नाटकै भो अनुगमन

  प्रकाशित मिति
२ चैत्र २०७४, शुक्रबार १०:५५


पछिल्ला केही दिनमा झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा सरकारी निकायबाट होटल र मेनपावरका कार्यालयमा अनुगमन भएको छ । उपभोक्ता दिवसको पूर्वसन्ध्यामा भएका यी अनुगमन उद्देश्यमूलक थिए कि नाटक भन्ने प्रश्नको जवाफ भविष्यमा अवश्य देखिनेछ । तर अनुगमनको शैली र गतिविधि भने विगतको जस्तै झारा टार्ने र आम उपभोक्ताको आँखामा छारो हाल्ने भन्दा फरक हुन सकेन । कुनै पनि अनुगमनले सकारात्मक नतिजा दिनु सक्नु पर्छ । तर दुबै अनुगमन परम्परागत ढर्रामा आधारित थिए भने तिनका गतिविधि आफैमा पारदर्शी हुन नसक्नु लज्जाको विषय हो ।

होटल अनुगमनमा आएको टोलीले केही पसल चहार्दा गम्भीर प्रकृतिका कमजोरीहरु फेला पारेको भनिएको थियो । उपभोक्ताका लागि खुवाउन तयार पारिएको भनिएको खाद्य पदार्थ बासी मात्र होइन कीरा परेको समेत भेटिएको थियो । कीरा परेको खानेकुरा बेच्ने पसललाई तत्काल अनुगमन टोलीले चेतावनी दिनु बाहेक कडा कारवाही गर्न सकेन । त्यस्तै, नीति नियम एकातिर भए पनि काम कार्वाही अर्कातिर गरिरहेका अनाधिकृत मेनपावरका कार्यालयमा अनुगमन टोलीको सक्रियता नाटकीय प्रकृतिको थियो । लाइसेन्स बेगर मेनपावरको शाखा खोलेर सर्वसाधारणलाई ठगिरहेका कतिपय अनाधिकृत मेनपावर कार्वाहीमा परेको खबर अनुगमनमा कहिल्यै सुनिदैन । मान्छे नभेटिएको, पसल बन्द भएको र छानविन जारी रहेको जस्ता काइते कुरा अनुगमन टोली आफैले गर्नु भनेको ती अनाधिकृत मेनपावर र अनुगमनकारीको मिलेमतो बाहेक केही होइन । दिनभरि जसको अनुगमन गर्ने हो, बेलुका उनीहरुसँगै पार्टी खाने अनुगमन टोलीको नियत सफा देखिदैन ।

बजारमा अहिले थुप्रै किसिमका बेथितिहरु बढेका छन् । एकातिर ट्याङ्कर चालकहरु आन्दोलित हुँदा पेट्रोलियम पदार्थको अभाव हुन थालिसकेको छ । सीमावर्ती क्षेत्रका पम्पहरुबाट भारतीय ठूला मालवाहक गाडीहरुले महिनौँदेखि डिजेल भारततिरै ओसार्ने गरेका छन् । डिजेल बेच्नु र उनीहरुले किन्नु सामान्य जस्तो लागे पनि नेपाली उपभोक्ताका लागि राज्य समेतले सहुलियत दिएको इन्धन भारी मात्रामा भारततिरै जानु भनेको नोक्सानी हो । स्थानीय प्रशासन र अनुगमनकारी निकाय यसतर्फ मौन देखिन्छ । भारततिरबाट लुकीछिपी भित्रिने अखाद्य भनी प्रमाणित भएका तोरीका तेल र बिना लेबलका फास्ट फुडहरु बजारमा छ्याप्छ्याप्ती छन् । मेचीनगर नगरपालिकाले नाकामा गुणस्तर नजाँची सामान आयात गर्न नदिने घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । निजी स्कुलहरुले विभिन्न नाममा शुल्क असुलिरहेका छन् । ती जायज छन् कि छैनन् भनेर हेर्ने र अनुगमन कसैले गर्दैन । यस्तो बेलामा केही अनुगमनका कार्य पनि नाटकीय भइदिदा उपभोक्ताको हक, हित र अधिकारका कुरा ओझेलमा पर्न गएको छ । यसमा उपभोक्ता आफै जागरुक हुन आवश्यक भएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: