झापा, २२ असोज । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी सुरु भएयता ६ महिनाको तलब पाएका छैनन् ।
मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दवाव कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकहरुको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले अडान लिएको छ ।
उता विद्यालय सञ्चालकहरुको नेतृत्व गरिरहेका प्याब्सन र एन–प्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् ।
दुबै पक्षबीच पटकपटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । विहीवार प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा भएको औपचारिक वार्ता बिना निष्कर्ष टुङ्गियो ।
इस्टुका झापा अध्यक्ष होमराज खतिवडाले दसैं संघारमा आइसक्दा पनि श्रम गरिरहेको विद्यालयबाट आधा वर्षकै तलब नपाउनु त्यसबाटै परिवारको भरणपोषण गरिरहेका शिक्षक तथा कर्मचारीहरुका लागि मार्मिक समस्या भएको बताए ।
झापामा ४०० निजी विद्यालय र त्यसमा करीव पाँच हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् । ती सबै विद्यालयले कोभिड–१९ का कारण चैतमा बन्दाबन्दी सुरु भएयता ६ महिनाको तलब दिएका छैनन् । ११४ वटा विद्यालयले फागुन र माघ महिनाको समेत तलब नदिएको खतिवडाले बताए ।
इस्टुका जिल्ला अध्यक्ष खतिवडा ६ महिनाको तलब अहिले एकैपटकमा दिन नसक्ने भए एक महिनाको तलब र दसैं खर्च तत्काल दिन र बाँकी तलब क्रमशः दिदै जान आग्रह गर्दा समेत विद्यालय सञ्चालकहरु नमानेको बताउँछन् ।
‘हाम्रा जायज माग वेवास्ता गरिए विद्यालय ठप्प पार्ने आन्दोलन गर्नुको विकल्प अब बाँकी रहेन,’ इस्टुका जिल्ला अध्यक्ष खतिवडा भन्छन्–‘‘स्कुलका भवन रहने, गाडी रहने, अनलाइन कक्षा चल्ने, विहान ६ देखि बेलुका ६ बजेसम्म शिक्षकले अनलाइनका लागि खट्नुपर्ने तर शिक्षक कर्मचारीले तलब चाहिँ नपाउने कुरा मान्य हुँदैन ।’’
परिवारको भरणपोषण गर्नैका लागि शिक्षक तथा कर्मचारीहरुले निजी विद्यालयमा घोटिएर जागिर खाएको जनाउँदै उनले चाडबाडको मुखमा भोकभोकै बस्नुपर्ने दयनीय अवस्थाप्रति सरकारको ध्यान जानुपर्ने बताए ।
प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेती ६ महिनासम्म विद्यालय बन्द भएको कारण सबै तलब एकैचोटी भुक्तानी गर्न नसकिने बाध्यता बताउँछन् ।
‘हामीले तलब दिदैनौं भनेका छैनौं,’ उप्रेतीले भने–‘खाली हात नहुनेगरी कुन मोडालिटीमा तलब दिन सकिन्छ भनेर कसरत गरिरहेका छौं ।’
कोभिड–१९ को महामारीले शिक्षक र कर्मचारीलाई मात्र नभएर विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थी सबैलाई मारमा पारेका हुँदा बन्दाबन्दी अवधिको तलबका विषयमा लचकदार भएर निकास निकाल्नुपर्ने उनको धारणा छ ।
लामो अवधिदेखि तलब नपाउँदा शिक्षक र कर्मचारीहरुको चुल्हो निभ्ने अवस्था आएको इस्टु भद्रपुरका अध्यक्ष द्रोण अधिकारी बताउँछन् । हजारौं श्रमजीवीले तलव नपाएर समस्या भोगिरहनु परेको अवस्थाप्रति सरकारले पनि वेवास्ता दर्शाएको उनको गुनासो थियो ।
(रासस)