नारामै सीमित नारी दिवस

  प्रकाशित मिति
२४ फाल्गुन २०७६, शनिबार ०९:३७


सन्दर्भ ः नारी दिवस ।।

                                                        पुष्पा भण्डारी

सधैंझै आठ मार्च अर्थात् ११० औं नारी दिवस नारा बदलेर आयो । दिवस मनाउन सुरु गरेसँगै प्रत्येक बर्ष विभिन्न सन्देश बोकेका नारा तय गरिन्छ । अनि कार्यक्रमका लागि बनाइने व्यानरमा लेखिन्छ । अरुबेला नसुनिएका नारी दिवस आउनुभन्दा केही दिनअघि मात्र संयुक्त राष्ट्रसङ्घमा तयार गरेर सबैतिर पठाइन्छ । नारा साच्चै सुन्दै जुरुक्क उठ्न खालका हुन्छन् । तर, ती नारा कसका लागि हुन् । नारी दिवस मनाउन कस्ता महिला सहभागी हुन्छन् भन्ने विश्लेषण गर्न जरुरी छ । आधा आकाश ओगटेको महिलामध्ये दिवसलाई महत्व दिएर मनाउने सामाजिक, राजनीतिक र आर्थिक रुपमा सबल र शिक्षित महिलाहरुकै पङ्क्ति ठूलो छ । तर, जो आज पनि गाँस, बाँस र कपासका लागि लडिरहेका छन् उनीहरुलाई अधिकारका लागि मनाइने दिवसहरु कागलाई ‘बेल पाक्यो हर्ष न विस्मत’ झै भएका छन् ।

महिलाको ठूलो पङ्क्ति चिया बगान, इँटा उद्योग र भौतिक पूर्वाधार निर्माणमा मजदूरी गरिरहेको छ । उनीहरुलाई दिवसका बारेमा जानकारी नै नहुने त होइन । स्थानीय क्षेत्रमा रहेका महिला अगुवाहरुले दिवस मनाउनका लागि समय निकाल्न आग्रह गरिरहेका हुन्छन् । तर, उनीहरुलाई एक दिन मनाइने दिवसको खासै महत्व हुँदैन । महत्व हुन्छ दिनभर आधा पेट खाएका छोराछोरी र आफ्नो पेट भर्न विहान बेलुकाको जोहो गर्न । बर्षभरि काम गर्ने मजदूरका बारेमा उद्योगी मालिकलाई सोच्ने फुर्सद हुँदैन । सकेसम्म उनीहरु मजदूरहरु अधिकारको बारेमा अनविज्ञ रहेको राम्रो ठान्छन् ।

हिजो समान ज्यालाको अधिकारका कुरा उठाएर कपडा उद्योगमा गरिएको आन्दोलनले विश्वका महिलालाई एकबद्ध गरायो । सन् १९१० देखि आजसम्म नारी दिवस मनाउँदै आउँदा प्रत्येक बर्ष नाराहरु पनि फेरिरहे । मुलुकमा व्यवस्था पनि फेरिँदै आए । व्यवस्था फेरिएसँगै चुलोचौकामा बस्ने महिलाहरु आज कोही केन्द्रका सत्तामा छन् कोही स्थानीय सत्तामा । तर, जो जहाँ पुगे उनीहरुले विगतमा आफूसमेत सामेल भएर गरिएका आन्दोलनलाई बिर्से । उनीहरुलाई तल्लो तहमा रहेर काम गर्ने महिलाको समस्या बुझ्ने फुर्सद छैन । उनीहरुको समस्यालाई मध्यनजर गरेर बनाइने नीति–ऐनका बारेमा त कुरा नगरेकै राम्रो होला । अनि हिजो विभिन्न परिवर्तनका नारा दिएर सत्तामा पुग्नेले नै मैले अधिकार उपयोग गरिहालें पुग्यो अब अरुलाई किन चाहियो र भन्ने व्यवहारले विशेष गरी मजदूर महिलामा वितृष्ण पैदा भएको छ ।

बर्षमा कतिपय सङ्घसंस्था यतिबेला मजदूरले काम गरिरहेका स्थानमा जाने र उनीहरुसँगै बसेर कार्यक्रम गर्ने अनि कामको योगदानका आधारमा सम्मान गरेर फर्किने गर्न थालेका छन् । हिजो शहरमा केन्द्रित हुने कार्यक्रम गाउँगाउँसम्म तिनै सङ्घसंस्थाको अगुवाई गर्ने महिलाहरुले पुर्याउने काम त गरे । उनीहरुले पनि दिनभरको ज्याला दिएर कार्यक्रम गर्न नसक्दा सकेपछि काममा बाधा पुर्याउन कोही नआइदिए हुन्थ्यो भन्ने मजदूरहरुलाई लाग्न सक्छ ।

त्यसैले, अब स्थानीय सरकारले तिनीहरुलाई समेट्नु पर्छ । सकेसम्म आफ्ना नगर तथा गाउँपालिकामा कति मजदूरको सङ्ख्या छ । उनीहरुले कुन–कुन स्थानमा काम गरिरहेका छन्, अवस्था के छ भन्ने अध्ययन गरेर तथ्याङ्क सङ्कलन गर्नुपर्छ । उनीहरुलाई एक दिनको पारिश्रमिकको व्यवस्था गरेर स्थानीय तहले यस्ता अधिकारसँग जोडिएका कार्यक्रममा सरिक गराउने र समस्या मात्र पनि बुझिदिने हो भने घर नजिकै आएको सिंहदरबारले पनि सार्थकता पाउने थियो कि ?

……………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: