नाराजुलुसको प्रभावमा होइन, प्रमाणका आधारमा मुद्धा चलाउन महान्यायाधिवक्ताको आग्रह

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार ०७:३६


झापा, १६ मङ्सिर । महान्यायाधिवक्ता अग्नी खरेलले नाराजुलुस, सामाजिक सञ्जालको अफवाह र प्रभावका कारण होइन, प्रमाणका आधारमा मुद्धाको अनुसन्धान र अभियोजन गर्न आग्रह गरेका छन् ।

झापाको सरकारी वकिलको कार्यालयद्वारा आज आयोजित ‘अनुसन्धान तथा अभियोजन सुधार सम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले सरकारी वकिल र अपराध अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतहरुलाई कानूनले जे भन्छ त्यही बाटोमा अबिचलित भएर हिँड्न निर्देशन दिए ।

नेपालमा सरकारबादी मुद्धामा २८ प्रतिशत असफलता हात लाग्ने गरेको उल्लेख गर्दै उनले जर्वजस्ती कसैलाई मुद्धामा नफँसाउन र पीडितको अन्तरआत्माको आवाजलाई सुन्न आग्रह गरे ।

सामाजिक सञ्जाल, युट्युबर मिडिया र नाराजुलुकबाट आउने अनुचित दवावका कारण कतिपय अवस्थामा अपराध अनुसन्धान र मुद्धाको अभियोजन बरालिने गरेको भन्दै उनले अनुसन्धान गर्ने प्रहरी अधिकृतहरुले नै युट्युबरहरुलाई जवाफ दिने नाममा अनुसन्धानको गोपनीयता र विधि नै भुल्ने गरेको बताए ।

छलफल कार्यक्रममा झापाका जिल्ला प्रहरी कार्यालयसहित सातै वटा इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरु, सरकारी वकिल कार्यालयमा कार्यरत सरकारी वकिलहरु र जिल्ला अदालत झापाका श्रेस्तेदार मदन पराजुलीको सहभागिता थियो ।

महान्याधिवक्ता खरेलसमक्ष सहभागीहरुले प्रमाणमुखी अनुसन्धान गर्न लेजर लाइट, सीसी क्यामेरा, डीएनए जस्ता आधुनिक प्रविधिको पर्याप्त प्रयोग गर्न नसकिएको, मिडिया र प्रभावशाली व्यक्तिहरुबाट अनुसन्धानको क्रममा आउने दवाव थेग्न नसकिएको, भिडियो कलबाट म्याद थप्नेगरी प्रविधिको प्रयोग गर्न नसकिएको, सीमा क्षेत्रमा लागूऔषधका मुद्धा धेरै भएकाले सुधारगृहमा अभियुक्तलाई राख्ने व्यवस्था मिलाउन नसकिएको लगायतका समस्याहरु प्रस्तुत गरेका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले दुई तीन दिनका लागि भए पनि थुन्ने प्रवृत्तिका कारण न्यायालयमा मुद्धाको अनावश्यक चाप बढेको बताए ।

झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रमाणमुखी अनुसन्धानलाई सार्थक बनाउन आवश्यक पर्ने टुल्सहरुको उपलब्धताका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले झापा कारागारका २२ प्रतिशत कैदीबन्दी लागू औषधका मुद्धा अन्तर्गतका रहेको जनाउँदै सीमा क्षेत्रका पालिकाहरुमा सुधारगृहको आवश्यकता भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: