।। अर्जुन कार्की ।।
मेचीनगर । आफुले उत्पादन गरेको कृषि वस्तु बजारमा उचित मुल्य उठने होकी होइन भनेर चिन्तामा बसेका केहि कृषकहरुलाई लकडाउनले राहत मिलेको छ ।
लकडाउनका कारण कृषिमा आवद्व व्यवसायले उत्पादन गरेका वस्तुहरु उपभोक्ता र व्यापारी खेतमानै आएर धमाधम खरिद बिक्री गर्न थालेका छन् ।
यसअघि कृषकहरु विचौलियाको भरमा आफुले उत्पादन गरेका वस्तु कौडीको भाउँमा बिक्री गरिरहेका थिए । तर, अहिले व्यापारी नै खेतमा आउन थालेका छन् ।
व्यापारी तथा स्थानीयहरु खेतबारीमा नै आएर कृषकले तोकेको मुल्यमा कृषि सामग्री धमाधम बिक्री वितरण गरिरहेका छन् ।
मेचीनगर–१० स्थित निन्दा खोला छेउको बगरका कृषकले फलाएका अर्गानिक मेवा, खरवुजाको माग बढ्न थालेको एफेक्स बागबानी तथा विउँ विजन उद्योग प्रालिद्वारा सञ्चालित मेवा, कागती र माछा उत्पादन केन्द्रका सञ्चालक शेखर शर्मा गुरागाईले जानकारी दिए ।
मेवा प्रति केजी ५०, खरवुजा ३० र माछा २८० रुपैयाँ केजीले केन्द्रबाट बिक्री वितरण भइरहेको उनले बताए ।
वर्षेनि बाढीले बगाउने धानखेत अहिले आकर्षक कृषि खेती उत्पादनतर्फ किसानहरु लाग्न थालेका छन् ।
वर्षेनि आउने बाढीले यहाँका किसानहरुको खेतबालीहरु सधै खण्डहरमा परिणत गरिदिन्थ्यो ।
वर्षभरी दुःख गरेर खेतबाली लगाएका हुन्छन् । बाढी आएपछि त्यो खेतबाली बगरमा परिणत हुन्थ्यो । यो विडम्बना वर्षेनि नियमित दोहोरिरन्थ्यो ।
यसपटक भने अलिक फरक तरिकाले किसानले कृषि उत्पादन बढाउनमा जुटे ।
निन्दा पुलदेखि दुइसय मिटर मात्र उत्तरको निन्दा खोलाको बगर छेउको १८ विगाह नम्बरी जग्गामा कृषि खेती लगाईएको छ ।
स्थानीय र बाहिरका कृषि तथा अन्य व्यवसायमा लागेका पाँच जना कृषकहरुको समुहले उक्त खेती शुरु गरेका हुन् ।
गतवर्षमा शुरु गरिएको उक्त खेतीमा उत्पादन भएका मेवा, खरवुजा, माछा, तथा सयपत्री फुल बिक्री गरिरहेको प्रालिका अध्यक्ष मोहनचन्द्र भट्टले बताए ।
करिव एक करोडको लगानीमा उक्त केन्द्र स्थापना गरिएको छ ।
बाढीले बगाएर खण्डहर भएको खेतीयोग्य बगरमा एक्साभेटर लगाएर तटबन्ध गरिएको, माछा पोखरी बनाइएको, मेवा र कागती खेतीका लागि गेट, तारबार, मजदुरका लागि आवासको व्यवस्था तथा कृषि उत्पादन गर्न उक्त रकम खर्च भएको उनले बताए ।
सयपत्री फुल, गाईवस्तु, स्याउ, लिच्ची, आँप, मसला, साल, रुद्राक्ष लगायतका बोट विरुवा रोपिएका छन् ।
गत साउनदेखि शुरु गरिएको कृषि केन्द्रले दशैँ र तिहारका बेला करिव ५० हजार रुपैयाँको सयपत्री फुलको व्यापार गरिएको सञ्चालक गुरगाईले जानकारी दिए ।
लकडाउनका कारण झापाका व्यापारीहरुलाई नै मागे जति मेवा, खरवुजा दिन नसक्ने अवस्था भएको उनको भनाई छ ।
स्थानीय कृषक डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा र कागतीको विरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको सञ्चालकको भनाई छ ।
केन्द्रमा ७ हजार मेवा, ३ हजार कागती, तीन वटा ठुला पोखरीमा विभिन्न जातका ४ लाख माछाका भुरा पालिएको अध्यक्ष भट्टले बताए ।
दुई वटा पोखरी २÷२ कठ्ठाको र एउटा पोखरी ढेड विगाह क्षेत्रफलमा लगाईएको छ ।
पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रौँउ, कत्ला, मागुर, नैनी, लगायत जातका माछा रहेको उनले बताए ।
बाढीका बेला अलिक जोखिम रहेको ठाउँमा खेती भएकाले स्थानीय सरकारले खोलामा तटबन्ध राम्रोसँगले गरिदिए कृषकको मेहेनत र लागानी डुब्नबाट बच्ने कुरामा ध्यान दिन सञ्चालक गुरागाईको आग्रह छ ।
अहिलेसम्म कतैबाट कृषिका लागि अनुदान नपाएको पनि उनले स्पष्ट पारे । केन्द्रमा स्थानीयले रोजगारी पाईरहेका छन् ।
सडकको समस्या
मुल सडकबाट खेती गरिएको ठाउँ पुग्न सकस पूर्ण छ ।
प्रदेश सरकारका मन्त्री र स्थानीय सरकारका प्रमुख तथा जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गरिएको सञ्चालक गुरागाईले बताए ।