभिड हस्पिटल’ बनाउन पटक पटक माग गरे तापनि नगरका नेताहरु चुपचाप बसेका छन् ।

पत्रकार, सामाजिक अभियन्ता, तल्ला तहका राजनीतिक कार्यकर्तालगायतले पटकपटक यो माग उठाउँदै आएका छन् ।

पछिल्लोचोटी धुलावारी निवासी नेकपा मेचीनगरका युवा नेता प्रकाश खड्काले यस विषयलाई आन्दोलनकै रुपमा अघि बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

‘हामीले धेरैपटक भनिसक्यौं मेची आम्दालाई सुविधासम्पन्न कोभिड हस्पिटल बनाउनुपर्छ भनेर,’ धुलावारी युनिटीका अध्यक्ष समेत रहेका खड्का भन्छन्–‘नेताहरुले जनताको आवाज सुनिदिएका छैनन् ।’

उनले सयौं संक्रमितहरु आज आफ्नै घरमा आइसोलेट भएर बस्न बाध्य भएको र टाढाका कोभिड हस्पिटलमा समेत बेड नपाउने अवस्था आइसकेको तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

मेची आम्दामा पर्याप्त भौतिक पूर्वाधार र संरचना भएको हुँदा त्यहाँ जनशक्ति, आइसीयु, भेन्टिलेटर थपेर कोभिड हस्पिटल बनाउन सकिने र यसका लागि स्थानीय र प्रदेश सरकारले जनसहयोग संकलन समेत गर्न सक्ने उनले उपाय सुझाएका छन् ।

मेची आम्दालाई कोभिड हस्पिटल बनाउनै पर्छ भनेर यस अघि जोडदार आवाज उठाउनेहरुमा सामाजिक अभियन्ता बिजय डालमिया र पत्रकार ज्ञानेन्द्र निरौला पनि हुन् ।

पत्रकार निरौलाले जति लेखे पनि जति भने पनि सरोकारवाला नेतृत्वले नसुने झैं गर्दै आएको उनले सामाजिक सञ्जालहरुमा भन्दै आएका छन् ।

मेची अभियानका संयोजक डालमियाले कोरोना महामारी तीब्र हुँदै गएको कारण अब अक्सिजनको अभाव हुनसक्ने चेतावनी दिएका छन् ।

उनले समुदायस्तरमा सहयोग संकलन गरी अक्सिजन बैंक सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउँदै आएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत मेचीनगर अरु जिल्लाका मानिसको समेत ओहोरदोहोर हुने सीमा क्षेत्र भएकाले यहाँ सुविधासमपन्न कोभिड हस्पिटल हुनुपर्छ भन्दै आएका छन् ।

पछिल्ला दिनमा मेचीनगरका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण भएपछि नागरिकहरुले कोभिड हस्पिटलको आवश्यकता नगर नेतृत्वले महसुस गरेको हुनुपर्ने बताउन थालेका छन् ।

युवा नेता प्रकाश खड्काले उपचारका लागि सबैको भारतको सिलिगुढी जाने सामथ्र्य नहुने जनाउँदै धुलावारीको आम्दामा रहेको पर्याप्त भौतिक तथा मेडिकल स्रोत साधनको उपयोग गरी कोभिड हस्पिटल बनाउन आवश्यक भइसकेको जिकीर गरेका छन् ।

नागरिक समाजबाट यस्ता जायज आवाज बारम्बार आइरहेको भए तापनि यहाँको राजनीतिक नेतृत्व गर्दै आएका संघीय सांसद् राम कार्की, प्रदेश सांसद्हरु गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगरका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती र यही निर्वाचन क्षेत्रलाई प्यारो ठान्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत जनआवाजलाई वेवास्ता गर्दै आएको जनगुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: