निःशुल्क रगतका लागि रेडक्रससँग बाह्रदशीको सम्झौता

  प्रकाशित मिति
१९ श्रावण २०७९, बिहीबार १६:०७


झापा, १९ साउन । बाह्रदशी गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

यसअघि पनि गाउँपालिकाले चार वर्षदेखि निरन्तर आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो ।

सो विषयमा गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले बताए । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबेन्द्रप्रसाद चम्लागाई र रेडक्रसका तर्फबाट सदस्य गौतमले हस्ताक्षर गरेका थिए ।

गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आवश्यक परेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

गतवर्ष पनि पालिकाले सोही प्रकारको सम्झौता गरेको थियो । गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । जसबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको बताइएको छ । गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ ।

चालू आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।

योसँगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ । यसअघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: